एक हजार पचासी सौर्यबत्ती जडान गरिने

काठमाडौँ, साउन १२ गते । काठमाडौँ उपत्यकालाई झिलीमिली बनाउने उद्देश्यका साथ एक हजार ८५ सौर्यबत्ती जडान गरिने भएको छ । आगामी डेढ वर्षभित्र काठमाडौँ उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलीमिली गराउनका लागि सौर्य बत्ती जडान गर्न लागिएको काठमाडौँ महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीले बताउनुभयो ।surya light

प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न पहिलो चरणका लागि अहिलेसम्म तीनवटा कम्पनीले फारम भरेका छन् । पहिलो चरणका लागि नाम छनोट भएकामा विके ट्रेडर्स सप्लायर्स, होल ट्रेडर्स र कृष्ण ग्रिल एन्ड इन्जिनियर नाम गरेका कम्पनीले निवेदन दिएका छन् । दोस्रो चरणको छनोटबाट भने तीनबाट एकवटा कम्पनी छनोटमा पर्नेछ । दोस्रो चरणका लागि छनोट भएको कम्पनीले नै सौर्य ऊर्जा जडानको सबै काम गर्ने जिम्मा पाउने जानकारी कामपाले दिएको छ । त्यसका लागि एक महिनाको बोलपत्र आह्वान गरिएको छ ।

काठमाडौंँका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले पहिलो चरणका लागि गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरेको थियो ।

सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिनेछ । त्यस्तै, सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चारसय खम्बा गाडिने कामपाको भनाइ छ ।

त्यस्तै, दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडाँैं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिनेछ । यसैगरी, ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीनसय सौर्यबत्ती जडान गरिनेछन् ।

महानगरले पहिचान गरेको तेस्रो चरणमा ३८५ खम्बा राखिनेछ । सो चरणअन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने–कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना