एमाओवादी वार्ता र सहमतिको विरोधी होइन

Narayan Kaji Shrestha   3 By rajendra Chitrakar चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २९ गते । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) ले आफ्नो पार्टी वार्ता र सहमतिको विरोधी नभएको प्रष्ट पार्नुभएको छ । वार्ता र सहमतिकै पक्षमा आफ्नो पार्टी रहेका बेला सत्तारुढ दल काँग्रेस र एमालेले बहुमतीय प्रक्रिया सुरु गरेर वार्ताको ढोका बन्द गरेको श्रेष्ठको आरोप छ ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बिहीबार बिहान क्रान्तिकारी पत्रकार सङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले सत्तारुढ दलले संविधानसभामा सुरु गरेको प्रक्रिया फिर्ता लिन र विगतमा भएका सहमतिहरुको कार्यान्वयन गर्न तयार भएमा आन्दोलनलाई तुरुन्तै स्थगित गरी संविधान लेखन प्रक्रियामा आफ्नो पार्टी सहभागी हुने बताउनुभयो ।
पूर्व परराष्ट्र तथा उप–प्रधानमन्त्री समेत रहनुभएका उपाध्यक्ष श्रेष्ठले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान लगायतका ऐतिहासिक सम्झौताका आधारमा काँग्रेस र एमाले संविधान बनाउन तयार हुनुपर्ने बताउनुभयो । यसका लागि सत्ताधारी दलले बहुमतको हठ अहिले नै त्यागेर सहमतिका लागि तत्पर हुनुपर्ने धारणा राख्नुभयो ।
यस्तै हाल संविधानसभामा सुरु गरिएको प्रक्रियाले देशलाई मुडभेडतर्फ धकेलेको बताउँदै मुडभेड रोक्न र शान्ति तथा संविधानका लागि दलहरुबीच सहमतिको विकल्प नरहेको पनि उहाँले बताउनुभयो । “विगतका समझदारी र सम्झौताहरुलाई विर्सेर सत्तारुढ दलले संविधानसभामा बहुमतीय प्रक्रिया सुरु गर्नु भनेको जनताको अधिकारमाथि गम्भीर षड्यन्त्र गर्नु हो” श्रेष्ठले भन्नुभयो ।
उहाँले सहमतिमा संविधान जारी गर्न सत्तारुढ लगायतका दलहरु तयार नभए आन्दोलनबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरु गुम्नसक्ने भएकाले यसप्रति सबै नागरिक तथा सरोकारवालाहरु सचेत हुनुपर्ने पनि बताउनुभयो छ । हाल एमाओवादी लगायत ३० दलीय मोर्चाले उपलब्धिहरुको रक्षा र त्यसलाई संस्थागत गराउन एक मात्र विकल्प सहमति भएकाले सहमतिमा षड्यन्त्र गर्न थालिएपछि आन्दोलनको सुरुवात गरेको बताउनुभयो । उहाँले यसै आन्दोलनको बलबाट पहिचानसहितको सङ्घीय संविधान निर्माण गर्ने दावी समेत गर्नुभयो ।
एमाओवादीले हाल देशव्यापी रुपमा सञ्चालन गरिरहेको कार्यकर्ता प्रशिक्षणको कार्यक्रमअनुसार पूर्वी कमाण्डको जिम्मेवारी पाएका नेता श्रेष्ठ सोही कार्यक्रमको शिलशिलामा बुधबार ताप्लेजुङ आउनुभएको हो । पार्टीका पोलिटव्यूरो सदस्य तथा लिम्बुवान राज्यका इन्चार्ज टङ्क आङ्बुहाङका साथ ताप्लेजुङ आउनुभएका नेता श्रेष्ठले पार्टीले सुरु गरेको आन्दोलनमा सबै कार्यक्रताले सक्रियपूर्वक सहभागिता जनाउन निर्देशन समेत दिनुभएको छ ।
यता एमाओवादी जिल्ला कमिटीले आयोजना गरेको उक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा जिल्ला सदस्यहरु, भातृ सङ्घ/संस्था, विभिन्न जनवर्गीय सङ्गठनका सदस्यहरु गरी करिव चार सय कार्यकर्ताहरु सहभागी भएका जिल्ला अध्यक्ष खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना