उपत्यकामा थप एक ठाउँमा ग्यास खोजी

काठमाडौँ, साउन १६ गते ।  खानी तथा भूगर्भ विभाग उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने कार्यमा जुटेको छ ।  विभाग अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो ।  
विभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आज जानकारी गराउनुभयो ।  पहिलेका १४ भन्दा फरक ठाउँमा हामीले ग्यास पत्ता लगाइरहेका छौँ उहाँले भन्नुभयो– त्यसका लागि बजेट विनियोजन गरेर कार्य सुरु गरिसकेका छौँ ।  यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको छ तर अहिले इमाडोलमा रहेको इनारबाहेक सबै पुरानो भएकाले बन्द रहेको अवस्थामा छन् ।  
इमाडोलस्थित खरिबोट क्षेत्रमा रहेको  इनार भने ग्यास  भण्डारण गर्न गतवर्ष पुनः खनिएको थियो ।  भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले उपत्यकामा रहेको मिथेन ग्यास प्रयोगमा ल्याउने चर्चा चलेको  थियो ।  उहाँका अनुसार अहिले विभागले विभिन्न ठाउँमा गएर अध्ययन गरिरहेको छ ।  पहिले ग्यास पत्ता लगाउँछौँ ।  अनि कति ग्यास निस्कन्छ, त्यो पत्ता लगाउँछौँ अनि ग्यास सङ्कलन गर्छांै उहाँले भन्नुभयो ।
  विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले ग्यास पत्ता लगाई यसै आवमा इनार खनिने जानकारी गराउनुभयो ।  सरकारले सन् १९८२ मा टेकूमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याएको थियो ।  एक अध्ययनले उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने तथ्य सार्वजनिक गरेको थियो ।  यसैगरी विभागले उपत्यकामा रहेका ग्यास भण्डारण गर्न मोबाइल ग्यास परीक्षण प्लान्ट बनाउन थालेको छ ।  
शाखा प्रमुख श्रेष्ठले उपत्यकामा रहेको ग्यास कति मात्रामा रहेछ पत्ता लगाई सङ्कलन गर्न प्लान्ट बनाउन थालिएको बताउनुभयो ।  उहाँका अनुसार करिब रु. २० लाखमा प्लान्ट बनाउन थालिएको छ ।  ग्यास सङ्कलनका लागि अरू ठाउँमा पनि लैजान सकिने भएकाले मोबाइल प्लान्ट बनाउन थालेका हौँ उहाँले भन्नुभयो– पहिलो चरणमा हामीले इमाडोलमा रहेको ग्यासलाई प्लान्टमा जम्मा गर्छौँ ।  यसअघि टेकूमा मिथेन ग्यास सङ्कलनका लागि बनाइएको प्लान्ट बिग्रिएर थन्किएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना