विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालन

म्याग्दी, साउन २३  गते । म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । बाह्र वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चांैरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा समेत घरपरिवारका लागि राम्रो उपलब्धि भएको नदेखेपछि पुर्जाले गाउँमै केही काम गरेर घर खर्च जुटाउने निधो गरे । 

आठ वर्ष कतार र चार वर्ष साउदी अरबमा पसिना बगाएका पुर्जाले सात वर्षअगाडि मुस्ताङको लेतेबाट रु ११ लाख ५० हजारमा ५९ वटा चांैरी खरिद गरी शिखको बयलीखर्कमा चौंरीपालन सुरु गरेका थिए । सानो सङ्ख्याबाट सुरु गरेको चौंरीपालनलाई थप व्यावसायिक बनाउन पुर्जाले आफ्नो चौंरीपालन फार्ममा अहिले स्थानीय अर्का युवकलाई साझेदार बनाएका छन् ।

पुर्जाले शिख–४ स्वाँतका लोकबहादुर पाइजासँग साझेदारी गरी चौंरीपालनलाई थप व्यावसायिक बनाउन थालेका हुन् । उनीहरुकाको लालीगुराँस चौंरीपालन फार्ममा अहिले १ सय ३१ वटा चौंरी रहेका छन् । चौंरीपालनमा दुई जनाले करिब रु ४० लाख लगानी गरेको कृषक लोकबहादुर पाइजाले बताए ।
चांैरीपालनबाट उनीहरुले वर्षको दुई पटक चौंरीको आलो रगत बिक्री गर्ने गर्दैआएका छन् । यस अतिरिक्त मासु बेच्ने तथा घिउ र छुर्पी उत्पादन गर्ने काम पनि यहाँबाट हुन्छ । चांैरीपालनबाट वार्षिक रु ५ लाख बराबर आम्दानी हुने कृर्षक पुर्जाले बताए । “हरेक वर्ष आम्दानी बढ्दै गएको छ, यसलाई थप व्यवस्थित र व्यावसायिक बनाउन लागिपरेका छौँ,” पुर्जाले भने ।
चरनका लागि हिमाली क्षेत्रमा पुगेर जडीबुटीजन्य घाँस खाने चौंरीको आलो रगत पिएमा विभिन्न रोग निको हुने र रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने जनविश्वास छ । यही कारण हरेक वर्षको माघ र साउनमा बयलीमा चौंरीको रगत पिउने मेला सञ्चालन गरी उनीहरुले आम्दानी गर्दै आएका छन् ।
यो वर्षको साउन ५ देखि ११ गतेसम्म सञ्चालन गरेको चौंरी मेलाबाट रु ३ लाख आम्दानी भएको कृषक पुर्जाले बताए । विदेशमा अरुको नोकर बनेर काम गर्नुभन्दा आफ्नै गाउँमा गोठालो बनेर जीविका चलाउँदा आफूलाई बढी सन्तुष्टि मिलेको उनी बताउँछन् ।

“बा¥ह वर्षसम्म अरुको देशमा पसिना बगाएँ, त्यहाँको कमाइले घर खर्च बाहेक अरु केही उपलब्धि भएन, यहाँ आएर चौंरीपालनमा लागेको पनि ७ वर्ष भयो, चौंरीपालनबाटै हुने आम्दानीले घर खर्च जुटाउँदै केही बचत गर्न थालेको छु,” उनले भने । उनलाई गत असारमा जिल्ला पशु सेवा कार्यालयले उत्कृष्ट कृषक घोषणा गर्दै पुरस्कृत गरेको थियो ।

पुर्जासँगै चौंरीपालनमा लागेका ४१ वर्र्षीय पाइजाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष कतार र तीन वर्ष दुबईमा पसिना बगाएका थिए । अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा परिश्रम गरी जीवन चलाउने निधो गरी गाउँमै चौंरीपालनमा लागेका पाइजा पर्यटन व्यवसायीसमेत हुन् । पुर्जाले बयलीमा पर्यटकको सुविधाका लागि सामुदायिक लज समेत सञ्चालन गरेका छन् ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको भम्रणमा आउने पर्यटकलाई लक्ष्य गरी बयलीमा सामुदायिक लज सञ्चालन गरिएको छ । यहाँको भम्रणमा आउने पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै चरन क्षेत्रमा रहेका चौंरीको अवलोकन गर्न पाउने थप आकर्षण रहेको छ ।

चौंरीपालनमा बर्सेनि गोठ बनाइरहनुपर्ने, पानीको व्यवस्थापन गर्न कठिनाइ हुने र चितुवाको आकक्रणबाट थुप्रै चौंरी मर्ने समस्या रहेको छ । म्याग्दीको खोप्रालेकमा हिमाञ्चल उच्च मावि र पाउद्वार मावि सञ्चालनार्थ आर्थिक स्रोत जुटाउन नागी पाउद्वार चौंरीपालन समिति, राम्चेमा बाबा समूह र शिखमा पुर्जा र पाइजाले व्यक्तिगत रुपमा चांैरीपालन गर्दै आएका छन् ।

जिल्ला पशु सेवा कार्यालका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले जिल्लाको शिख, पाउद्वार र राम्चेमा गरी करिब ४ सय चौंरी रहेका जानकारी दिए । उनका अनुसार चौंरीपालन व्यवसायमा लागेका कृषकलाई कार्यालयले चौंरीपालन प्रवद्र्धन तथा बृहत्तर चौंरीपालन कार्यक्रम अन्र्तगत परजीबी नियन्त्रणका साथसाथै भ्याक्सिन तथा नगद अनुदान समेत प्रदान गर्दै आएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना