सीमा क्षेत्रमा तटबन्ध निर्माण तत्काल रोक्ने सहमति

saptari

tatbandaधीरेन्द्र प्रसाद साह, राजविराज साउन १४ गते । भारतीय पक्षले दशगज्जा क्षेत्रमा एकतर्फी रुपमा तटबन्ध बाध्ने क्रममा उत्पन्न विवाद समाधान गर्न सप्तरी र भारतको सुपौल जिल्लाका प्रशासन प्रमु बीचको शुक्रबार कुनौलीमा बसेको संयुक्त बैठकमा तत्काल बाँध निर्माण कार्य नगरिने सहमति भएको सप्तरी प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।
 
    सो संयुक्त बैठकमा नेपालका जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयका इञ्जिनियर र भारतका जल संशाधन विभागका इन्जिनियर स्तरीय प्राविधिक संयुक्त टोलीले चाडै अध्ययन गरी समस्या समाधानको उपाय सहितको प्रतिवेदन नदिएसम्म कुनै काम अगाडि नबढाउने सहमति भएको हो ।
    इन्जिनियर स्तरीय प्राविधिक अध्ययन टोलीले तत्काल समस्या समाधान गर्न सकिने उपाय सहितको प्रतिवेदन दिने भएको भन्दै प्रजीअ गौतमले दीर्घकालीन समस्या समाधानका लागि दुई देशीय सहमतिका लागि आ–आफ्नो पक्षले केन्द्रिय तहमा पहल थाल्ने मौखिक सहमति भएको बताउनुभयो ।
    भारतको सुपौल जिल्लाको कुनौली बजारस्थित कोशी प्रोजेक्ट निरीक्षण भवनमा भएको बैठक पछि सुपौलका डीएम बैजनाथप्रसाद यादवले अहिले मनसुनमा बाँध निर्माण कार्य प्रभावित हुने भन्दै प्राविधिक अध्ययन प्रतिवेदन नआएसम्म तटबन्ध निर्माण कार्य बन्द राख्न सहमति भएको बताउनुभयो ।
    सप्तरी जिल्लाको तिलाठी गाविस स्थित भारतीय पक्षले निर्माण गरिरहेको तटबन्घको विषयमा बिहीबार बेलुका तिलाठीबासी र कुनौलीबासीबीच दोहोरो भिडन्त हुँदा दुबैथरीका गरी डेढ दर्जन भन्दा बढी घाइते भएका छन् । तिलाठी गाविस निवासी दशगज्जा संघर्ष समितिका संयोजक देवनारायण यादवको टाउको फुटेको छ । उहाँको टाउकोमा आठ वटा टाका लागेको अवस्थामा राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
    सोही झडपमा परी नेपाल तर्फका रोशन झा, दुर्गानन्द झा, सुशिल यादव, शंकर राय, गंगा झा, संजिव झा, श्यामप्रसाद कामैत, धीरेन्द्र मिश्र, हर्षबद्र्धन कर्ण घाइते भएको संघर्ष समितिका सहसंयोजक निरज झाले जानकारी दिनुभयो ।
    बाँध निर्माण कार्य रोक्न गएको बेला नेपाली पक्षसंग झडप भएको हो । कुनौलीबासीले बाँध निर्माण गर्नु पर्ने भन्दै स्थानीयले शुक्रबार कुनौली बजार बन्द गर्नुको साथै सो बजारमा नेपाली उपभोक्तालाई किनमेल तथा प्रवेशमा रोक लगाएको छ ।
    संयुक्त बैठकमा नेपालको तर्फबाट सप्तरी प्रहरी उपरिक्षक भीमप्रसाद ढकाल, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरिक्षक सुमन बैद्य, सशस्त्र प्रहरी नायब उपरिक्षक निरकृष्ण अधिकारी, जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन नंं. ४ लहानका प्रमुख रामनरेश मण्डल, भारत सुपौलका एएसपी शैलेशकुमार सिन्हा, निर्मलीका एसडीओ अरुणकुमार सिंह, भीडिओ परशुराम सिंह, सिओ रविन्द्रकुमार चौपाल, ४५ नं. बटालियन एसएसबी कमाण्डर रामअवतार भलौटिया, कोसी प्रोजेक्ट कुनौलीका इन्जिनियर सुरेशप्रसाद समेतको सहभागिता रहेको थियो ।
    बैठक बस्नु अघि संयुक्त रुपमा प्रशासन प्रमुखहरुले तटबन्ध  निर्माण स्थलको स्थलगत निरीक्षण तथा अवरोलक गर्नु भएको थियो ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना