भारत–पाकिस्तानको सम्वन्ध सुधारमा धुलिखेलको रिट्रिट सहयोगी बनेको अपेक्षा

Saarc


काठमाडौँ, मंसिर ११ गते । सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका राष्ट्र तथा सरकार प्रमुखहरु विहीबार अनौपचारिक दिवाभोज (रिट्रिट)मा व्यस्त रहनुभयो । मध्य मंसिरको पारिलो घाम ताप्दै उहाँहरुलाई पाँच घण्टा विताउन खासैै समस्या परेन । धुलिखेलको रिट्रिट उहाँहरुबीच मन माझ्ने साधन समेत बन्न पुग्यो ।
काठमाडौँबाट ३० किलोमिटरको दूरीमा रहेको धुलिखेलको द्वारिका हिमालयन साङ्ग्रिला भिलेज रिसोर्टमा विहान ९ बजे पुग्न सुरु गर्नु भएका उहाँहरु अपरान्ह ३ बजे पालैपालो काठमाडौँ फिर्नुभयो । स्वास्थ्य समस्याका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद रिट्रिटमा सहभागी हुनुभएन ।
सार्क सम्मेलनको अन्तिम दिनमा विहानदेखि नै रिट्रिटमा सहभागी हुने र अपरान्ह सार्क सम्मेलनको समापन समारोहमा सरिक हुने चलन सुरुदेखि चलाइएको हो । नितान्त अनौपचारिक हुने भएकाले रिट्रिटका बेला राष्ट्र तथा सरकार प्रमुख जमघट हुनुभएको स्थानसम्म अन्य मन्त्री तथा सुरक्षाकर्मी जान नपाउने चलन छ ।
धुलिखेलको रिट्रिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच कुराकानी समेत भएको बताइएको छ । धुलिखेलको रिट्रिटले ती दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिने विश्लेषण राजनीतिकवृत्तमा गरिएको छ ।
विदेशी विशिष्ट पाहुना आउनुहुने भएकाले धुलिखेल क्षेत्रमा विहानैदेखि सुरक्षाको प्रवन्ध गरिएको थियो भने यातायात सञ्चालन गर्न दिइएको थिएन । रिसोर्टमा सबैभन्दा पहिले काभ्रेका प्रमुख जिल्ला अधिकारी केदार न्यौपाने र शिष्टाचार महापाल कालीप्रसाद पोखरेल पुग्नुभएको थियो । त्यसपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल र नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल पुग्नुभएको थियो । अन्य मुलुकका परराष्ट्रमन्त्रीहरु पनि सुपर पुमा एमआई ७० हेलिकोप्टरबाट पुग्नुभएको थियो ।
प्रधानमन्त्री सुशील कोइराला रिसोर्टमा पुग्नुभएपछि विदेशी विशिष्ट पाहुनाहरु हेलिकोप्टरबाट पालैपालो पुग्न थाल्नुभयो । उहाँहरुलाई प्रधानमन्त्री कोइरालाले स्वागत गर्नुभएको थियो । भारतीय प्रधानमन्त्री मोदी भारतबाटै ल्याइएको हेलिकोप्टरबाट धुलिखेल पुग्नुभयो भने अन्य मुलुकका राष्ट्रपति तथा प्रधानमन्त्री नेपाल सरकारले व्यवस्था गरेको हेलिकोप्टरबाट पुग्नुभएको थियो । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी एउटा हेलिकोप्टरमा र श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गैयुम अर्काे हेलिकोप्टरमा पुग्नुभएको थियो ।
अवतरणपछि उहाँहरुलाई हेलिप्याडबाट गल्फ कार्टमा राखेर रिसोर्टसम्म पु¥याइएको थियो । रिसोर्टमा पुगेपछि उहाँहरु केही बेर तस्बिर खिच्नमा व्यस्त रहनुभयो ।
रिसोर्टका जिम्मेवार कर्मचारीका अनुसार उहाँहरुले आ–आफ्नो मुलुकका राष्ट्रिय वनस्पति तथा फूलमा सिँचाइ गर्नुभएको थियो । रिसोर्टले सार्क मुलुकका राष्ट्रिय वनस्पति तथा फूल केही दिनअघि त्यहाँ ल्याई वृक्षारोपण गरेको थियो ।
ती कर्मचारीका अनुसार उहाँहरुलाई नेपाली खाना खुवाइएको थियो । “नेपाली मेनुको व्यवस्था गर्न भनिएकोले हामीले सोही अनुसार खानाको व्यवस्था गरेका थियौँ” ती कर्मचारीले भने, “सबै जनाले निकै स्वाद लिएर खानु भयो ।”
रिट्रिट स्थलका रुपमा रहेको रिसोर्टको मूल प्रवेश द्वारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारकर्मी तथा अन्य दर्शकहरुको बाक्लो उपस्थिति थियो । राष्ट्र तथा सरकार प्रमुखहरु सवारी साधनबाट धुलिखेल पुग्नुहुने अपेक्षा गरेका काभ्रेली नागरिकहरुले साँगादेखि धुलिखेलसम्मको सडकमा घडा राख्नुका साथै फूल गुच्छासहित उभिएका थिए ।
यसअघि २०४४ सालमा नारायणहिटी दरबारमा र २०५८ सालमा होटल सोल्टीमा रिट्रिटको आयोजना भएको थियो ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना