प्रथम देवदह महोत्सवको तयारी पूरा

वुटवल, माघ २९ गते । भगवान गौतमबुद्धकी आमा मायादेवीको माइती गाउँ देवदहलाई पर्यटकीय स्थल र अर्गानिक कृषि खेतीका रुपमा राष्ट्रियस्तरमा परिचित गराउन पहिलोपटक हुन लागेको राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । 

उद्योग ब्यापार संगठन देवदह शाखा र उद्योग व्यापार संगठन रुपन्देहीको संयुक्त आयोजनामा देवदह नगरपालिकाको वडा नं ६ पानबारीमा फागुन १ गतेदेखि १० गतेसम्म महोत्सव हुन लागेको हो ।
महोत्सवमा औद्योगिक प्रतिष्ठान, कृषिजन्य, हस्तकला, घरेलु तथा कुटिर उद्योग, होटल तथा रेष्टुरेन्ट र पर्यटन सम्बन्धी २ सय स्टल दर्ता भैसकेका र तयारीका सबै कामहरु पूरा भएको महोत्सव संयोजक गोबिन्द ठडराईले जानकारी दिनुभयो ।
‘देवदह क्षेत्र कृषि, दुध उत्पादन, अर्गानिक तरकारी र बंगुर पालनमा रुपन्देहीकै अग्रणी क्षेत्र भएकाले स्थानीय किसान र उद्योगी व्यवसायीका उत्पादनको बजारीकरणसंगै किसानलाई प्रोत्साहनका लागि पहिलोपटक ब्यापार मेला आयोजना गरिएको हो’ –अध्यक्ष ठडराईले भन्नुभयो –‘देवदह क्षेत्र गौतम बुद्धको मावली स्थल पनि भएकाले यसलाई लुम्बिनीसंग जोडेर एकीकृत पर्यटन विकासका लागि राज्यको ध्यान आकृष्ट गर्नु पनि महोत्सवको उद्देश्य हो ।
महोत्सवमा देवदह क्षेत्रका पर्यटकीय तथा धार्मिक स्थलहरु पाकरीबृक्ष, माथागढी किल्ला, भवानीपुर, बैरीमाई, कन्यामाई, खयरडाँडा, दह र अर्गानिक तरकारीका लागि प्रसिद्ध शरनटाडी गरी सात स्थानको भ्रमणका लागि टुर प्याकेज कार्यक्रमलाई विशेष प्राथमिकता दिइने अध्यक्ष ठडराईले बताउनु भयो ।
टुर प्याकेजमा न्यूनतम रु. १ सय १५ देखि र अधिकतम २ सय ७५ रुपैयाँ शुल्क कायम गरिएको र दर्शकलाई विद्युतीय अटो रिक्सा तथा अन्य सवारी साधनमार्फत घुमाइने छ ।
१० दिनसम्म चल्ने व्यापार मेला १ लाख दर्शकले अवलोकन गर्ने र साढे २ करोड रुपैयाँको आर्थिक कारोवार हुने लक्ष्य रहेको संगठनका सचिव मेघराज ढकालले बताउनु भयो ।
महोत्सवमा लोक संस्कृतिको जगेर्नाका लागि लोक दोहोरी, देवदह महोत्सव गायन आइडल, देवदह डान्सिङ आइडल, विद्यालयस्तरीय लोक नृत्य प्रतियोगितासंगै चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति, बाल उद्यान आदि पनि आकर्षणको रुपमा रहने आयोजकले जनाएका छन ।
देवदह नगरपालिका र जिल्ला विकास समिति रुपन्देही महोत्सवको सहआयोजक रहेको महोत्सव सम्पन्न गर्न ५० लाख रुपैया खर्च अनुमान गरिएको छ भने टिकट विक्रिको आम्दानीबाट ५ प्रतिशत रकम ऐतिहासिक पाकरी बृक्ष संरक्षणमा खर्च गरिने छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना