नयाँ जनवादी शिक्षाको सार

yp acharyaवाई.पी. आचार्य

 

प्रजातन्त्र, जनतन्त्र, जनवाद, र लोकतन्त्र शब्द समानार्थी अर्थात् पर्यायवाची हुन् ।  यी सबै शब्दको अँग्रेजी अनुवाद डेमोक्रेसी हुन्छ ।  नेपालका कम्युनिस्टहरूले जनवादी शब्दलाई प्रिय ठाने, गैरकम्युनिस्टहरूले प्रजातन्त्र वा लोकतन्त्रलाई ।  गैरकम्युनिस्टहरूले जनवादी शब्दलाई पराइ ठाने, प्रयोग गर्न हिच्किचाए ।  कम्युनिस्टहरूले यसलाई पेवा ठाने ।  यहाँ शब्दको बोक्रे लडाइँ छ र भावनाको पनि तर सारभित्र भने कोही पनि छिरेको देखिन्न ।  कम्युनिस्टहरू जनवादी शिक्षाको ओठेबोली बोल्दै आए, स्वरुप दिएनन् ।  गैरकम्युनिस्टहरू जनवादी शिक्षा शब्द सुन्दा नै झस्किए, अमूर्त छायाँलाई भूत सम्झिए ।  जनवादी शिक्षा साँच्चिकै कम्युनिस्टहरूको पेवा हो वा अमूर्त छायाँ अथवा अरू केही भन्ने बारेमा जनमानस भुलभुलैयामा परे ।  यही भुलभुलैयामा राजनीतिक खेती फस्टायो ।  राजनीतिक अभीष्ट पूरा गर्न शिक्षालाई ढाल बनाउने संस्कृति उकालो लाग्यो ।  समग्र शैक्षिक प्रणाली ओरालो लाग्यो ।  
जनवादी शिक्षाका सवालमा कम्युनिस्ट र गैह्रकम्युनिस्टका यी दुवै बुझाइ अतिवादी देखिए ।  यो शिक्षा न त भूत हो न त पेवा नै ।  यो आफैँमा न त समाजवादी हो न त साम्यवादी नै, बरु प्रजातान्त्रिक हो तर बुर्जुवा प्रजातान्त्रिक भने होइन ।  जनवादी शिक्षाले भौतिकवाद
(मूलतः माक्र्सवाद) लाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्छ ।  माक्र्सवादभित्रको विज्ञानलाई आत्मसात् गर्छ ।  यसको सिर्जनात्मक उपयोगको बढ्ता वकालत गर्छ ।  साथै नव–माक्र्सवादीहरूको समालोचनात्मक सिद्धान्त, बहुलवाद, बहुसंस्कृतिवाद जस्ता सिद्धान्तलाई पनि आफ्नो आधार स्तम्भ मान्छ ।  माक्र्सवादलाई आफ्नो दर्शन मान्नासाथ कोही पनि आत्तिन र मात्तिन पर्ने छैन ।  पुँजीवादको नेता मानिने अमेरिकामा पनि माक्र्सका आर्थिक, सामाजिक सिद्धान्त कुनै न कुनै रुपमा प्रयोग भइराखेकै छन् ।  त्यसैले माक्र्सवाद कसैको होइन, यो विज्ञान हो, जसले उपयोग गरे पनि हुन्छ ।  माक्र्सवादको कुन पक्ष, कति बेला, कसले, कसरी प्रयोग भन्ने मात्रै हो ।  
शिक्षा ज्ञान, सीप, अभिवृत्तिको समस्टिगत स्वरुप हो ।  ज्ञान, सीप अभिवृत्ति कसैको खल्तीको पैसा होइन ।  यो मानव जातिको चेतनाको उच्चतम प्रतिफल हो तर शिक्षालाई राजनीतिक अभीष्ट पूर्तिको साधन बनाइन्छ ।  त्यसमा सहभागी स्वतः साधन बन्छन्, बनाइन्छन् ।  त्यसैले राज्यको चरित्रको सापेक्षतामा शिक्षाको स्वरुप तय गर्ने चेष्टा गरिन्छ ।  यो आफैँमा बेठीक छ ।  जनवादले जनतालाई सर्वोपरि मान्छ भने शिक्षालाई जनमानसको बीचमा फक्रन दिनुपर्छ, साधन बनाउनु हुँदैन ।  
कार्लमाक्र्सले भनेका छन्, ‘श्रमसँग नजोडिएको शिक्षा केवल पाखण्ड हुन्छ । ’ जनवादी शिक्षाको मूल मर्म पनि शिक्षालाई श्रमसँग जोड्नु हो ।  शिक्षा श्रमसँग जोडिँदा एकातिर उद्विकासमा सहयोग पुग्छ, अर्कातिर उत्पादन बढ्छ ।  साथै सबैले कुनै न कुनै श्रम (शारीरिक, मानसिक) मा भाग लिँदा शिक्षा व्यवसायसँग जोडिन्छ, त्यसले सिर्जनात्मकता बढाउँछ, विभेदीकरण घटाउँछ, श्रमको सम्मान हुन्छ ।  श्रम मानव जातिको अनिवार्यता पनि हो ।  मानिस बाँच्नका लागि खानुपर्छ, खानका लागि उत्पादन गर्नुपर्छ, उत्पादन गर्नका लागि श्रम गर्नुपर्छ, श्रम गर्ने संस्कृतिको विकासका लागि शिक्षा श्रमसँग जोडिनुपर्छ ।  जनवादी शिक्षाले कसैले बसिबसी खाने, कसैले मरिमेटेर श्रम गर्दा पनि पेट पाल्न बसिखानेको शरण लिनुपर्ने संस्कृतिको विरोध गर्छ ।  त्यसैले शिक्षा श्रमसँग जोडिँदा यो कसरी कुनै पार्टी विशेषको मात्रै हुन्छ ?
जनवादी शिक्षाले शिक्षालाई अधिकारको रुपमा लिन्छ ।  यसले जनतालाई अधिकार र कर्तव्यप्रति सचेत बनाउने भन्छ ।  शिक्षालाई उत्पादनसँग जोड्ने भन्छ ।  वैज्ञानिक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिन्छ ।  विद्यार्थीलाई रचनात्मक र समालोचक बनाउने भन्छ ।  वैज्ञानिक सुझबुझ, राष्ट्रियताले ओतप्रोत र जनवादी मून्य मान्यताले युक्त जनशक्ति उत्पादन गर्ने भन्छ ।  यसले आम शिक्षामा जोड दिन्छ ।  जनज्ञानलाई मूल्य दिन्छ ।  बहुप्रविधियुक्त शैक्षिक आधार तयार गर्ने भन्छ ।  वस्तुगत परिस्थिति र देशको विषेशताका आधारमा शिक्षाको स्वरुप निर्धारण गर्नुपर्छ भन्छ ।  यसो हुँदा जनवादी शिक्षा कसरी प्रजातान्त्रिक मूल्यभन्दा अलग हुनसक्छ ?
जनवादी शिक्षाको मूल मर्म भनेको जनज्ञानलाई मूल्य दिनु हो ।  यसले जनतालाई ज्ञानको स्रोत मान्छ ।  गरिब, किसान, दलित, मजदुर, पछाडि परेका÷पारिएका जनतालाई ज्ञान, सीप र प्रविधिको खानी मान्छ ।  शिक्षाको मुख्य लक्ष्य भनेको व्यक्तिको अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गराउनु हो तर अहिलेसम्मको शिक्षाले अर्काको ज्ञान र सीप थोपर्ने काम ग¥यो ।  पाउलो फेरेको भाषामा भन्दा दमनकारीको संस्कृति लादियो, जनज्ञानको प्रस्फुटन हुने अवसर दिइएन, कुण्ठित गरियो ।  नेपालमा पनि हाम्रो भाषाभन्दा अँगे्रजी भाषा पढाइन्छ ।  कपडा सिलाउने, भाँडा बनाउने र जुत्ता बनाउने व्यक्तिलाई दलित बनाइन्छ, निरक्षर मानिन्छ ।  उनीहरूको कला र सीपलाई शिक्षा भनिँदैन ।  जनवादी शिक्षाले यिनै जनताको ज्ञान र सीपलाई आधुनिकीकरण गर्दै लैजाने भन्छ ।  उनीहरू उत्पादनमा योगदान पु¥याउने सम्मानित व्यक्ति हुन्, अछूत होइनन् भन्छ ।  जनवादी शिक्षाले यी कुरा उठाँउदा यसले कसलाई हानी पु¥याउँछ ?
जनवादी शिक्षामा अर्को विमर्श शिक्षाको दायित्वको सवाल हो ।  शिक्षालाई राज्य व्यवस्थाको चरित्रसँग जोडेर हेर्ने गरिन्छ ।  राजनीतिक व्यवस्थासँगै एउटै दाम्लोले घिसार्ने प्रयत्न गरिन्छ ।  जनवादी शिक्षाको चरित्र र दायित्वका सवालमा मूलतः दुई वटा मत भेटिन्छन् ।  एउटा मत भन्छ– जनवादी क्रान्ति सम्पन्न भइसकेपछि सर्वहारा वर्गीय पार्टीको नेतृत्वमा बन्ने एकल पार्टी अधिनायकवादी राज्यसत्तामा मात्रै यो शिक्षा लागू गर्न सकिन्छ ।  अर्को मत भन्छ– जनवाद आफैँमा पुँजीवादी चरित्रको व्यवस्था हो र जनवादी शिक्षा जनताको शिक्षा भएकोले यसका लागि कुनै अमूक व्यवस्था कुर्नु पर्दैन ।  यहाँ अघिल्लो मत अतिवादी देखिन्छ ।  शिक्षाको सरकारीकरण र जनवादी शिक्षा पर्यायवाची हुनै सक्दैन ।  युरोपका अधिकांश देशमा शिक्षा निःशुल्क छ, सरकारी शिक्षा छ, निजी शिक्षालय छैनन् तर ती जनवादी होइनन् ।  शिक्षालय कसले सञ्चालन गर्छन् भन्दा पनि त्यहाँ के पढाइन्छ, कसको संस्कृति सिकाइन्छ, कसरी पढाइन्छ, कसलाई बढी जोड दिइन्छ, कसले निर्णय गर्छ भन्ने महŒवपूर्ण हुन्छ ।  बुर्जुवा शिक्षामा दमनकारी, पुँजीपतिको संस्कृति पढाइन्छ, उनीहरूलाई चाहिने हातको विकास गरिन्छ तर समालोचनात्मक दिमाग होइन ।  जनवादी शिक्षामा जनताको संस्कृति सिकाइन्छ, उनीहरूलाई सशक्तीकरण गरिन्छ, समालोचक, क्रान्तिकारी बनाइन्छ, अरूको संस्कृति नतमस्तक भएर स्वीकार गर्ने प्राणी होइन ।  त्यसैले जनज्ञान र जनसंस्कृति सिकाउने शिक्षालय जसले खोले पनि हुन्छ ।  राज्यले नै काँध थाप्नुपर्छ भन्ने छैन तर शिक्षाको व्यापार जनवादी शिक्षाका लागि स्वीकार्य हुँदैन ।     
माओवादी युद्धकालमा जनवादी शिक्षा पढाउन सुरु गरेको थियो भन्ने गरिन्छ, जुन आफैँमा त्रुटिपूर्ण छ ।  माओवादीले जनवादी शिक्षा लागू गरेकै होइन, नाम त दिए होला ।  तिनीहरूले साना कम्युन गठन गरे र पढ्न, पढाउन खोजे ।  त्यो त्रासदीपूर्ण वातवरणमा बालइच्छा विपरीत कम्युनिस्ट क्रान्ति र माक्र्सवादको रस पिलाउन खोज्नु अतिवादी शिक्षाको द्योतक थियो, जनवादी होइन ।  त्यहाँ जनताको संस्कृति होइन, नेताको संस्कृति लाद्न खोजिएको थियो ।  साथै बुर्जुवा शिक्षा बहिस्कार भनेर जबर्जस्ती विद्यालय छोडाउने र कलम समाउने हातमा बन्दुक थमाउने, किताब बोक्ने झोलामा बम बोकाउने कार्य आफैँमा जनवादी शिक्षा विरोधी थियो ।  जनवादी शिक्षाले त राम्रा कुरा पुँजीपति÷बुर्जुवाहरूबाट पनि सिक्नुपर्छ भन्छ ।  शिक्षामा आत्मनिर्णय हुनुपर्छ भन्छ ।
जनवादी शिक्षा व्यक्तिको चौतर्फी विकासको साधन हो ।  यो उद्देश्यपूर्ण श्रमसँग जोडिएको, जनताद्वारा व्यवस्थित, जनताका लागि, जनरुचि र जनज्ञानमा आधारित हुन्छ ।  यसको चरित्र प्रजातान्त्रिक हुन्छ, अधिनायकवादी होइन ।  स्वरुप वैज्ञानिक हुन्छ, काल्पनिक होइन ।  व्यवस्थापन जनस्तरबाट हुन्छ, माथिबाट लादिएको होइन ।  यसमा बहुदर्शनको उपयोग हुन्छ, एकल दर्शन होइन ।  यसले जनसंस्कृति अलग गर्दैन, समावेश गर्छ, जनअपनत्व स्थापित गर्छ ।  त्यसैले यसलाई राजनीतिक जलप लगाएर अतिरञ्जित गरी यसको आत्मा मार्न खोज्नु हुँदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना