लोकतन्त्रको उपहास

lokhari paudelलोकहरि पौडेल


 

नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घको अधिवेशन हुन नसकेको एक दशक भइसकेको धेरैलाई जानकारी छ ।  देशको हरेक परिवर्तनको इतिहास कोरे पनि आफ्नो सङ्गठनमा परिवर्तनको पक्षमा र नयाँ परिस्थिति अनुरूप काम गर्न नेपाली काँग्रेस त्यति अग्रणी स्थानमा रहन नसकेको महसुस तमाम काँग्रेसी कार्यकर्ता र आमनागरिकले पनि गरिरहेका छन् ।  
काँग्रेसका धेरै नेता “हामीले राणा शासनको अन्त्य ग¥यौँ, प्रजातन्त्र ल्यायौँ ।  पञ्चायती व्यवस्था विरुद्ध लड्यौँ, प्रजातन्त्रको पुनस्र्थापना ग¥यौँ ।  राजाका विरुद्ध लड्यौँ, गणतन्त्र ल्यायौँ । ” भन्ने इतिहासका कुरा मात्र गरिरहेका हुन्छन्, आगामी भविष्यका लागि के गर्ने ? कस्तो इतिहास कोर्ने ? भन्ने कुरा कमै नेताले गर्छन् ।  यसकारण कुनै समय संसद्मा दुईतिहाइ सदस्य रहेको पार्टी खस्किएर एकतिहाइमा पुगिसक्यो ।  यो ओरालो यात्राको कारणप्रति नेताहरूको ध्यान केन्द्रित हुनसकेको छैन तैपनि नेताहरूले हामी सबैभन्दा ठूलो पुरानो पार्टी भनेर भाषण गर्न छाडेका छैनन् ।  आफ्ना भातृ संस्था सक्रिय, चुस्त–दुरुस्त हुन नसक्दा पार्टीले कति नोक्सानी बेहोर्नुपरेको छ, भन्ने मूल्याङ्कन नेपाली काँग्रेसका नेताले गर्न नसकेकै हो ।  संसार लोकतान्त्रीकरण हुँदैछ, लोकतन्त्रको विकल्प छैन ।  हामी लोकतान्त्रिक पार्टी हौँ, त्यसैले सदैव जनताले हामीलाई विश्वास गर्छन् भन्ने सोच काँग्रेसका नेताहरूमा रहेको देखिन्छ तर उनीहरूले काँग्रेस बहुदलीय व्यवस्था मान्ने पार्टी हो भन्ने बिर्सिए जस्तो छ ।  काँग्रेसको विकल्पमा अरू पनि पार्टी आउन सक्छन् भन्ने कुरा नेपाली काँग्रेसको नेतृत्व वर्गले बुझ्नु आवश्यक छ ।  
नेपाली काँग्रेसमा अहिलेका सभापति शेरबहादुर देउवादेखि लिएर नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर के.सी., प्रकाश शरण महत, बालकृष्ण खाँड, एन.पी. साउद हुँदै गगन थापा लगायतका नेता नेपाल विद्यार्थी सङ्घमा काम गरेर बनेका नेता हुन् तर ने.वि. सङ्घ बुझेका नेता पार्टीको नेतृत्व तहमा रहँदा पनि एक दशकसम्म यो सङ्घको महाधिवेशन नहुनु नेपाली काँग्रेसको सङ्गठन विस्तारका लागि राम्रो पक्कै होइन ।  
नेपाल विद्यार्थी सङ्घको विधान अनुसार महाधिवेशन भएमा ३–४ जना योग्य युवा नेता प्रत्येक महाधिवेशनबाट उत्पादन हुन्छन् र हामी पुराना नेताको हालिमुहाली नचल्ने हो कि भन्ने त्रासले नेताहरू महाधिवेशन गर्न नचाहेका हुन्
कि भन्ने शङ्का व्यापक छ ।  योग्य युवा नेता उत्पादन हुँदा पार्टीलाई घाटा हंँदैन, फाइदा नै हुन्छ ।  कसैले पार्टीलाई घाटा लाग्छ भन्ने धारणा राख्छ भने उसले राजनीति नै छोड्दा हुन्छ ।  
आफूलाई लोकतन्त्रको हिमायती भन्ने नेपाली काँग्रेसले भातृ संस्था ने.वि. सङ्घको महाधिवेशन पनि गराउन नसक्नु लाजमर्दाे हो ।  ने.वि. सङ्घको अहिलेको नेतृत्वबाटै महाधिवेशन गराउन पार्टीले अन्तिम अवस्थासम्म प्रयास गर्नुपर्छ ।  सहज नभएको खण्डमा वैकल्पिक व्यवस्था खोजेर त्यसबाट निकास निकाल्नु अपरिहार्य छ ।  अन्यथा काँग्रेस उत्पादन गर्ने नर्सरीका रूपमा रहेको ने.वि. सङ्घमा नयाँ अनुहार आउन आकर्षित हुँदैनन् ।  ने.वि. सङ्घ मात्र होइन, नेपाली काँग्रेसका अन्य भातृ संस्थामा पनि समस्या उस्तै छ ।  यसतर्फ नेतृत्व सजग हुनु अत्यावश्यक छ ।  
ने.वि. सङ्घको महाधिवेशन गर्न मातृ पार्टीका सभापति शेरबहादुर देउवाले दिएको निर्देशन अनुरूप सङ्घको केन्द्रीय समिति गइरहेको छैन ।  केन्द्रीय समितिको बैठक भयो ।  त्यसको माइन्युट हुनसकेको छैन ।  यहाँ कोहीलाई कतिबेला निर्वाचन हुन्छ र विजयी हौँला भन्ने हतार छ भने कोही आफ्नो समूहको नेतृत्व उम्कने भयो भन्ने चिन्तामा छन् ।  उनीहरू आफू निर्वाचनमा नजित्ने भएपछि निर्वाचन हुने वातावरण सिर्जना हुन किन दिने भन्ने पक्षमा रहेको देखिन्छ ।  आफूलाई लोकतान्त्रिक पद्धति मान्ने हौँ भन्नेले के बिर्सनु हुँदैन भने लोकतन्त्रमा निर्वाचन हुन्छ, निर्वाचन भएपछि जीत हार हुन्छ र निर्वाचनमा भाग लिने सबैले व्यक्तिले जित्दैन ।  त्यसकारण ने.वि. सङ्घमा नयाँ पुस्ताको आकर्षण बढाउने हो भने जीत हारको चिन्ता छाडेर निर्वाचनमा जानु अति आवश्यक छ ।  
प्रस्ट छ, नेपाली काँग्रेसका सभापति मात्रको चाहनाले ने.वि. सङ्घको महाधिवेशन हुँदैन ।  यसका लागि सङ्घको केन्द्रीय नेतृत्व पनि इमानदार र जिम्मोवार हुनुपर्छ ।  सङ्घको नेतृत्व इमानदार भएन भने मातृ पार्टीले इमानदार व्यक्ति खोजेर उसलाई महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिनुपर्छ ।  यो अवस्था सिर्जना गर्ने कि नगर्ने भन्ने सङ्घका अध्यक्षको हातमा छ ।  अध्यक्ष कसैलाई दोष लगाएर उम्कन सक्ने ठाउँमा छैनन् ।  महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नु नै उनको सफलता हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना