चितवनमा शान्ति समितिमा ९६२ उजुरी

चितवन, साउन ३ गते । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरेको द्वन्द्वपीडित तथा प्रभावितको उजुरी आह्वानमा चितवनबाट ९६२ वटा उजुरी परेका छन् । आयोगले आइतबारसम्मका लागि उजुरी दर्ता गराउने समय तोकेको थियोे ।

स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका ८५० र बेपत्ता पारिएका परिवारको छानबिन आयोगमा ५५ वटा उजुरी परेको स्थानीय शान्ति समिति चितवनकी कार्यालय सचिव लक्ष्मी गौतमले जानकारी दिनुभयो । यो बाहेक बाँदरमुढे घटनाका पीडितले छुट्टै ५७ वटा मुद्दा दर्ता गराएका छन् ।

चितवनमा सरकारबाट सूचीकृत द्वन्द्वपीडित तथा प्रभावित ६८६ जना रहेका थिए । पछिल्लो समय आयोगले उजुरी आह्वान गरेपछि वितरित फारामको ७५ प्रतिशतले मात्र उजुरी दर्ता गराएको कार्यालयकी सचिव गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार जिल्लामा बेपत्ता ३८ जना, मृतक ३३८ जना, अपाङ्ग तथा घाइते १६८ जना, अपहरित ९२ जना, विस्थापित ५० रहेका छन् । आयोगले असार मसान्तसम्मका लागि उजुरी सङ्कलन गर्ने भनिए पनि पछिल्लो समय एक महिनाका लागि समय थप गरेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना