युरोपमा नेपाली भाषा

kedar basisthaकेदार वाशिष्ठ


 

विषय प्रवेश

नेपाली भाषाको अध्ययनमा स्वदेशी तथा विदेशी परम्पराको इतिहास कहिलेदेखि हो भन्न कठिन छ ।  खोज तथा अनुसन्धानले नयाँ नयाँ तथ्य पत्ता लगाउने काम जारी रहन्छ ।  त्यसै व्रmममा नेपाली भाषाबारे पनि खोजीहरू भएका छन् ।  तथ्यप्राप्ति र त्यसको परीक्षणबाट कुनै पनि विषयको तथ्यपूर्ण र प्रामाणिक इतिहास केलाउन सकिन्छ ।  त्यसैले नेपाली भाषाको अध्ययन परम्पराको इतिहास खोतल्ने काम पनि प्रशस्तै भएका छन् ।  स्वदेशी तथा विदेशी अध्ययन परम्परामा यसको खोजी भएको पाइन्छ ।  तिनमा युरोपेली विद्वान्हरूको स्थान अग्रणी रहेको पाइन्छ ।  विदेशी अध्ययन परम्परामा हालसम्म गरिएका अध्ययनहरूमा जोहान्स व्रिmस्टोफोरस अमाडुजी (अमादुच्ची) लाई नेपाली भाषाको पहिलो अध्येताका रूपमा प्रस्तुत गरिएको पाइन्छ (शर्मा, २०५८ः४) ।  भारतीय भाषाका सर्वेक्षणकर्ता एन्डर्सन ए. ग्रियर्सनले दिएको सूचनाका आधारमा सन् १७७१ मा कासिआनो बेलिगात्तीले लेखेको अल्फाबेटम ब्रह्मानिकमको भूमिकामा नेपाली भाषाबारे दिइएको सूचनालाई नै युरोपमा नेपाली भाषाको अध्ययन परम्पराको थालनी मानिएको (शर्मा, २०५८ः४) हो ।
नेपाली भाषा व्याकरणको प्रारम्भिक इतिहास (२०५८) का लेखक सुकुम शर्माले अध्ययनलाई सीमाबद्ध गर्दा “यसमा सुरुदेखि १९०० ई. सम्मका व्याकरणात्मक कार्यहरूको सर्वेक्षणात्मक जानकारी र कालव्रmमिक मूल्याङ्कन गर्दा नेपाली भाषाको अध्ययन परम्परालाई आधार मानिएको छ” भन्नु भएको छ (शर्मा, २०५८ ः मेरो भनाइ) ।  यस भनाइले नेपाली भाषाको ऐतिहासिक अध्ययन परम्परालाई भाविष्यमा (सन् १९०० पछि) मात्र अध्ययनको क्षेत्र खुला गरि दिएको पाइन्छ ।  तर उनले दिएको सूचनाका आधारमा अध्येताहरूले यसभन्दा अगिको अध्ययन गर्न नसक्ने होइनन्, किनभने इतिहासको सीमा हुँदैन ।  त्यसैले यस लेखमा अमादुच्चीभन्दा अगाडिको नेपाली भाषाको अध्ययन र प्रयोग परम्पराको आँकलनको प्रारम्भिक खाका प्रस्तुत गरिएको छ ।  ल्याटिन भाषामा लेखिएका पुस्तकको अध्ययनमा भाषा समस्या अध्ययनको सीमा रहेको छ ।

अध्ययनको आवश्यकता
सर्व प्रथम हालसम्म युरोपमा नेपाली भाषाको सर्व प्रथम उल्लेख कर्ता मानिएका अमादुच्ची को थिए र उनले नेपालीबारे के उल्लेख गरेका थिए भन्ने जान्न प्रयास गरिएको थियो ।  त्यस व्रmममा अध्ययनको आधार के बन्न गयो भने – अमादुच्चीले बेलिगात्तीको किताबको भूमिका लेखेका थिए, आफै किताब होइन ।  भूमिका किताबका आधारमा लेखिन्छ भन्ने सर्व स्वीवृmत विषय हो ।  यस अर्थमा पनि अमादुच्चीले भूमिकामा नेपाली लगायतका भाषाहरूको सूचना दिनु पर्ने कारण किन परेको थियो भन्ने खोजीको अर्को पाटो थियो ।
यसै पृष्ठभूमिमा ग्रियर्सनले पनि अमादुच्ची र बेलिगात्तीबारे किन सूचना मात्र दिएर कन्जुस्याइँ गरे वा ग्रियर्सनको कार्यको पनि खोजी भएन भन्ने कुराको लेखाजोखा हुनु पर्ने देखियो ।  यिनै आधारमा यस लेखमा बेलिगात्ती, अमादुच्ची र ग्रियनर्सका कार्यको खोजी गर्दा हालसम्म नेपाली भाषाका पहिला युरोपेली अध्येता ठहरिएका अमादुुच्ची र बेलिगात्ती (सन् १७७१) भन्दा १२ वर्षअघि सन् १७५९ देखि नै नेपाली भाषाको अध्ययन मात्र होइन देवनागरी लिपिमा नेपाली भाषाको छपाइ परम्परा नै सुरु भएको पाइएको छ ।  
यस अध्ययनमा बेलिगात्ती, अमादुच्ची र नयाँ पत्ता लागेका जिओर्जीको सामान्य चिनारी व्रmममा दिँदै तिनै जनाका कृतित्वको समेत चर्चा गर्दै नेपाली भाषाका सम्बन्धमा उनीहरूको योगदानको विश्लेषण गरिएको छ ।  यसरी नेपाली भाषाको विदेशी अध्ययन परम्पराको हालसम्म प्राप्त अध्ययनको विश्लेषण गर्दै पूर्वकालव्रmममा यिनीहरूको स्थान निरूपण गरिएको छ ।  

जन्ममितिका क्रममा ः तिन व्यक्तित्व  
(क) कासिआनो बेलिगात्ती (सन् १७०८–१७९१)
कासिआनो बेलिगात्ती इटालीको माचेरातामा सन् १७०८ मा जन्मेका थिए ।  त्यसैले उनलाई कासिआनो दा माचेराता पनि भनेर चिनिन्थ्यो ।  उनी इसाई धर्म परम्परामा क्यापुचियन पादरी थिए, त्यसैले उनको धार्मिक नाम जोन बेलिगात्ती पनि रहेको थियो ।  रोमले विश्वमा इसाईहरूको धार्मिक विस्तार गर्ने कार्य गरि रहेको सन्दर्भमा सन् १७३८ मा तिब्बत टोलीमा उनी सहभागी भएका थिए ।  भारतको बाटो भएर तिब्बत जाने क्रममा सन् १७४० मा उनी नेपाल आई सन् १७४१ मा ल्हासा पुगेका थिए (पेतेक, २०६०ः१५७) ।  
तर सन् १०४२ मा नै रोमले तिब्बत अध्ययन समाप्त गरेकाले उनी दलबल सहित नेपाल फर्के र सन् १७५६ सम्म नेपाल र बङ्गालमा इसाई धर्म प्रचारको काममा लागे ।  १७६५ मा पनि बिरामी परेका कारण मात्र उनी फर्केका थिए ।  उनले इटाली फर्केर माचेरातामा नै बसी धार्मिक तथा नेपाल र तिब्बतमा गरेका कामको थप अध्ययनमा लागे ।  त्यसैका आधारमा उनले दुई वटा पुस्तक अल्फाबेटम ब्रह्माकिनम सेयु इन्दुस्तानम युनिभर्सिटाटिस कासी, (हिन्दु विश्वविद्यालय, काशी वा ब्राह्मी लिपि) (रोम १७७१) र अल्फाबेटम ताङ्गुतानम सुई तिबेतानम, (रोम १७७३) लेखे ।  दुवै पुस्तक ल्याटिन भाषामा लेखिएका छन् ।  रोममा फर्केर उनले यी दुई किताब लेख्नुअघि अर्का लेखक अगोस्तियानी आन्तोनियो जोर्जीलाई पुस्तक लेख्न सहयोग गरेका थिए ।
उनको मृत्यु सन् १७९१ मा माचेरातामा नै भयो ।  उनको मृत्यु भएको धेरैपछि सन् २००१ मा माचेरातामा कास्सिआनो बेलिगात्ती ऐतिहासिक पुस्तकालय स्थापना भएको छ ।
(ख) अगोस्तियानी आन्तोनियो जिओर्जी (१७११–१७९७)
यिनी इसाई धर्ममा पनि जेसुइट परम्पराका विरोधी क्यापुचियन पादरी थिए ।  इसाई धर्मप्रति कट्टर निष्ठावान् रहँदा रहँदै यिनले प्राच्य विधाका भाषा र साहित्यका बारेमा गहिरो चाख राख्ने गरेका थिए ।  त्यसैले उनले ग्रिक, ल्याटिन, सिरियाली लगायत ११ भाषा सिकेका थिए ।  उनले विभिन्न व्याकरण र भाषा विज्ञानसँग सम्बन्धित पुस्तकहरू लेखेका छन् ।  
यिनले लेखेको पुस्तक तिब्बती लिपिहरू (अल्फाबेटम तिबेतान) सर्व प्रथम सन् १७५९ मा प्रकाशित भएको थियो ।  तर, यस प्रकाशनमा उनको नाम रहेको थिएन (पेतेक, २०६०ः१३४) ।  त्यही पुस्तक सन् १७६२ मा अल्फाबेटम तिबेतम मिसनम एपोस्टोलिकारम कोम्मोडो एडिटम भन्ने नाम दिएर सम्पादन सहित उनको नाम सहित प्रकाशित भएको थियो ।
(ग) जिओभान्नी क्रिस्टोफोरो अमादुच्ची (सन् १७४०–१७९२)
यिनी १८ औं शताब्दीको उत्तराद्र्धका भाषाशास्त्री र साहित्यविद् थिए ।  नेपाली अध्ययन परम्परामा यिनको नाममा अमाडुजी उल्लेख भएको पाइन्छ तर यिनको पुरा नाम जोभान्नी व्रिmस्टिोफोनो अमादुच्ची हो ।  इटालेली प्रसिद्ध लेखक तथा अनुसन्धाता लुच्यानो पेतेकको सन् १९५२ मा प्रकाशित ई मिस्सियोनारी इटालियानी नेल तिबेत नेल नेपाल, (तिब्बत र नेपालमा इटालियन धर्म प्रचारकहरू, विसं. २०६०) नामक पुस्तकका इटालियनबाट नेपालीमा अनुवादकर्ता सुरेन्द्र ढकालले उनको यो नाम उल्लेख गरेका छन् ।  इटालियन भाषाबाट सोझै अनुवाद गर्दा लेखिएको नामलाई नै प्रामाणिक मान्न सकिन्छ ।
उनी ग्रिकको रोम ला सापिएन्जा विश्व विद्यालयमा प्राध्यापक र प्रोपोगन्डा कलेजको प्रेस सुपरीवेक्षक थिए ।  उनले भाषा र साहित्य सम्बन्धी धेरै पुस्तकमा भूमिका लखेका र सम्पादन गरेका थिए ।    
यिनले सन् १७५९ मा प्रकाशित अगोस्तियानी आन्तोनियो जोर्जीको अल्फाबेटम तिबेतानमको सम्पादन गरी धेरै विषय थप गरेर सन् १९९५ मा दोस्रो संस्करण प्रकाशित गराएका थिए ।  यसका साथै उनले कासिआनो बेलिगात्तीको भूमिकामा नेपाली लगायतका भाषाको उल्लेख गरेका थिए ।

तिन कृतिहरु (प्रकाशन मितिका क्रममा)
(क) अल्फाबेटम तिबेतानम (रोम १७५९)
अल्फाबेटम तिबेतानम (रोम १७५९) अगोस्तियानी आन्तोनियो जिओर्जीले तिब्बती लिपिका सम्बन्धमा लेखिएको कृति हो ।  तर यस पुस्तकमा लेखकको नाम छैन (पेतेक,२०६०ः१३४) ।  सन् १७५९ मा नै यसको पुनः मुद्रण भएको थियो ।  यसको लामो नाम धर्म प्रचारकद्वारा तयार गरिएका तिब्बती अक्षरहरूको सरलीकृत संस्मरण राखिएको छ (पेतेक,२०६०ः१३२) ।  २०८ पृष्ठको यस पुस्तकमा तिब्बती वर्णमाला र वर्णहरूको उच्चारणका बारेमा उल्लेख गरिएको पाइन्छ ।  मूल रूपमा ल्याटिन भाषाका लेखिएको यस पुस्तकमा तिब्बती भाषाको सम्भोटाका वर्णहरू छापिएका छन् र ती वर्णहरूको विश्लेषण गरिएको छ ।  यो पुस्तकको महत्त्वपूर्ण विशेषता हो ।
तिब्बती भाषाको हुँदाहुँदै पनि यो पुस्तक नेपाली भाषाको अध्ययनमा एउटा कोसेढुङ्गाको रूपमा रहेको पाइन्छ ।  पुस्तकको अध्याय २ को पहिलो अनुच्छेदमा नै नेपाली भाषालाई नेक्पाल्लेन्सिस ९ल्भपउबििभलकष्क० भनेर उल्लेख गरिएका पाइन्छ (पृ. १६) ।  हालसम्म प्राप्त अध्ययनमा युरोपेली अध्ययन परम्परामा नेपाली भाषाका बारेमा उल्लेख भएको कृति यो नै रहेको पाइन्छ ।  यति मात्र नभएर देवनागरी लिपिमा युरोपेली अध्ययन परम्परामा नेपाली भाषाको शब्द नै छापिएको पनि पाइन्छ ।  तिब्बती वर्णहरूलाई नेपाली नेपाली भाषाका वर्ण अनुसार बुझाउनका लागि गनेस (गणेश) शब्द प्रयोग गरी देवनागरी लिपिमा नै छापिएको छ (अध्याय २ पृ. १६, हेर्नु चित्र १ ) ।  त्यसै गरी हुम् (ॐ) नमा (नाम) सीद्धं (ॐ नामसिद्धं) पनि देवनागरी लिपिमा छापिएको छ र यसलाई अकर नागरी (नागरी अक्षर) का रूपमा उल्लेख गरिएको छ (अध्याय २ पृ. १६) ।  त्यसै गरी दुःख सुःख (पृ. १९), अनुसूची ३ मा सरास्वती (सरस्वती) र मंजुस्वरी (मञ्जुश्री) पनि देवनागरी लिपिमा छापिएका छन् (अनुसूची ३, पृ. १७४) ।
त्यस्तै, बाँस (अध्याय १ पृ. १०), कलम (अध्याय १ पृ. ११), कासी (अध्याय ४ पृ. २३), सुजन्मा (सुजन्म) (पृ. १४५), कमदेव (कामदेव), मनाम्थू (?), हाकीम (पृ. १७६) जस्ता शब्दहरू पनि कुनैलाई हिन्दी र कुनैलाई केही नभनी देवनागरी लिपिमा छापिएका छन् ।  
अध्याय ११ अन्तर्गत पृष्ठ ४२ मा देवनागरी लिपिका स्वरवर्णहरूलाई ब्रह्मानिसिज भनेर तिब्बती वर्णहरूसँग तुलनात्मक रूपमा छापिएको छ  ।  यसरी यस पुस्तकका यस्ता मौलिक विशेषता रहेको पाइन्छ ।  
त्यसको तिन वर्षपछि सोही पुस्तक सन् १७६२ मा अर्को संस्करण प्रकाशित भएको पाइन्छ ।  यस संस्करणमा लेखक अगोस्तियानी आन्तोनियो जिओर्जीको नाम उल्लेख रहेको छ (पेतेक, २०६०ः१३४) ।  सन् १७९० को दशकमा आएर पुनः यो पुस्तक दुई किसिमले छापिएको चर्चा पेतेकले गरेका छन् ।  जस अनुसार सन् १७९५ मा अमादुच्चीको सम्पादन र थप सामग्री सहित र सन् १७९६ मा पूर्व रूपमा नै पुनः प्रकाशन भएको थियो ।  पछिल्ला संस्करणभन्दा नेपाली भाषाका सम्बन्धमा सन् १७५९ को पहिलो संस्करणको ज्यादै ठुलो महत्त्व रहेको छ ।  
(ख) अल्फाबेटम ब्रह्माकिनम, (रोम १७७१)
अल्फाबेटम ब्रह्मानिकम क्यास्सिआन्नो बेलिगात्तीले लेखेको वर्णमाला सम्बन्धी पुस्तक हो ।  अल्फाबेटम भन्नाले वर्णमाला र ब्रह्मानिकमले संस्कृत भाषासँग साइनो रहेका भाषाहरूलाई बुझाउँछ तर यस पुस्तकमा देवनागरी कतै (नागरी मात्र भनिएको) लिपिमा लेखिने भाषाका वर्णमालाको परिचय र सामान्य प्रयोग देखाइएको छ ।  यस सन्दर्भमा यसलाई संस्कृत भाषाबाट विकास भएका देवनागरी लिपिमा लेखिने भाषाको वर्णमाला भन्न सकिन्छ ।  पुस्तकमा नेपाली भाषालाई चिनाउन पर्वत्तियानम ९एबचदबततष्बलगm० र नेपाल्लेन्से ९ल्भउबििभलकभ० नाम प्रयोग गरिएको छ (अध्याय १ पृ.२) ।  
यसमा पनि संस्कृत मूल रहेका देवनागरी लिपिमा लेखिने भाषाका वर्ण र शब्दहरू देवनागरी लिपिमा नै छापिएका पाइन्छन्, तर तिनको व्याख्या विश्लेषण भने ल्याटिन भाषामा गरिएको छ ।  उदाहरणमा प्रस्तुत गरिएका कतिपय शब्दहरू अल्फाबेटम तिबेतानमका नै रहेको पाइन्छ ।
देवनागरी लिपिमा लेखिने भाषाहरूको यो राम्रो वर्णमाला र व्याकरण हो ।  यसमा वर्ण परिचय अन्तर्गत स्वर र व्यञ्जन वर्ण, व्यञ्जन वर्णको संरचना, संयुक्त व्यञ्जन, परिपूरक वितरण, उच्चारण व्यवस्था अनुसार ह्रस्व, दीर्घ, प्लुत, विसर्ग लगायतका विशेषताहरूको व्याख्या गरिएको छ ।  त्यस्तै, अङ्क लेखन र गणना पनि यस पुस्तकमा दिइएको छ ।  देवनागरी लिपिका वर्णहरू डिको दिएर लेख्ने उदाहरण पनि दिइएको छ ।
यस सन्दर्भमा यस पुस्तकको आफ्नै मौलिक विशेषता रहेको छ ।  पुस्तकको भूमिकामा अमादुच्चीले नेपाली (नेपालेन्सिस, ल्भउबभिलकष्क), मैथिली (तौरुतिएन त्यगचगतबष्ल) लगायत आठ वटाका भाषाहरूको सूचना दिएका छन् ।  नेपालमा बोलिने नेपाली र मैथिली भाषाका सम्बन्धमा हालसम्मको अध्ययन परम्परामा यही सूचनालाई सर्व प्राचीन मानिँदै आएको पाइन्छ ।
(ग) अल्फाबेटम तिबेतानम (अमादुच्चीको संस्करण, रोम १७९५)
यो मूल रूपमा अगोस्तियानी आन्तोनियो जिओर्जीको सन् १७५९ र १७६२ कै पुस्तकको विस्तारित रूप हो ।  तर नेपाली भाषाका सन्दर्भमा बेग्लै मौलिक विशेषताहरू रहेका पाइन्छन् ।  यसमा तिब्बती भाषा, धर्म, संस्कृति र पहिरनको विशेषताको लामो वर्णन गरिएको पाइन्छ (पेतेक, २०६०ः१३३) ।  यसो गर्दा अमादुच्चीले नेपाली, हिन्दी र अन्य भाषाको तुलना पनि गरेका छन् ।  
वेदलाई हिन्दीमा उच्चारण गर्दा ‘वेदम्’ भनिने तर नेपालीमा उच्चारण गरिँदा ‘वेद’ मात्र उच्चारण हुने लगायतका तुलनात्मक अध्ययन यसमा गरिएको छ (पृ. १२७) ।  त्यसै गरी, पुरुषको अर्थ नेपालीमा व्यक्ति हुने अर्थ खुलाइएको छ (पृ. १०५) ।  पसुपाति (पशुपति) (पृ. १५२, हेर्नु चित्र २) र हेमाल (हिमाल) (पृ. १५३) लगायतका शब्दहरू उल्लेख गर्दै नेपालको धर्म, संस्कृति र भौगोलिक एवं प्राकृतिक वर्णन गरिएको छ ।
पेतेकले यो पुस्तक सन् १७९५ मा प्रकाशित भएको बताएका छन् तर यो अमादुच्चीको मृत्यु भएकोभन्दा तिन वर्ष पछि हो ।  उनको मृत्युपछि पुस्तक प्रकाशित भएको हो वा अघि भन्नेबारे स्पष्ट नभए पनि पेतेकले पुस्तकमा छापिएको वर्षलाई रोमनमा ःम्ऋऋीह्क्ष्क्ष् (१७६२) नै रहेको उल्लेख गरेका छन् (पेतेक, २०६०ः१३३) ।  जे भए पनि यो पुस्तक जिओर्जीको पुस्तकको नै विस्तार भए पनि यसका मौलिक विशेषताका कारण चर्चित रहेको पाइन्छ ।  नेपाल र नेपाली भाषाका सम्बन्धमा यसको बेग्लै महत्त्व रहेको छ ।

कृतिहरुको विश्लेषण
प्रस्तुत कृतिहरूमध्ये अल्फाबेटम ब्रह्मानिकमका बारेमा मात्र नेपालीमा सामान्य सूचना र भारतीय भाषिक परम्परामा अलि बढी चर्चा र विश्लेषण भएको पाइन्छ ।  अल्फाबेटम तिबेतानमका बारेमा भने पेतेकले दिएको सामान्य सूचना मात्र उपलब्ध छ ।
अल्फाबेटम ब्रह्मानिकममा नेपाली भाषाको सूचना दिने व्यक्ति भारतमा अङ्ग्रेजहरूको शासन रहेको समयमा भारतीय भाषाहरूको सर्वे गर्ने जर्ज अब्राहम ग्रियर्सन (सन् १८५१–१९४१) ले सर्वेको प्रतिवेदनमा दिएका हुन् ।  उनले बेलिगात्तीको थोरै र अमादुच्चीको अलि बढी प्रशंसा गरेका छन् (ग्रियर्सन, १९२७ः९) ।  तर सोही सर्वेको ठेली ९ को परिचय खण्डमा भने उनले अल्फाबेटम ब्रह्मानिकमको अरू बढी महत्त्व रहेको उल्लेख गरेका छन् ।  तर यहाँ पुस्तकको प्रकाशन वर्षमा सन् १७६१ लेखेर गम्भीर उनले त्रुटि गरेका छन् (ग्रियर्सनः १९१६ः९–१०) ।  सोही मितिलाई आधारमा मानेर अर्का लेखक तेज के. भाटियाले गरेको विश्लेषणमा यस अल्फाबेटम ब्रह्मानिकमको महत्त्व धेरै रहेको दर्साएका छन् (भाटिया, १९८७ः५८–५९) ।  
नेपाली अध्ययन परम्परामा सुकुम शर्माले बेलिगात्तीको नाम उल्लेख गरेर अमाडुजी (अमादुच्ची) को विशेष भूमिका देखाउनु भएको छ ।  उहाँले त्यस समयमा मिसनरिजले संस्कृतबाट अनुवाद गर्दै नेपालीमा कार्य गरेको ग्रियर्सनको टिप्पणी रहेको (शर्मा, २०५८ः४ ) उल्लेख गर्नु भएको छ, जुन कुुरा पूर्णतः सत्य नभएको अल्फाबेटम तिबेतानमले प्रमाणित गरि दिएको छ ।  
अल्फाबेटम तिबेतानमले तत्कालीन समयमा नै अर्को के कुरालाई पनि स्पष्ट गरेको छ भने नेपाली भाषाको अध्ययन आर्य इरानेली भाषा परिवारका भाषाहरूसँग मात्र नभई तिब्बत बर्मेली परिवारका भाषाहरूसँग पनि एक साथ तुलनात्मक रूपमा गर्न सकिन्छ ।  वस्तुतः क्यापुचियन मिसनरीको कार्यक्षेत्र तिब्बत र नेपाल रहेको र त्यही व्रmममा उनीहरूले विविध अध्ययन गरेको पेतेकको पुस्तकका पत्रहरूले देखाएका छन् ।
उनीहरूले भाषाका सम्बन्धमा अरू काम गरेको हुन सक्ने सम्भावना देवनागरी लिपिमा छपाइका लागि छापाखानाका अक्षर तयार गरेकोबाट अनुमान गर्न सकिन्छ ।  व्यापक अध्ययन नभई र त्यसको आम प्रयोग हुने सम्भावना नभई त्यसरी अक्षरको निर्माण गर्न सकिँदैन ।  नेपाली, मैथिली, हिन्दी लगायतका संस्कृत मूल भाषा भएका भाषाहरूको लेखन परम्परा व्यापक रहेकाले नै सो कार्य भएको अनुमान गर्न सकिन्छ ।

निष्कर्ष
नेपाली संस्कृतबाट विकास भएको र ऐतिहासिक प्रयोग भएको भाषा हो ।  यसको अध्ययन परम्परा पनि लामो रहेको छ र यस कार्यमा स्वदेशी तथा विदशी अध्ययन परम्परा रहेको छ ।  नेपाली अध्ययन परम्परामा ऐतिहासिक खोज धेरै भएका र निक्र्यौल पनि आएका छन् ।  तर विदेशी अध्ययन परम्परामा प्रायः अङ्ग्रेजी अध्ययन परम्पराको बढी खोजी भएको छ र अरू भाषा र परम्परामा भएका अध्ययनहरू त्यसैको ओझेलमा परेका छन् ।  अरू भाषामा खोजी गर्न भाषिक र आर्थिक समस्या आफ्नै ठाउँमा छन् ।  यस अध्ययनले संसारमा नै धेरै अध्ययन सामग्री रहेको मानिएको ल्याटिन र इसाई परम्परामा नेपाली भाषाको खोजीको क्षेत्र नयाँ खालको र विशद् रहेको उजागर गरेको छ ।  नेपाली भाषाको इतिहास र व्याकरण परम्पराको अध्ययन परम्परा २५७ वर्षले उकालो लाग्नु नेपाली भाषा सामान्य भाषा होइन भन्ने प्रमाण पनि यो हो ।

सन्दर्भ सूची
––––––––, (सन् १७५९), अल्फाबेटम तिबेतानम, रोम ।
ग्रियर्सन, जी.ए., (सन् १९१६), लिङ्विस्टिक सर्भे अफ इन्डिया, अङ्क १, भाग १, कलकत्ताः गभर्नमेन्ट अफ इन्डिया सेन्ट्रल पब्लिकेसन्स ब्रान्च ।
ग्रियर्सन, जी.ए., (सन् १९२७), लिङ्विस्टिक सर्भे अफ इन्डिया, अङ्क ९, भाग १, कलकत्ताः गभर्नमेन्ट अफ इन्डिया सेन्ट्रल पब्लिकेसन्स ब्रान्च ।
जिओर्जी, अगोस्तियानी आन्तोनियो, (सन् १७६२) अल्फाबेटम तिबेतानम, रोम ।
जिओर्जी, अगोस्तियानी आन्तोनियो, (सन् १७६२) अल्फाबेटम तिबेतानम, (१७९५?)(अमादुच्चीको सम्पादन) रोम ।
पेतेक, लुच्यानो, (विसं. २०६०), तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू (अनुवाद ग्रन्थ), काठमाडौं ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
बेलिगात्ती, कास्सिआनो, (सन् १७७१), अल्फाबेटम ब्रह्मानिकम, रोम ।
भाटिया, तेज के., (सन् १९८७), अ हिस्ट्री अफ दी हिन्दी ग्रामिटिकल टे«डिसन, न्युयोर्कः इ. जे. ब्रिल ।
शर्मा, सुकुम, (विसं २०५८) नेपाली व्याकरणको प्रारम्भिक इतिहास, काठमाडौं ः निरन्तर पब्लिकेसन्स ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना