एक दशकदेखि राहतको पर्खाइमा

म्याग्दी, फागुन १ गते । म्याग्दीको बेनी नगरपालिका–७ का द्वन्द्वपीडित कृष्णलाल श्रेष्ठ ११ वर्षदेखि राज्यले उपलब्ध गराउने राहतको पर्खाइमा छन् ।

श्रेष्ठको दाहिने खुट्टा छैन । टाउकाको तीन भागमा बमको छर्रा अझैसम्म पनि निकाल्न नसक्दा पीडा खपेर जिन्दगी कटाइ रहेका छन् । तर राज्यले द्वन्द्वपीडितलाई दिने गरेको राहत भने उनले अझैसम्म पनि पाउन सकेका छैनन् ।

विसं २०६० चैत ८ गते तत्कालीन माओवादीले म्याग्दीको सदरमुकाम बेनी आक्रमण गर्दा राज्य र विद्रोहीको दोहोरो भिडन्तमा दाँहिने खुट्टा गुमाएका श्रेष्ठले पटकपटक जिल्ला प्रशासन, मानवअधिकारवादी संस्था, राजनीतिक दललगायत अन्य सरोकारवाला निकायलाई राहत उपलब्ध गराइदिन रोइ कराइ गरे पनि अझैसम्म राहत पाउन नसकेको बताए ।

एक दशकभन्दा बढी अपाङ्ग जीवन बाँचिरहेका श्रेष्ठ भन्छन् “राजनीतिक पहुँचभएका धेरैले राहत पाए, तर मजस्तो पहुँच नभएको व्यक्तिले ११ वर्ष बितिसक्दा पनि राहत पाउन सकिन ।”

जिल्लास्तरमा हुने द्वन्द्वपीडित सम्बन्धित हरेक कार्यक्रममा पुग्छन् । आँखाभरि आँसु निकाल्छन्, आफ्नो पीडा राख्छन् तर पनि उनले अहिलेसम्म राज्यबाट एक रुपैयाँ राहत पाएका छैनन् । उनले आफ्नो टाउकाको तीन भागमा बमको छर्राले निकाल्न नसकिएको बताए । “द्वन्द्वपीडितका नाममा धेरै कार्यक्रम भए, अर्बौं खर्च भयो तर हामीलाई अल्झाउने प्रयास भइरहेको छ” उनले भने ।

प्रधानमन्त्रीको कार्यालय, मानवअधिकार आयोग, शान्ति मन्त्रालयबाट समेत प्रतिनिधि आएर केही सहयोगका लागि पहल गर्ने बताए पनि कार्यान्वयन नभएको उनको भनाइ छ ।

हालै बेनीमा आयोजित ‘सङ्क्रमणकालीन न्याय संयन्त्रको लागि बनेको ऐन र हाम्रो जवाफदेहिता’ विषयक जिल्लास्तरीय संवाद कार्यक्रममा वास्तविक पीडितले राहत नपाएकामा चिन्ता व्यक्त गरिएको थियो ।

“चिया गफले मात्र पीडितले राहत पाउँदैनन्, उनीहरूको समस्यालाई तत्काल समाधान गर्नुपर्छ” नेकपा ९एमाले० म्याग्दीका सचिव बालकृष्ण सुवेदीले भन्नुभयो । उहाँले संविधान जारी गर्नुपूर्व पीडितको आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताउनुभयो ।

“हामीले प्रयास गरिरहेका छाँै, पटकपटक पत्राचार समेत गरियो” । अब केही आशा पलाएको छ” प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयबाट द्वन्द्वको क्रममा मृत्यु भएका ९५, कैद हिरासत, अपहरणमा परेका ३९ जना र घाइते भएका २३ जनाले राहत पाइसकेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना