मन्त्रिपरिषद्ले पूर्णता पाएन

काठमाडौँ, साउन २८ गते ।  निश्चित अवधिभर मात्र काम गर्नेगरी बनेको भनिएको वर्तमान सत्तासाझेदार दलहरूले प्रधानमन्त्री चयन भएको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।  
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २० गते प्रधानमन्त्री निर्वाचित हुनुभएपछि आफूसँग धेरै समय नभएको स्वीकार्दै छोटो अवधिमा ‘सधँै सम्झिरहने काम गर्ने’ बताउनुभएको छ ।  यद्यपि मन्त्रीहरूबारे टुङ्गो लगाउन नसक्दा आठ दिनसम्म मन्त्रिपरिषद्ले नै पूर्णता पाएको छैन ।  प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राष्ट्रिय महाधिवेशननपछि मात्र मन्त्रीहरूको टुङ्गो लगाउने भएको छ ।  
सङ्घको अधिवेशन लम्बिएपछि काँग्रेसले माओवादी केन्द्रलाई आफ्नो तर्फका मन्त्री राखेर मन्त्रिपरिषद् विस्तार गर्न बाटो खुला गरिसकेको छ ।  तर, माओवादीभित्र आन्तरिक सन्तुलन मिलाउन गाह्रो भएपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताइन्छ ।  काँग्रेससँग भएको सहमतिअनुसार माओवादीले अब पाँचवटा मन्त्रालय पाउनेछ ।  
यसअघि मन्त्रालय र मन्त्रीहरूको नामसमेत अनौपचारिक रूपमा बाहिर सार्वजानिक भइसकेको छ ।  आएका नामहरूमा महिलाको प्रतिनिधित्व नदेखिएपछि सार्वजानिक भएका मध्ये केहीको नाम अन्तिम अवस्थामा हट्नसक्ने माओवादीको उच्च स्रोतले बताएको छ ।   
‘अस्ति (मङ्गलबार) बसेको केन्द्रीय कार्यालयको बैठकले सबै पक्षबारे छलफल गरेर अन्तिम निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको हो,’ माओवादीका एक नेताले भने, ‘अध्यक्षले के कारणले रोक्नुभयो थाहा भएन ।  तर सङ्केत बुझ्दा केही फेरबदल पनि हुनसक्ने देखिन्छ । ’ यसअघि जनार्दन शर्माले ऊर्जा, हितराज पाण्डेले स्थानीय विकास, राम (सुरेन्द्र) कार्कीले सूचना तथा सञ्चार,  धनीराम (डीआर) पौडेलले शिक्षा र प्रभु शाहले कानुन तथा संसदीय व्यवस्था मन्त्रालय सम्हाल्ने समाचार सार्वजानिक भएको थियो ।  
    पार्टी प्रवक्ता पम्फा भुसालले भने गत बैठकले यसै हप्ताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको जानकारी दिँदै औपचारिक रूपमा कसैको पनि नाम टुङ्गो नलागेको बताउनुभएको छ ।  भुसालले शुक्रबार बिहान केन्द्रीय कार्यालयको बैठक बसेर यसबारे निर्णय गर्ने सम्भावना रहेको बताउनुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना