३८ औँ स्मृति दिवस पुष्पलाल बहुआयामिक व्यक्तित्व

sumant ghimireसुमन्त घिमिरे

 

“पहाड पर्वत खोलानाला
जग्गा जमिन सबको
मालिक हामी दास बनांै किन
हिस्सा सबमा सबको”

उपर्युक्त हरफहरूमा नेपालकै इतिहासमा प्रथमपटक संस्थागतरूपमा माक्र्सवादी विचार पोखिएका थिए ।  सर्वश्री पुष्पलाल, शम्भुराम, प्रेमबहादुर कंसाकार सूर्यबहादुर भारद्वाज आदिको संयुक्त प्रयासले बनाइएको उक्त परेड गीत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रथम घोषणा–पत्रको शिरोभागमा राखिएको थियो ।  १५ सेप्टेम्बर १९४९ ई. मा पार्टीको सिद्धान्त, विचार र राजनीतिक कार्यक्रमको व्यवस्थित घोषणापत्र जारी गरिएको थियो ।  उक्त घोषणापत्रमा राखिएका थिए– सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदुर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने, सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार गर्ने ।  यस्ता विषयवस्तुको उठानले क्रान्तिको सहज वातावरणलाई टेवा दिएको थियो ।  त्योभन्दा अगावै कम्युनिष्ट पार्टीको स्थापना अप्रिल २२, १९४९ मा कलकत्ताको श्यामबजारस्थित कुनै भवनमा पुष्पलाल, नरबहादुर र कर्माचार्य, निरन्जन, गोविन्द वैद्य, नारायण विलाश जोशी, मोतीदेवी (माइन्युट लेख्दा अनुपस्थित) को सक्रियतामा भयो ।  
ने.क.पा. पुष्पलालको मथिङ्गलको उपज थियो ।  ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट घोषणापत्र) को नेपाली रूपान्तरण गर्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ ।  उक्त रूपान्तरित प्रतिको भूमिकामा “केही कुरा” शीर्षक दिएर लेखिएको थियो– विश्व मजदुर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने यस घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदुर वर्गको आन्दोलनलाई सही बाटो लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु । ’ यो माक्र्सवादी चेतना र साहित्यको थालनी थियो ।
एउटा रोचक प्रसङ्ग भनौं या संयोग पुष्पलालसँग जोडिएको छ ।  जसरी विश्व कम्युनिष्टका नायक लेनिनको राजनीतिक जीवनी उहाँको दाजु अलेकजेण्डरलाई जारशाहीले दिएको प्राणदण्ड पश्चात् सुरु भएको थियो, त्यसैगरी जेठा दाजु गङ्गालालको हत्या पश्चात् राणाशाहीको जरो काट्ने प्रण गर्नुभएको थियो पुष्पलालले ।  त्यतिखेर उहाँ १५ वर्षका किशोर हुनुहुन्थ्यो ।  पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा वि.सं. १९८१ असार १५ मा जन्म भएको थियो ।  पिता भक्तलाल रामेछापमा मालका सुब्बा थिए, पछि छोराका कारणले खोसिएका थिए ।  १९९७ सालमा प्रजा परिषद्का सदस्यहरूको हत्या गरियो, कसैलाई आजीवन काराबास दिइयो ।  सङ्गठनलाई निर्ममताका साथ दमन गरियो ।  यसैको प्रतिक्रिया स्वरूप प्रेमबहादुर कंसाकार, पुष्पलाल, सूर्यबहादुर भारद्वाज, शम्भुराम श्रेष्ठ आदि मिली ‘नेपाल प्रजातन्त्र सङ्घ’ को गठन गरेका थिए ।  आरम्भमा ‘नेपाल प्रजातन्त्र सङ्घ’ मै आवद्ध रहँदा नै यसका सदस्यहरू आपसमा भेट्दा ‘काम्रेड’ भनेर सम्बोधन गर्न र लालसलामको अभिवादन गर्न थालिसकेका थिए ।  बीचमा नेपाली ‘राष्ट्रिय कांग्रेस’ का कार्यालय सचिवसम्म भएर काम गर्नुभएको थियो पुष्पलालले ।  वी.पी. कोइराला र डिल्लीरमण रेग्मीको नेतृत्वको खिचातानीले आजित भएपछि उहाँले नेपाल कम्युनिष्ट पार्टी गठन गर्नुभएको हो ।  
नेपाल कम्युनिष्ट पार्टीका जन्मदाताका रूपमा स्थापित पुष्पलालका खास विशेषताको बारेमा प्रा.डा. सुरेन्द्र केसी बताउँछन्– निरङ्कुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार ।  पुष्पलाल राजनीतिज्ञ मात्र थिएनन् अपितु इतिहास, समाजशास्त्र, मानवशास्त्रले ओतप्रोत भएका लेखहरू पनि लेखेका थिए ।  ‘म्याट्रिआर्कल सोसाइटी इन नेपाल, द ओरिजीन, डेभलप्मेन्ट एण्ड द फ्युचर अफ मोनार्की इन नेपाल, अ नीड फर द हिस्टोरिकल सर्भे अफ द नेप्लिज सोसाइटी’ आदि प्रमुख र महìवपूर्ण छन् ।  उनका लेखनीमा तथ्यहीन पुराणका कुतर्कलाई विसर्जन गर्दै अनुसन्धान र तथ्यमा आधारित अध्ययन र लेखनलाई जोड दिएको पाइन्छ ।  उनको पुस्तक ‘जन आन्दोलनको इतिहास’ मा गिर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमा पहिलो नागरिक आन्दोलन भएको चर्चा गरेका छन् ।  सम्भवतः पुष्पलाल प्रथम राजनेता हुन्, जसले नेपाली समाज र संस्कृतिलाई विभिन्न चरणमा विभिन्न उत्पादन प्रणालीको विकासको माक्र्सवादी दृष्टिकोणले विवेचना गरेका छन् ।  बहुआयामिक व्यक्तित्व हुँदाहुँदै उनी धैर्यवान पनि थिए ।  २००८ सालको धनुषा जिल्लास्थित बटेश्वर बैठकबाट मनमोहन अधिकारी पार्टीका महासचिव बन्नुभयो ।  पद गुमेको रत्तिभर चिन्ता नगर्दै उनले उद्घोष गरे ‘मनमोहनजी, बडो वेश र संयम व्यक्ति हुनुहुन्छ उहाँबाट पार्टीले नयाँ बाटो र राम्रो नेतृत्व पाउनेछ । ’
२०१३ सालतिर चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट निम्तो मान्न मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठ जाने तय भएको थियो ।  जानकारहरू भन्छन्, यस्तो परिस्थितिको सिर्जना गरियो जसबाट पुष्पलाललाई न चीन जाने वातावरण बनाइयो न त कार्यवाहक महासचिवको जिम्मेवारी ।  दुर्भाग्यपूर्ण परिस्थितिमा निकै चतुर र कुटिल कहलिनुभएका केशरजङ्ग रायमाझी कार्यवाहक महासचिव हुनुभयो ।  तत्कालीन महासचिव १५÷२० दिन जतिमा फर्किने लख काटिएको थियो तर उपचारका लागि चार वर्ष उतै बस्नु परेको थियो ।  उक्त समय र अवसरको लाभ लिँदै रायमाझीले महासचिवमा निर्वाचित हुने वातावरण पनि बनाउनुभयो र राजा महेन्द्रको कदमलाई समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टीलाई दरबारको पोल्टोमा बुझाउने दुस्साहस गर्नुभएको थियो ।  
बहुआयामिक प्रतिभा पुष्पलालको परराष्ट्र मामलामा समेत धेरै राम्रो सुझबुझयुक्त विचार थियो ।  जनस्तरमा नेपाली र भारतीयहरूको सम्बन्ध अद्वितीय भए पनि केही नेताहरू र प्रशासन संयन्त्रले गर्दा सम्बन्ध जहिले जटिल र कटु बन्न गएको छ ।  उहीबेलै पुष्पलालले लेख्नुभयो– नेपालको ९५ प्रतिशतभन्दा बढी आयात निर्यात भारतसँग हुन्छ ।  नेपालको मुख्य सहरमा मात्र नभई, भित्री क्षेत्रका बजारमा पनि मारवाडी तथा भारतीयहरूले महìवपूर्ण स्थान ओगटेका छन् ।  भारतीय वाणिज्य तथा उद्योग सङ्गठनले यस पहाडी राज्यमा लगानी गर्ने बडो सुगम ठाउँ भेट्टाएको छ ।  भारतीय एकाधिकार पुँजीपतिहरूले नेपाली पुँजीपतिहरूलाई नव उपनिवेशवादी नीतिअनुरूप हेर्छन् ।  न्युयोर्क टाइम्सका रवर्ट ट्रम बुलको रिपोर्ट उद्धृत गर्दै पुष्पलालले लेख्नुभएको थियो; नेपाल उत्तरी छिमेकी देशबाट हुने कम्युनिष्ट घुसपैठभन्दा प्राचीन कालदेखि प्राप्त स्वतन्त्रतामाथि भारतीय अतिक्रमणबाट त्रस्त भएको बुझिन्छ ।  त्यतिखेर काठमाडौँमा खुलेआम भनिन्थ्यो, नेपालको असली शासक भारतीय राजदूत हो ।
पुष्पलाल २०१५ सालको संसदीय निर्वाचनमा काठमाडौँ उपत्यका क्षेत्र नं. १ बाट बहुदलीय प्रतिस्पर्धामा सहभागी हुनुभयो ।  उहाँ २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औचित्य पुष्टि गर्न अहोरात्र लाग्नुभयो ।  सम्झौताविहीन सङ्घर्ष गर्ने स्वभावका हुनुहुन्थ्यो उहाँ ।  प्रखर व्यक्तित्व पुष्पलालले वि.सं. २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा भौतिकरूपमा बिदा लिनुभयो ।  तथापि उहाँको विचार र दर्शन मुलुक र जनताकै नीधि र धरोहरको रूपमा चिरकालसम्म रहिरहनेछ ।  
देश र जनताप्रति समर्पण, दलप्रति बफादार, सिद्धान्तनिष्ठ अनुशासित र सङ्घर्षशील व्यक्तित्व पुष्पलालबाट कोरिएको मार्गचित्रबाट नयाँ नेपाल निर्माण गर्नेतर्फ अग्रसर हुने प्रेरणा लिनुपर्छ ।  यो नै उहाँको महानतम् व्यक्तित्वप्रतिको सच्च श्रद्धाञ्जलि हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना