नागरिक समाज र बुद्धिजीवीको दबाब

 devi p acharya_1डा. देवीप्रसाद आचार्र्य


नेपालमा प्रजातान्त्रिक अभ्यासका २६ वर्षमा २३ पटकसम्म सरकार परिवर्तन भइसकेको छ ।  अबको सरकार चौबीसाँैं नम्बरमा दर्ता हुनेछ ।  राजनीतिक पार्टीहरूको आपसी खिचातानी र असहिष्णु व्यवहारले नागरिक पीडित, वाक्क दिक्क भएका छन् ।  सीमित अगुवाहरूले मात्र राज्यको शक्ति र स्रोतमा हालीमुहाली गरिरहेका छन् ।  मानांैँ यो राज्य उनीहरूको बिर्ता हो ।  पार्टीगत, स्वार्थ र आत्मगत चिन्तनले देशमा भाँडभैलो मच्चिएको छ ।  जनताले आर्थिक, सामाजिक र राजनीतिक नियन्त्रण गुमाउँदै गएकाले प्रजातन्त्रको नागरिक नियम घट्दै गएको छ ।  नागरिकले चरम दुःख र कष्ट पाइरहेका छन् ।  बजार मूल्य आकाशिएको छ ।  भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपहरूमा परेका नागरिकहरूको जीवन कष्टकर छ ।  गाउँका वासिन्दाहरूमा विकासको पहँुच शून्य छ ।  युवा विदेशमा सस्तोमा श्रम बेच्न बाध्य छन् ।
संसारका धेरै देशमा राजनीतिक सङ्कट र असहज परिस्थिति आउँदा राजनीति दलहरूले देशका वुद्धिजीवीहरूसँग सरसल्लाह र समन्वय गरी राज्यका समस्याहरू समाधान गर्ने गर्दछन् तर हाम्रो देशमा राजनीतिक दल र नेतृत्वले देशका इलिट्स, प्रवुद्धवर्ग, समाजसेवी, नागरिक समाजका अगुवा, विश्वविद्यालयका विद्हरूसँग रायसुझावहरू लिने राजनीतिक संस्कार बसालेका छैनन् ।  विचारको आदान प्रदान गर्ने राष्ट्रिय संस्कृति यो मुलुकमा छैन ।  राजनीतिक दलहरूले आ–आफ्नो डम्फु बजाउँदा बजाउँदै अरूको आवाज नै नसुनिने भइसकेको छ ।  मेरा गोरुका बाहै्र टक्का भन्ने आत्मकेन्द्रित सोचको राजनीतिक अभ्यासले देश कमजोर, अस्थिर र अराजक बन्दै गइरहेको छ ।  दलहरू देश र जनताका आवश्यकता र चाहनाहरूलाई लात हान्दै स्वार्थ र सत्ताका लागि मरिहत्ते गरिरहेका छन् ।  यस्तो राजनीतिले बाटो बिराएको अवस्थामा नागरिकहरू एकजुट भएर परिस्थितिको सामना गर्न आवश्यक छ ।  
हामी प्रत्येक नेपाली अमुक राजनीतिक दलको सदस्यभन्दा पहिले नेपाली हौं ।  देश अहिले गम्भीर अवस्थाबाट गुज्रिरहेको छ ।  यस्तो परिस्थितिमा देशका सम्पूर्ण नागरिकहरूले कुनै राजनीतिक संस्थाको कार्यकर्ताभन्दा पहिले म नेपाली हुँ भन्ने राष्ट्रभावका आधारमा एकताबद्ध भई छाडा बन्दै गएको राजनीतिक संस्कारविरुद्ध राजनीतिक दलहरूलाई नागरिक दबाब दिन जरुरी भइसकेको छ ।  कुनै पनि कार्य गर्नका लागि नेतृत्वको खाँचो हुन्छ ।  यसको नेतृत्व नागरिक समाजका अगुवाहरू, बुद्धिजीवी र राष्ट्रवादीहरूले गर्ने समय आएको छ ।  बारम्बार बहुमतको भरमा सरकार परिवर्तन गर्ने र देशलाई बर्बाद गर्ने राजनीतिक संस्कृति देशको हितकारी छैन ।  यो देश र जनताको भाग्य र भविष्यमाथिको ठूलो ठट्टा हो ।  नागरिकले स्थिर सरकार चाहेका हुन् ।  सामाजिक परिवर्तन, देश विकास चाहेका हुन् ।  आर्थिक समृद्धि चाहेका हुन् ।  
गरिब जनताबाट उठेको राष्ट्रिय ढुकुटीबाट अकुत सम्पत्ति कुम्ल्याएर दलगत राजनीति गर्ने, जनताको भावनालाई कुल्चेर राजनीतिलाई स्वार्थ केन्द्रित विषय बनाउने र देशलाई बर्बाद पार्ने दलहरूलाई नागरिकले कतिसम्म विश्वास गरिरहने ? कतिसम्म यिनीहरूको कुकर्म
हेरिरहने ? कहिले जनयुद्धको नाममा कष्ट, कहिले संविधान बनाउने नाममा पट्यारलाग्दो पख्र्याई र कष्ट ।  कहिले यिनीहरूको स्वार्थलीला हेर्दा दिक्क ।  अब त संविधान बन्यो देशले निकास पाउला र आर्थिक समृद्धि होला भन्ने बेलामा राजनीतिक दलहरूको सत्तामोहले देश कमजोर बन्दै गयो ।  दलहरू सत्तालिप्सामा मात्र अभ्यस्त भइरहँदा देश समस्यै समस्याहरूका दलदलमा फँस्दै गइरहेको अवस्थामा नागरिकहरूले कतिसम्म टुलुटुलु हेरिरहने ? यी गैरजिम्मेवार दलहरूलाई जिम्मेवार बनाउन नागरिक दबाबको विकल्प छैन तर नागरिक समाज आफैँं के
गर्दैछ ? बुद्धिजीवीहरूले के गर्दैछन् ? राज्यको जटिल स्थितिमा इलाइट् (सम्भ्रान्त) वर्गको भूूमिका खोई ? किनसुझबुझ भएको यो प्रबुद्धवर्ग चुपचाप बस्दै छ ?
यो मुलुकमा राजनीतिक आस्थाका कार्यकर्ताहरूले आफ्नो पार्टी नेतृत्वले गर्ने जस्तोसुकै कामलाई पनि विरोध गर्ने संस्कृति छैन ।  राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई प्रजातान्त्रिक चरित्रभन्दा पार्टीतान्त्रिक बुद्धि दिएकोले उनीहरूले अरूलाई देख्दैनन् ।  अरूको अस्तित्व स्वीकार गर्न सक्दैनन् ।  साझा कार्यक्रमका मान्यतामा देश निर्माण गर्न सक्दैनन् भन्ने कुरा बुझ्न अब पर्खनु पर्दैन ।  लामो समयसम्म नागरिकहरूले भोगे, देखे, अनुभव गरे ।  अब जनतालाई साथमा लिएर नागरिक समाज, बुद्धिजीवीवर्ग र सच्चा देशभक्त नागरिकले राजनीतिक संस्कारमा सुधार र देशको रूपान्तरणका लागि जनदबाब दिन ढिला गर्नु हुंँदैन ।
राजनीतिक नेता र कार्यकर्तालाई जनमुखी, बनाउनका लागि अहिलेको परिस्थितिमा नागरिक दबाब नै उत्तम बाटो हो ।  देश हामी सबैको साझा घर हो ।  यो देशमा हुने गरेका राजनीतिक कर्महरू देश र नागरिकहरूका लागि भएनन् ।  राजनीतिक परिवर्तनका लागि २०६२ ।  ०६३ मा जसरी देशका बुद्धिजीवी, पेसाकर्मी लगायतका नागरिक होमिएका थिए त्यसरी नै अहिले फेरि सबै एकजुट भएर अत्यन्त निलर््ाज्ज भएको राजनीतिक प्रक्रियालाई शुद्धिकरण गर्न पार्टी नेतृत्वलाई बाध्यकारी परिस्थितिको सिर्जना गर्नु आवश्यक छ ।
हरेक राजनीतिक पार्टीहरूमा आस्था भएका कार्यकर्ताले आफ्नो नेतृत्व गर्ने दलको जस्तोसुकै कार्यलाई समर्थन गर्ने गरेकोले नेतृत्व पङ्क्ति सच्चिन सकेन ।  प्रजातन्त्रका सामाजिक मूूल्य, मान्यता र मर्मलाई विचार नगरी राजनीतिक आस्थामा केन्द्रित भएकोले राजनीतिले बाटो बिराएको हो ।  विद्यमान राजनीतिक दल र नेतृत्व परिवर्तन गरेर होइन, यिनै दलहरूलाई मुलुक र नागरिकको पक्षमा काम गर्न बाध्य बनाउन जरुरी छ ।  यसका लागि नागरिक समाज, प्रबुद्धवर्ग लगायत देशलाई माया गर्ने नेपालीले पूर्वाग्रहरहित, ठीक र बेठीकको आधारमा दलहरूका नराम्रा कार्यको भण्डाफोर गर्दै जनताको पक्षमा काम गर्न नेतृत्वलाई दबाब दिने संस्कृति विकास गर्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना