नेपालगञ्जका सयौं घर डुबानमा


nepalgungeबाँके समाचारदाता, बाँके, साउन ७ गते ।  केही दिनदेखि परिरहेका बर्षाका कारण नेपालगन्जका विभिन्न भाग डुबानमा परेका छन् । डुबानका कारण नेपालगञ्जभित्रका सयौं घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले डुबानपछि घरभित्र पानी पसेका परिवारको उद्दारका लागि ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
सल्यानी बंगला, गणेशपुर लगायतका स्थानका सयबढि घरभित्र पानी पसेको प्रहरीले जानकारी दिएको छ । नेपालगन्जको न्यूरोडस्थित सेतु विक चौक, घरबारी टोल, बेलासपुर, पासाङल्हामु मार्ग, लगायतका स्थान जलाम्मे हुँदा आवागमनमा समस्या भएको छ ।
 जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी टेकप्रसाद राईले नेपालगञ्ज क्षेत्रमा जम्मा भएको पानी निकासका लागि नाला खन्ने काम गरिएको बताउनुभयो ।
नगरका विभिन्न भागमा डुबानमा परेपछि निकासका लागि जामा मस्जिद नजिकैबाट नाला खनिएको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक रकमबहादुर चन्दले जानकारी दिनुभयो ।
नेपाल राष्ट्रबैंक लगायत केही सरकारी कार्यालय समेत डुबानमा परेका छन् ।
 मुख्य बजार क्षेत्र घरबारीटोलीमा पसलभित्रैसम्म पानी पसेको व्यवसायीले जनाएका
छन् । स्थानीय व्यवसायी वाहब खानले बर्षायाममा घरबारीटोल सधै डुबानमा पर्दै आएपनि उपमहानगरपालिकाले पानी निकासका लागि बेवास्ता गरेको बताउनुभयो ।
 सडकमा जमेको पानी घरभित्रै पस्न थालेपछि विभिन्न स्थानबाट मानिसहरू पानी निकासको माग गर्दै उपमहानगरपालिकामा पुगेका छन् ।
नेपालगन्जमा एशियाली विकास बैंकको सहयोगमा ढल निकास र सडक निर्माणको काम जारी छ ।  ढल निर्माणको कार्य नसकिएका कारण समस्या उत्पन्न भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुषालले ढल निकासको योजनामा नगरका सम्पूर्ण भाग जोडिनसकेको, डिजाईनमा परेर पनि काम अड्किएका र नेटवर्क हुन नपाएका कारण केही स्थानमा पानी निकासको समस्या देखिएको बताउनुभयो ।
यसैबीच डुबानका कारण नगरभित्रका केही शैक्षिकसस्थाहरू पनि शुक्रबार बन्द भएका छन् । राप्तीनदीमा भने पानीको सतह सामान्य अवस्थामा रहेको छ ।  अन्य दिनभन्दा शुक्रबार बिहानैदेखि नगरका धेरै भाग जलमग्न भएका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना