बजारका अकल्पनीय दृश्य

santoshi adhikariसन्तोषी अधिकारी

 

पेटभित्र मुसादौड भइरहँदा खाजा नखाई समाचारको भोक शान्त पार्ने चटारोमा भइन्छ अक्सर ।  यही अक्षरको खेतीपातीमा जुटेको वर्षौं भयो, अक्सर हतारमा खाजा हुन्थ्यो बफ मःमः ।  यही औधी मन पथ्र्यो ।  खाजा मेनुमा बफ मःमःले वर्षौं ‘टप पोजिसिन’ कायम गरिरह्यो ।  साथीभाइ हुन् या आफन्तसँग भेट हुँदा रेष्टुराँभित्र छि¥यो कि पहिलो आदेश नै बफ मःमः का लागि हुन्थ्यो ।  यति प्यारो खाजा एकाएक चटक्क छाडेको छु ।  प्यारो खाजा छाड्नुको कारण अनेक छन् ।  २०७३ साल असार २४ गते शुक्रबार आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था विभाग तथा उपभोक्ता हित संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभाग, कन्जुमर आइ तथा पत्रकारसहितको टोली वाणिज्य विभागको कार्यालयमा बिहान साढे ६ बजे नै भेला भइसकेका थियौं ।  असार २० गतेदेखि सुरु अनुगमनले २४ गतेसम्ममा नयाँ गति लिइसकेको थियो ।  क्यामेरापर्सनका साथमा सुरुवाती दिनदेखि नै बजार अनुगमन टोलीमा सामेल थिएँ ।  शुक्रबारको दिन पनि हामी सबै पत्रकार बिहान ६ः३० मा आपूर्ति विभाग पुगिसकेका थियौं ।
आपूर्ति विभागका लालबहादुर बुढाथोकीले मासु पसल तथा बधशालाको अनुगमनमा सतुङ्गल जाने जानकारी दिनुभयो ।  अघिल्लो दिन पत्रकारलाई समेत कहाँ अनुगमन हुँदैछ भनेर खबर नगरिनु, जहाँ अनुगमनमा जाने हो, त्यसको केही मिनेटअघि मात्र जानकारी दिइनु र अनुगमनमा अकस्मात गई कालोबजारी गर्ने तथा उपभोक्ता हित विपरीतका कार्य गर्नेलाई कठघरामा उभ्याउने प्रयास गरिनु आफैंमा सकारात्मक कदम थियो ।  केही कर्मचारीको भनाइमा पत्रकारलाई अग्रिम जानकारी दिए, उनीहरूबाटै सूचना चुहिएर वास्तविक दोषीसम्म पुग्न नसकिने समस्या हुन्छ ।  एक सरकारी कर्मचारीले यसो भनिरहँदा हामी कुन स्तरको पत्रकारिता गरिरहेका छौँ भन्ने चिसो पनि पस्यो ।  
सतुङ्गलको राँगो बजार पुगियो ।  सुरु भयो अनुगमन ।  सतुङ्गलको राँगो बजारमा रहेको मासु पसल पुग्यो टोली ।  जहाँ मासु किन्न थुप्रै ग्राहक आएका थिए ।  ग्राहक हो कि पसलमा काम गर्ने कर्मचारी, चिन्न नसकिने ।  सुरुमा त कर्मचारीको अनुमान लगाएर सोधपुछ गरिएको व्यक्तिले आफू मासु किन्न आएको ग्राहक भने ।  यहाँको बधशाला कहाँ छ, यो मासु कहाँ काटेर ल्याइन्छ र साहुजी खोइ भन्दै अनुगमन टोलीले सोध्दा बधशाला जाने बाटो देखाए ती व्यक्तिहरूले ।  मुख्य सडकबाट छोटो समयमै पुगिने रहेछ बधशाला, तर एक व्यक्तिले अलि घुमाउरो बाटो देखाएर चलाखी गरेको अनुभव हामीलाई भयो ।  केही सञ्चारकर्मी साथीले त सबैभन्दा अगाडि प्रहरी नै पुगेर बधशालालाई जानकारी गराइसकेछन् भन्ने शंका पनि गरे ।  बधशाला पुग्न टोलीलाई १० मिनेट लागेको थियो, बधशाला बाहिर भर्खरै बढारेर सफा गरेजस्तो हिलोमा कुचोको डोब देखिन्थ्यो ।
भित्र छिरेका मात्र के थियौँ, ढोकैनजिक सेता र लामा कीरा स्याउँस्याउँ हिँडिरहेको देखियो ।  यत्रतत्र छरिएका कुहिएको मासुका थुप्रा अनि कुहिएका छाला ।  त्यहीँबाट बाहिर आइरहेका थिए ती कीरा ।  अत्यन्त दुर्गन्धित थियो बधशाला ।  सर्वसाधारणले खाने मासु नजिकै स्याउँस्याउँ कीरा परेका मासु तथा भैँसीका छाला र टाउकोसमेत बिक्रीका लागि राखिएको थियो ।  अनुगमन टोलीका सदस्य पनि भित्रको दुर्गन्धमा आफूलाई टिकाउन नसकेर बाहिर निस्किए ।
मोजमिल सेन्टरको बधशाला पुग्दा ढोका बन्द थियो ।  अनुगमन टोलीले बधशालाको ढोका घचेडे, भित्रको डुङडुङ्ती गन्धले टाउको दुखायो ।  जति गन्हाए पनि जानैप¥यो, कस्तो रहेछ हामीले खाने मासु काट्ने ठाउँ भनेर ।  भित्र दुर्गन्धित र फोहोर भुइँमा मासु काट्दै राख्दै गर्ने काम बधशालाका कर्मचारीले गरिरहेका थिए ।  सलले नाक थुनेर भए पनि बधशालाको कुना–कुना हेर्न थालेँ ।  उल्टी आउला जस्तो हुँदासमेत बधशाला नियाल्दै थिएँ, देशको राजधानीमा रहेको चल्तीको बधशालाको दृश्य बाहिर आइरहेको थियो ।  राजधानीकै सचेत वर्गले खाने मासु कस्तो रहेछ, त्यसको उदेकलाग्दो दृश्य देखिरहेको थिएँ ।  जतिसुकै गन्हाए पनि पूरा दुर्दशा नहेरी बाहिर निस्किनु जिम्मेवारीबाट चुक्नु पनि हो ।  
बधका लागि तयारी अवस्थामा राखिएको बुढी भैँसी, जसको आँखामा अब आफू मर्दैछु भन्ने आभासले निश्चित भएर होला आँखाबाट पीप (चिप्रा) बगिरहेको थियो ।  बधशालामा मासु प्रयोजनका लागि राखिएका अधिकांश राँगाभैँसी बूढा, रोगी र कमजोर देखिन्थे, मानौँ जीवनदेखि हार खाएको एक निरस यात्रीजस्तो ।  त्यस्तो दृश्य देख्दा मन कुँडियो ।  मरेका भँैसीका लादी पनि बिक्रीका लागि लैजान राखिएका मासु र हड्डीसँगै राखिएको थियो ।  थुप्रै मासुमास्याउँस्याउँ कीरा रगरगाइरहेका थिए ।  मैलो कपडा लगाएका, भैँसीको रगतले नुहाएका जस्तो देखिने कामदारहरू तीन महिनादेखि ननुहाएका जस्तो देखिन्थे, परैबाट ठुसठुसी गन्हाउने ।
आपूर्तिमन्त्री गणेशमान पुन पनि सुरक्षाकर्मीसहित टुप्लुक्क आइपुग्नु भयो ।  त्यहाँका टिठलाग्दा दृश्यले हैरानीमा परेर होला फोहोर मासु बिक्री वितरण गर्नेलाई कडा कारबाही गर्नुहोस् भन्ने कडा आदेश दिनुभयो कर्मचारीलाई ।  यो सबै हेरेपछि, भोगेपछि बफ मःमःको नाम सुन्नेबित्तिकै घिन लागेर आउन थालेको छ ।  त्यही दिनदेखि बफ मःमः नखाने प्रण गरेँ ।  
बधशालामा रोगी र बिरामी भैँसीसमेत भेटिएका थिए ।  नियमअनुसार कुनै पनि पशुको बध गर्नुअघि पशु चिकित्सकले स्वास्थ्यका लागि मासु खानयोग्य भनी प्रमाणित गर्नुपर्छ ।  तर यहाँ यस्तो कुनै पनि काम नहुने गरेको पाइयो ।  मोजमिल सेन्टरले सञ्चालन गर्दै आएको मासु पसलमा राँगोको मासु भन्दै भैँसीको मासु बेच्ने गरेको पाइयो ।  ढक तराजु पनि मापदण्ड विपरीत रहेका पाइयो ।  ढकतराजु अनुगमन टोलीले जफत ग¥यो ।  
भारतीय नागरिक जुल्फेकार आलमले सञ्चालन गरेको बलम्बुको मोजमिल सेन्टर बधशालामा कुहिएको र कीरा परेको मासु भेटिएपछि अनुगमन टोली टेकुस्थित ह्युमत सामुदायिक बधशालातर्फ लाग्यो ।  त्यस बधशालामा पनि फोहोर फेला प¥यो ।  मासुका डल्ला ओसार्न कागको बथान नै बधशालाभित्र छिरेका देखिए ।  अनुगमन टोली पुग्दा बधशालाका कर्मचारी हतारहतार बधशाला सफा गर्न तल्लिन थिए ।  भित्रको फोहोरका कारण यहाँ पनि अत्यधिक दुर्गन्ध र बाटो हिँड्नेलाई समेत गाह्रो भएको पाइयो ।  यति दृश्यावलोकन गरिसकेपछि अनुगमन टोली कालीमाटी तरकारी तथा फलफूल बजार पुग्यो ।  त्यहाँ पुगेर माछा बजार अनुगमन गर्न जाँदा माछा पनि त्यस्तै फोहोर र कुहिएको बिक्री भइरहेको पाइयो ।  
राजधानीका प्रमुख बजारमा उपभोक्ता अधिकारको कुन हदसम्म धज्जी उडेको रहेछ, कालोबजारीले कुन हिसाबले कानुनलाई तलुवामा राखेर राज गरेको रहेछ भन्ने उदाहरण अनुगमनक्रममा देखियो ।  कानुनका अगाडि अराजकहरू हाबी भएका, कानुनको नजरमा कठघरामा उभ्याउनुपर्ने दोषीले मन्त्री नेतृत्वमा अनुगमनका लागि गएको टोलीलाई खबर नगरी किन  आएको भन्नेजस्तो हास्यास्पद प्रश्न सोध्दै जाइलागेको दृश्यको साक्षी बन्नुपर्दा कस्तो देशमा कतिसम्म अराजकता मौलाएछ भन्ने लागिरहेको छ ।  
असार २० गते मंगलबार ।  व्यवसायीले आफूलाई कुनै जानकारी नदिई अनुगमनका लागि टोली आएको भन्दै अनुगमनकर्ता र पत्रकारमाथि बन्दाकोपी, लौका, सिमी जे–जे भेटिन्छ, त्यहीँको प्रहार गरिदिए ।  मोबाइलबाट उनीहरूको हर्कतको भिडियो लिन ठिक्क परेकी ममाथि पनि व्यापारीहरू आइलाग्न थालेपछि त्यहाँबाट भागेर अलि पर गई फोटो लिन बाध्य भएँ ।  पछि उनीहरूले अनुगमनकर्ता तथा पत्रकारसँग माफी पनि मागे ।  
अनुगमन गर्दा लाग्यो– केही वस्तु खाइसाध्य छैन ! हरेक खाद्यान्नमा मिसावट, फोहोर र दुर्गन्ध ।  फलफूल हे¥यो विषादी, तरकारीमा विषादी ।  उफ् ! केही नखाई बाँच्न पाए पनि हुन्थ्यो भन्ने लाग्न थाल्यो ।  उपभोक्ता नै अबुझ भएका हुन् कि व्यापारी नाफाखोर ? सरकार कमजोर भएर व्यापारी अटेरी पो भएका हुन् कि ? त्यही मासुमा परेको कीरा झैँ बजारमा सल्बलाइरहेको छ कालोबजारी ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना