मुलुकको विडम्बना - युवाविहीन गाउँको नेतृत्व भूपू सैनिकको काँधमा !



बागलुङ, साउन २५ गते । जीवनको उर्वरकाल प्रदेशमा बिताएर फर्केका भूतपूर्व भारतीय सैनिकको काँधमा अहिले पूरै गाउँको अभिभारा छ । युवा पलायनले गाउँ रित्तिरहेका बेला भूपुहरुले नेतृत्व सम्हालेका छन् ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा भूपु सैनिकको अगुवाइ छ । आरामपूर्वक बिताउनुपर्ने सेवानिवृत्त जीवनकाल उनीहरुका लागि बेफुर्सदिलो बनेको छ । बुढ्यौली लाग्दासम्म भूपुहरु सामाजिक सेवाका काममा उत्तिकै क्रियाशील छन् ।

गाउँको आर्थिक–सामाजिक व्यवस्थालाई चलायमान उनै भूपुहरुले बनाएका छन् । वृद्धवृद्धा, स–साना बालबालिका, केही शिक्षक र सामाजिक कार्यकता मात्र भेटिने गाउँमा भूपुहरुले केही आशाका किरण छरेका छन् । बागलुङ बढी वैदेशिक रोजगारीमा जानेहरुको जिल्लामा अग्रस्थानमा पर्छ । देशमै सबै भन्दा बढी विप्रेषण भित्रने जिल्ला पनि बागलुङ हो । त्यसमा पनि जिल्लाको गलकोट भेगको नाम पहिले आउँछ ।

सोही भेगमा पर्ने मल्म गाविसका धेरै युवा भारतीय सेनामा कार्यरत छन् । प्रत्येक जसो घरमा सेवा निवृत्त भएका भूपु सैनिक पनि छन् । हबल्दारदेखि सुवेदारसम्मको पद हासिल गरेर फर्केका भूपुहरुले अहिले गाउँका सामाजिक सङ्घ संस्था हाँकेका छन्, राजनीतिक दलको नेतृत्व गरेका छन् र गाउँ विकासको योजना निर्माण गरेका छन् । बसाइँसराइ, विदेश पलायन, सुख–ऐश्वर्यको खोजी जस्ता कारणले सुनसान बन्दै गएको गाउँलाई भूपुहरुले प्राण भरेका छन् । गाउँमा गाह्रो–समस्या पर्दा अघि सर्ने उनै भूपुहरु नै हुन् ।

चौबीस वर्ष भारतीय सेनामा काम गरेर फर्कनुभएका मल्म–८ का ज्ञानबहादुर थापाले अहिलेसम्म एक दर्जन भन्दा बढी संस्थाको नेतृत्व तहमा बसेर काम गरिसक्नु भएको छ । हाल उहाँ वडा नागरिक मञ्च, जनहित कला केन्द्र, जनहित शिक्षा कोष, गोंदीघाट निर्माण समितिलगायतका संस्थामा संयोजक÷उपाध्यक्ष पदमा हुनुहुन्छ । केही वर्षअघि उहाँ तत्कालीन एनेकपा ९माओवादी० मल्मको सेक्रेटरीसमेत हुनुहुन्थ्यो । थापाले घुम्टे सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको समेत अध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

‘कति संस्थामा बसेर काम गरें, एकिन नै छैन,’ थापाले भन्नुभयो – ‘भारतीय सेनाको जागिरबाट निस्केपछिको अधिकांश समय सामाजिक काममै बितेको छ ।’ थापाले समाज सेवा गर्ने आफ्नो सानैदेखिको रुचि भएको उल्लेख गर्नुभयो । थापा २४ वर्ष भारतीय सेनामा सेवा गरेर १५ वर्षअघि स्वदेश फर्कनुभएको थियो ।

अट्ठाइस वर्ष भारतीय सेनामा काम गरेर सुवेदार पदमा १२ वर्षअघि सेवा निवृत्त हुनुभएका मल्म–७ का ६१ वर्षीय टीकाबहादुर थापा पनि मल्मको सामाजिक अगुवा हुनुहुन्छ । उहाँको सामाजिक प्रतिष्ठा पनि उच्च छ । घर फर्केलगत्तै स्थानीय जनहित माध्यमिक विद्यालयको अध्यक्ष पद सम्हाल्नु भएका थापाले ९ वर्षसम्म विद्यालयको नेतृत्व गर्नुभयो ।

भूपू सैनिक कल्याण सङ्घको केन्द्रीय सदस्य र मल्मको अध्यक्ष रहुनभएका थापाले विभिन्न सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएर समेत काम गरिसक्नुभएको छ । उहाँ सातसय बगाले थापा समाज मल्मको अध्यक्ष समेत भइसक्नुभएको छ ।

हाल उहाँ नागरिक वडामञ्च मल्म– ७ को संयोजक समेत हुनुहुन्छ । यस बाहेक अन्य विभिन्न सङ्घ संस्थामा उहाँ नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । ‘विदेश पलायनले गाउँ खाली हुँदै गएको छ, सबै सुख–सुविधातिर लागेका छन्,’ थापाले भन्नुभयो – ‘भूपूहरुले गाउँ धानेको अवस्था छ, सबैतिरको नेतृत्वमा भूपूहरु आएका छन् ।’ उहाँका अनुसार मल्मका प्रमुख सबै दलहरुको नेतृत्वमा समेत भूपूहरु नै छन् । नेकपा ९एमाले०को अध्यक्षमा मल्म– ९ का भारतीय सेनाबाट सेवा निवृत्त होमबहादुर बस्नेत हुनुहुन्छ । नेकपा ९माओवादी केन्द्र० मल्मको इन्चार्जमा मल्म– ७ का भूपू छुमबहादुर थापा रहनुभएको छ । राष्ट्रिय जनमोर्चाको मल्म ग्राम कमिटी अध्यक्षमा मल्म– ७ कै भूपू भारतीय सैनिक दलबहादुर थापा रहनुभएको छ । दलका समितिमा रहने पदाधिकारी, सदस्यमा पनि अधिकांश भूपूहरुकै संलग्नता छ । राजनीतिक दल, विद्यालय, सामाजिक संस्था, वन, कृषि समूह, उपभोक्ता समिति, विकास योजना लगायतमा भूपूहरुकै नेतृत्व छ ।

चौबीस वर्ष भारतीय सेनाको जागिर खाएर फर्कनुभएका मल्म– ७ का ५२ वर्षीय लोकबहादुर थापाको अनुभव पनि उस्तै छ । गाउँ फर्केपछि जिल्लाकै पुराना मध्येमा पर्ने घुम्टे युवा परिवारको दुई कार्यकाल अध्यक्ष समेत भइसक्नुभएका थापाको दैनिकी पनि सामाजिक काम मै बित्ने गरेको छ । ‘कहिलेकाहीं त दिनमै आठ÷दसवटा बैठकमा जानुपर्छ, सामाजिक काममा अग्रसर नबनी सुखै छैन, गाउँमा भूपूहरुबाहेक कोही पनि छैनन्,’ थापाले भन्नुभयो – ‘युवाको विदेश मोहले आज गाउँ यसरी नेतृत्व विहीनको अवस्थामा पुगेको छ । ढल्कँदो उमेरका भूपूहरुले गाउँको सेवा गर्नुपर्ने अवस्था छ ।’
थापा अहिले घुम्टे प्रगति कृषि समूहको अध्यक्ष, क्षेत्री समाज बागलुङको उपाध्यक्ष, लाम्दारा सामुदायिक वन उपभोक्ता समूहको उपाध्यक्षमा रहेर काम गरिरहनुभएको छ । घरको भन्दा सामाजिक काममा बढी समय दिनुपर्दा कहिलेकाहीं परिवारसँग तिक्तता बढ्ने गरेको अनुभव पनि भूपूहरुसँग छ । नेकपा ९माओवादी केन्द्र० मल्मका इन्चार्ज छुमबहादुर थापाले भन्नुभयो – ‘पार्टीको, समाजको कामले कहिलेकाहीं हप्तौंसम्म घर छोड्नुपर्ने अवस्था पनि आउँछ ।’ जसोतसो परिवारको व्यवस्थापन गरेर सामाजिक सेवामा आफू तल्लीन रहेको थापाले बताउनुभयो । कतिपय ठाउँका भूपूहरु सहरी क्षेत्रमा बसाइँसराइ गरी आरामको जीवन बिताइरहे पनि मल्मका भूपूहरुमा भने त्यो लागू छैन ।

मल्म– ७ का ६१ वर्षीय सुवेदार टीकाबहादुर थापाले प्राण रहुञ्जेल गाउँको सेवामा समर्पित हुने बताउनुभयो ।

बसाइँसराइ, सुखको खोजी, विदेश मोह जस्ता कारणले गाउँप्रति नयाँ पुस्ताको विकर्षण बढेको उहाँको भनाइ छ । ‘मल्ममा जापान जाने लहर नै छ, सयाँैं घरपरिवारका सदस्य जापान छन्,’ थापाले भन्नुभयो – ‘छ, आठ महिनाको शिशुलाई समेत छाडेर विदेश जाने प्रवृत्ति बढेको छ, यो डरलाग्दो छ ।’ गाउँमा नेतृत्व गर्ने, आर्थिक–सामाजिक विकासमा अग्रसरता लिने युवा र शिक्षित पुस्ता पलायन हुँदै गएको उहाँको भनाइ छ ।

एउटा सङ्क्रमणमा गुज्रेजस्तो देखिने गाउँलाई नेतृत्व गर्ने भूपूहरुको योगदान अति महत्वपूर्ण रहेको मल्म घर भई हाल धवलागिरि बहुमुखी क्याम्पसमा सह–प्राध्यापक रहनुभएका डा दिनबहादुर थापाले बताउनुभयो ।

भूपूहरुबाट अनुशासन, व्यवस्थापन र नेतृत्व कौशल नयाँ पिँढीले सिक्नुपर्ने उहाँको भनाइ छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना