कानुनी शासन पालना गर्न गृहमन्त्रीको निर्देशन

Bimalendra-Nidhiकाठमाडौँ, साउन २१ गते ।  नवनियुक्त उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकमा भइपरी आउने बाधाव्यवधान, समस्या र चुनौती समाधान गर्न गृह प्रशासनलाई ‘प्रोएक्टिभ’ भएर कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।  
सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार साँझ पद बहाली गर्दै उहाँले आफू ‘टिमवर्क’मा बसेर काम गर्न इच्छुक रहेको बताउनुभयो ।  “टिमवर्कबिना काम गर्न सम्भव हुँदैन”, उहाँले भन्नुभयो, “यसका लागि मलाई गृह प्रशासनअन्तर्गत सबै निकायको साथ र सहयोग चाहिन्छ । ”
उपप्रधानमन्त्री निधिले अन्य मन्त्रालयभन्दा गृह मन्त्रालयको कामकारबाही पृथक् हुने भएकाले कानुनी शासनको पालना, अपराध नियन्त्रणलगायत जनताको दैनिक जनजीविकामा असर पार्ने किसिमका गतिविधि नियन्त्रण गर्ने सवालमा सचेत र चनाखो हुन निर्देशन दिनुभयो ।  
विगतमा सामान्य प्रशासन, शिक्षा र भौतिक योजना तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका उपप्रधान तथा गृहमन्त्री निधिले भइपरी आउने शान्तिसुरक्षासम्बन्धी कुनै पनि चुनौतीका विषयमा सुझाव, सल्लाह र छलफल गर्न आफू सधँै खुला रहने बताउनुभयो ।  
वर्तमान सरकारको गठन आफैँमा चुनौतीपूर्ण अवस्थामा भएको उल्लेख गर्दै उहाँले मधेसवादी गठबन्धन तथा जनजातिसँग गरिएको सम्झौतामा मुद्दा फिर्ता लिनेलगायत घाइतेको उपचार र क्षतिपूर्ति दिने कुरा भएकाले सो कार्यका लागि गृह मन्त्रालयको भूमिका अग्रणी हुने धारण राख्नुभयो ।   
मुलुक र मुलुकवासीको शान्तिसुरक्षासँगै वर्तमान संविधान कार्यान्वयन गर्न गृह मन्त्रालयको भूमिका महŒवपूर्ण छ भन्दै मन्त्री निधिले थप्नुभयो, “यो ऐतिहासिक उपलब्धिलाई गुम्न दिनु हँुदैन, मधेसवादी दलहरूले सरकारलाई समर्थन गरेको अवस्था छ, संविधान कार्यान्वयन गर्नुपर्छ । ”
त्यस्तै बाढी पहिरो पीडितको उद्धार, उपचार, पुनःस्थापना र राहत वितरण कार्यलाई पनि प्रभावकारी बनाउन उहाँले निर्देशन दिनुभयो ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई विविध कामकारबाहीको सवालमा छिटोछरितो तर चेन अफ कमान्डबाट आउन आग्रह गर्नुभयो ।  
मन्त्रालयका निमित्त सचिव विनोद केसीले गृह मन्त्रालयको कामकारबाही अन्य मन्त्रालयभन्दा पृथक् हुने भएकाले यसको कार्य सम्पादन पनि पृथक् शैलीमा हुने गरेको बताउनुभयो ।  मन्त्री निधि आफैँमा दक्ष व्यक्ति भएकाले उहाँको आगमन गृह प्रशासनका लागि महŒवपूर्ण भएको चर्चा उहाँले गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना