काठमाडौँलाई कुरूप र असुरक्षित बनाइँदै

Purushottam basnetपुरुषोत्तम बस्नेत




 

काठमाडौँ महानगरपालिका विगत धेरै समयदेखि जन–प्रतिनिधिविहीन अवस्थामा छ ।  यससित सम्बन्धित केही व्यक्ति वा व्यक्ति समूहले यो अवस्थालाई नाजायज तवरले उपयोग गरिरहेका छन् ।  उनीहरूको यस्ता मुलुकलाई धेरै काल पछिसम्म नकारात्मक असर छाडेर जाने गैरजिम्मेवार कार्यले काठमाडौँ महानगरपालिकालाई अस्वाभाविकरूपमा कुरूप बनाइरहेको छ, असुविधायुक्त बनाइरहेको छ र असुरक्षित बनाइरहेको छ ।
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुराताìिवक सम्पदाले भरिपूर्ण काठमाडौँ महानगरपालिका गत वर्षको विनासकारी भूकम्पको उत्पीडनबाट ठूलो खण्डहरमा परिणत भएको छ ।  काठमाडौँलाई मात्र होइन, सम्पूर्ण नेपाललाई संसारभरि चिनाउने यसका ऐतिहासिक धरोहरहरू जोखिमपूर्ण स्थितिमा छन् ।  अनेकौँ पीडित परिवारहरूले सङ्कट, असुरक्षा र अभावको कष्टपूर्ण जीवन बिताइरहेका छन् ।  यो स्थितिप्रति काठमाडौँ महानगरपालिकाले कतै, कुनै सरोकार देखाएको छैन ।  महानगरपालिका फोहोर व्यवस्थापनमा जिम्मेवारपूर्ण तवरले प्रस्तुत भएको छैन ।  भत्काएर त्यसै छाडेको दुर्घटनाग्रस्त सडकहरू बनाउन यसले कुनै चासो राखेको छैन ।  यस्ता अरू अनेक कार्यमा यो नितान्त निस्क्रिय अवस्थामा रहेको छ तर हतार–हतार यसले पुरानो बस पार्कलाई खुलामञ्चमा सारेर, त्यो ठाउँलाई अग्लो भ्युटावर बनाउन तीस वर्षको लिजमा एउटा व्यापारिक कम्पनीलाई दिएको छ र बनाउने कार्य सुरु भइसकेको छ ।
काठमाडौँमा आठ–दश तलाको अग्लो भवन बनाउने अनुमति दिन पनि एक्लो महानगरपालिकालाई मात्र अधिकार छैन ।  त्यसमा एक साथ धेरै कुरालाई पालन गर्नुपर्ने हुन्छ ।  गत वर्षको भूकम्पको प्रलयङ्कारी पीडालाई कसैले पनि बिर्सन सकेका छैनन् तर महानगरपालिकाले यसलाई बिर्सेर, भवन आचार संहिताको पूर्णतः उल्लघङ्न गरी, पुरानो बस पार्कमा पहिले २९ तलाको भ्युटावर बनाउने निर्णय गरेको थियो र त्यसमा घटाएर १२ तलाको टावर बनाइँदैछ ।  २९ तलाको भ्युटावर निर्माण गर्ने निर्णय किन गरियो ? त्यो निर्णयलाई परिवर्तन गरेर १२ तला बनाउनुपर्ने कारण र त्यसको आधार के हो ? यस्ता कतिपय कुराले यसमा अरू आशङ्काहरू थपेका छन् ।  जेहोस्, एक व्यापारी कम्पनीलाई काठमाडौँको आजसम्मको सबभन्दा अग्लो भ्युटावर बनाउन दिएको अनुमति नितान्त गैरजिम्मेवार छ र बदनियतपूर्ण छ ।  काठमाडौँ उपत्यकाको भूमिमा आठ–नौ तलाभन्दा माथिको भवन निर्माणको कार्यको प्रारम्भ केही वर्ष पहिलेदेखि मात्र भएको हो तर ती कतिपय नवनिर्मित भवन जिम्मेवारपूर्ण तवरले बनेका छैनन् ।  कति विमानको उडान मार्गलाई अवरोध पुग्ने गरी बनेका छन् ।  अधिकांश यस्ता अग्ला भवनहरू गत वर्षको भूकम्पबाट चर्किएका छन् ।  कति क्षतिग्रस्त भएका छन् ।  तिनीहरूलाई निर्माणको अनुमति दिँदा महानगरपालिकाले उचित जिम्मेवारी पूरा नगरेको प्रमाण हो, यो ।  निर्माण गर्नेहरूले पनि विश्वसनीय निर्माण सामग्रीको प्रयोगमा तथा अरू कुरामा पनि ध्यान दिएको भए निश्चय नै ती भवनहरू चर्कने र क्षतिग्रस्त हुने थिएनन् ।  चर्किएका यस्ता अग्ला भवनको वरपर बस्नेहरू सबैले सधैँ सन्त्रस्त भएर बस्नु परेको छ ।  ती अग्ला भवनहरूले किच्ने सम्भावित खतराबाट भयभीत कतिले ती ठाउँहरू छाडेर गएका छन् ।  कतिले यस्ता खतरायुक्त भवनहरू भत्काउन अनुरोध गरेका थिए तर सरकार र महानगरपालिका त्यसप्रति संवेदनशील भएन ।  त्यस्ता चर्किएका भवनहरूको सामान्य मर्मत गर्नुबाहेक सुरक्षामा आश्वस्त हुनुपर्ने कुनै कार्य भएनन् ।  अहिलेसम्म त्यस्ता अग्ला भवनको वरपर बस्नुपर्ने धेरैले सधैँ मृत्युलाई स्पर्श गरिरहेको स्थितिमा रहनु परेको छ ।  त्यस्ता भवनबाट कुनै दुःखद् दुर्घटना हुन गए भने त्यसको जिम्मेवारी सरकार र महानगरपालिकाले लिनुपर्नेछ ।
आठ–नौ तलाको भवनको यो असुरक्षित अवस्थालाई देख्दादेख्दै, महानगरपालिकाले त्यसभन्दा धेरै अग्लो भ्युटावर बनाउने अनुमति किन दियो ? बसपार्कलाई तीस वर्षको लीजमा दिएर सबभन्दा अग्लो भ्युटावर बनाउन किन आवश्यक प¥यो ? त्यहाँको भूगर्भको स्थिति त्यति अग्लो भ्युटावरलाई धान्न उपयुक्त छ कि छैन ? त्यसको परीक्षण कहाँ, कसले, कहिले ग¥यो ? त्यसको निर्माणमा प्रयोग हुने सामग्रीको परीक्षण कुन निकायले कसरी गर्ने
हो ? बसपार्कको अस्तित्व समाप्त पारेर, त्यसमा भ्युटावर बनाउन दिने आधिकारिक निकाय जन–प्रतिनिधि विहीन अवस्थाको नगरपालिका हो कि
होइन ? बसपार्कको रेखदेख, मर्मत तथा सम्भारको जिम्मा महानगरपालिकालाई भए पनि त्यसलाई अरू प्रयोजनमा परिणत गर्ने, त्यो स्थानलाई लामो अवधिसम्मका लागि व्यापारिक कम्पनीलाई लिजमा दिने अधिकार यसलाई छैन ।  खुलामञ्चलाई बस पार्कमा रूपान्तरण गर्ने अधिकार पनि महानगरपालिकालाई छैन ।  खुलामञ्च सधैँ खुलारूपमा रहने काठमाडौँका जनताको सुरक्षाको आश्रय स्थल हो ।  यो उपत्यकाका सम्पूर्ण जनताले निर्वाध तवरले उपयोग गर्न पाउने सार्वजनिक महìवको अभिभाज्य स्थान हो ।  यसलाई विभाजित गर्ने, दक्खल दिने वा अरू कुनै कार्यको निमित्त प्रयोग गर्ने अधिकार महानगरपालिकालाई किमार्थ छैन ।  
खुलामञ्चको पूर्व र पश्चिम दुवैतिरको अति व्यस्त सडकमा धेरै पहिलेदेखि एकतर्फी (वान वे) सवारी साधन चलाउने गरिएको थियो ।  बसपार्कलाई खुलामञ्चमा सारिएपछि त्यहाँ दुर्घटनाको सम्भावना पनि बढेको छ र आवत–जावतमा पनि अवरोध खडा भएको छ ।  यसबाट वीर अस्पताललाई अझ ठूलो असुविधा पुगेको छ ।  अस्पतालबाट आउने र जाने एम्बुलेन्सहरूले निर्वाधरूपमा जान–आउन पाएका छैनन् ।  ठूलाठूला बसको कोलाहलपूर्ण आवाज र अटुट ओहरदोहोरले ध्वनि र अरू प्रदूषणहरू बढाएको छ ।  चिकित्सकहरूलाई बिरामीको उपचारमा एवं बिरामीहरूलाई अरू धेरै कुरामा असुविधा पुगेको छ ।  यो स्थितिमा पुरानो बसपार्कलाई अग्लो भ्युटावर बनाउने महानगरपालिकाको निर्णयको कुनै पनि पक्ष काठमाडौँका जनताको हितमा छैन ।  यो कानुनसम्मत निर्णय पनि होइन ।  बसपार्कको अस्तित्वलाई समाप्त पारेर भ्युटावर बनाउने तथा खुलामञ्चलाई बसपार्कमा परिणत गर्ने अधिकार महानगरपालिकालाई छैन ।  महानगरपालिकालाई यो अधिकार सरकारले प्रदान गरेको हो भने यो काठमाडौँका जनतालाई कदापि मान्य हुन सक्तैन ।  
यो एउटा टोल वा महानगरपालिकाको सीमा क्षेत्रभित्र मात्र सीमित विषय होइन ।  पुरानो बसपार्क देशभरिका सम्पूर्ण जनताले उपयोग गर्ने देशको राजधानीको एक संवेदनशील ठाउँ हो ।  यसलाई जन–प्रतिनिधि विहीन अवस्थाको महानगरपालिकाले जोखिम र अरू अनेक विवादयुक्त अग्लो भ्युटावर व्यापारिक प्रयोजनको निमित्त एक व्यापारिक कम्पनीलाई लामो अवधिसम्मको लिजमा दिने निर्णय किन ग¥यो ।  यसले अनेक आशङ्काहरू खडा गरेको छ ।  यसको यथाशीघ्र उच्चस्तरीय रूपमा उचित छानविन हुनुपर्छ ।  यसको साथै टुडिखेल वा खुलामञ्चलाई बसपार्कमा परिणत गराएर महानगरपालिकाले प्राचीन सभ्यताको नगरी काठमाडौँको ऐतिहासिक, सामाजिक र सांस्कृतिक धरोहर माथि एकसाथ आक्रमण गरेको छ ।  यो, काठमाडौँको धेरै कुराको साथै यसको सुन्दरता र सुरक्षामाथिको पनि अतिक्रमण हो ।  काठमाडौँ महानगरपालिकाका दुई–चार व्यक्ति विशेषको मिलेमतोमा, उनीहरूको निहित स्वार्थमा भएको यस्ता बदनियतपूर्ण कार्यलाई कुनै पनि जिम्मेवार नागरिकले हेरेर मात्र रहनु हुँदैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना