प्लास्टिकका झोला अनुगमन गर्न टोली सक्रिय

काठमाडौँ, साउन ७ गते ।  सरकारले यही साउन १ गतेबाट प्लास्टिक र पोली प्रोपिलिन झोलाको प्रयोगमा प्रतिबन्ध लगाएकाले प्लास्टिकको झोला बोकेर जाँदाजाँदै बाटोमा कारबाहीमा परिएला भन्नेतर्फ सचेत हुन जरुरी छ ।  
प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने नीति व्यवहारमा लागू भए वा नभएको भन्दै बजारमा अनुगमन गर्न सरकारी टोली बजारमा आउँदा कतै कारबाहीमा परिएला नि ।
सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तव्यमा प्लास्टिक तथा पोली प्रोपिलिन झोलाको प्रयोगबाट मानव स्वास्थ्य, वातावरण तथा सहरी सौन्दर्यमा प्रतिकूल प्रभावलाई अन्त्य गर्न भन्दै ती झोलाको प्रयोग, आयात, निर्यात, वितरण गर्न नपाउने व्यवस्था गरेकाले साउन १ गतेबाट त्यस्ता झोलाको प्रयोग तथा बिक्रीवितरण गरेमा कानुन अनुसार कारबाही हुने व्यवस्था गरिएको छ ।  
प्लास्टिक झोला मुक्त नेपाल बनाउने सरकारी घोषणाविरुद्ध काम गर्ने जोकोहीलाई कानुनबमोजिम कारबाही गरिने भएकाले त्यस्ता क्रियाकलाप नगर्न विभागले सार्वजनिक अपिलसमेत गरेको छ ।  सरकारले प्लास्टिक झोला मुक्त नेपालको परिकल्पना गरी बजेट वक्तव्यमा समेत उल्लेख भइसकेकाले त्यसविपरीत काम गर्ने जोकोहीलाई कानुन अनुसार कारबाही हुन्छ ।  त्यसैले प्लास्टिकका झोलाको प्रयोग नगर्न सबैमा सार्वजनिक अपिल
गरिएको छ ।  plastic
प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न, घरबाट बाहिर निस्किँदा सामान बोक्नका लागि वैकल्पिक झोला बोकेर लैजान, खुला रूपमा बेचिने चिनी, तरकारीलगायतका सामान खरिदबिक्री गर्दा कपडा वा अल्लोका झोला तथा बट्टा प्रयोग गर्नसमेत उपभोक्ता र व्यापारीलाई सरकारले आग्रह गरेको छ ।  
प्लास्टिकको झोलामा पूर्ण रूपमा प्रतिबन्ध लगाउने नीतिलाई कार्यान्वयन गर्न जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा निर्देशिका तयारी चरणमा रहेको छ ।  
एक अध्ययन अनुसार नेपालमा एक दिनमा करिब ४५ लाख मानिसले सामान बोक्नका लागि प्लास्टिकका झोला प्रयोग गर्ने गरेका छन् ।  प्लास्टिकका झोलाले वातावरणीय प्रदूषण बढाएकाले बढी टिकाउ, वातावरणमैत्री कपडाको झोला वा वैकल्पिक साधनको प्रयोग बढाउन यो नीति ल्याइएको सरकारी अधिकारीले बताएका छन् ।   वातावरण मन्त्रालयले बजारमा अनुगमन गर्न केन्द्रीय स्तरमा एक कार्यदलसमेत गठन गरेको छ ।  स्थानीय निकायलाई प्रभावकारी रूपमा यसको अनुगमन गर्न गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालय मातहतका सबै निकायलाई परिचालन गरिने भएको छ ।  
यसअघि काठमाडौँ उपत्यकामा पातलो खालका प्लास्टिकका झोलाको बिक्रीवितरण र प्रयोगलाई सरकारले कडाइ गरेको थियो ।  गत वर्ष झन्डै ४० क्विन्टल त्यस्ता प्लास्टिकका झोला जफत गरिएको थियो भने उत्पादन, बिक्रीवितरण गर्ने उद्योगी व्यवसायी तथा पसले र प्रयोगकर्ता उपभोक्तालाई पनि कारबाही गरिएकोे थियो ।  
तर प्लास्टिक उत्पादन गर्ने उद्योगी, व्यवसायीले भने सरकारले विकल्प नदिईकनै प्लास्टिकको झोलामा प्रतिबन्ध लगाउँदा व्यवसाय धराशयी भएको र आमउपभोक्तालाई समेत कठिनाइ भएको भन्दै विरोध जनाएका छन् ।  हाल नेपालमा करिब दुई सय उद्योगले प्लास्टिकका झोला उत्पादन र बिक्रीवितरण गर्ने गरेका बताइएको छ ।  
यद्यपि अल्लो तथा लोक्ताजन्य उद्योगी व्यवसायीले भने सरकारको यो कदमको स्वागत गरेका छन् ।  वातावरणमैत्री झोलाको प्रयोग बढाउँदै स्थानीय स्रोतबाट बनेको अल्लो तथा लोक्ताजन्य पदार्थबाट बनेको झोलाको प्रयोगले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने बताएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना