पुनःसंरचना खाका तयार गर्ने काम सुरु

खोटाङ, साउन १९ गते । जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका विषयमा सबैको साझा बुझाइ तथा धारणा सिर्जनाका लागि जिल्लास्तरीय गोष्ठी आयोजना गरेर काम सुरु गरिएको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो ।

स्थानीय तहको पुनःसंरचनाको विषयमा राय÷सुझाव सङ्कलन, खाका निर्माण र निर्माण गरिएका खाकालाई अन्तिम रुप दिनका लागि सोमबार उच्चस्तरीय समन्वय तथा सहजीकरण समूह, स्थानीय तहको खाका निर्माण समूह र स्थानीयस्तरको परामर्श सङ्कलन समूह गठन गरिएको छ ।

जिल्लामा दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहने प्रस्ताव गरिएको छ । स्थानीय तहको खाका निर्माण समूहले मङ्गलबारदेखि साउन २३ गतेसम्ममा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम सुरु गरेको छ ।

स्थानीयस्तरको परामर्श सङ्कलन समूहले जिल्लाका १० ठाउँमा पुगेर गाउँपालिका र नगरपालिका निर्माणको विषयमा राय तथा सुझाव सङ्कलन गरेर ल्याउनेछन् । प्राप्त सुझावका आधारमा स्थानीय तहको खाका निर्माण समूहले तयार पारेको खाका र स्थानीयस्तरको परामर्श सङ्कलन समूहले सङ्कलन गरेर ल्याएको सुझावका आधारमा पुनः साउन २४ गते उच्चस्तरीय समन्वय तथा सहजीकरण समूहसहितको टोली बसेर जिल्लाको स्थानीय तहको खाकालाई टुङ्गो लगाइने पाण्डेले जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना