हिउँ पग्लिएपछि काला हुँदै हिमाल

लक्ष्मीप्रसाद उपाध्याय

 

काठमाडौँ, साउन २ गते ।  हिमालको देश भनेर विश्वभरि चिनारी बनाएको नेपालका हिमालको हिउँ पग्लिएर काला हुँदै गएको प्रति विज्ञहरूले चिन्ता व्यक्त गर्नुभएको छ ।  विज्ञका अनुसार पछिल्लो एक दशकयता पातलो हिउँको तह पग्लेर हिमालमा कालो पत्थर देखिन थालेका छन् ।  हिमाल साँघुरिदै गएको (हिमालको क्षेत्रफल कम हुँदै गएको) विभिन्न अध्ययनले देखाएको छ ।  
जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली पनि जलवायु परिवर्तनको असर तराईभन्दा पनि उच्च हिमाली र पहाडी क्षेत्रमा प्रत्यक्ष र बढी देखिएको बताउनुहुन्छ ।  जलवायु परिर्वतनको असरले नेपालजस्ता कम विकसित मुलुकलाई बढी प्रभावित पारिरहेकोमा चिन्ता व्यक्त गर्दै सचिव डा. ओलीले भन्नुभयो, ‘यसले गर्दा उच्च हिमाली क्षेत्रमा नयाँ हिमताल बन्ने र भत्कने क्रम जारी छ ।  एक किसिमले हिउँ पग्लदै जाँदा हिमालको अस्तित्वमा चुनौती अनि हिमाली क्षेत्रमा पाइने जैविक विविधतामा ह्रास आउने निश्चित जस्तै छ’ ।  
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामप्रसाद चौधरीका भनाईमा यो क्रम बढ्दै जाने हो भने नेपालका हिमालमाथि निकै ठूलो संकट आउन सक्छ ।  उहाँले भन्नुभयो, ‘नेपालको पहिचान हिमाली देश हो भन्ने हो तर हिउँ पग्लेर हिमाल काला र सेता हुन थालेपछि कालान्तरमा त पक्कै नराम्रो असर पर्ने देखिन्छ’ ।  280px-Macchapuchare
जलवायु परिवर्तन र त्यसले पारेको असरबारे लामो समयदेखि अध्ययन अनुसन्धानमा संलग्न प्राध्यापक डा. चौधरीका अनुसार यो असर नेपालका मात्र होइन, विश्वभसरका हिमाल र पहाडी क्षेत्र हुने अन्य मुलुकमा परिरहेको छ ।  तर नेपालको अवस्था हेर्ने हो भने दिनप्रतिदिन नयाँ हिमताल बन्ने र तिनले नयाँ किसिमका जोखिम सिर्जना गर्ने काम भइरहेको छ ।  यो चिन्ताजनक कुरा हो ।  
हाल नेपालमा एक हजार पाँच सयभन्दा बढी साना तथा ठूला हिमताल रहेको अनुमान गरिएको छ ।  तीमध्ये नयाँ बनेको हिमताल निकै जोखिमपूर्ण अवस्थामा रहेको वातावरण मन्त्रालयका सचिव डा. ओलीले बताउनुभयो ।  केही वर्ष पहिले च्छो रोल्पा हिमतालले तल्लो तटीय क्षेत्रका बासिन्दालाई निकै ठूलो सन्त्रास फैलाएको थियो ।  त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण हुन नपाउँदै अर्काे ठूलो ताल इम्जा तालको समस्या देखा परेको छ ।  यो तालको पानीको व्यवस्थापन गर्न र उत्पन्न हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्ने काममा सरकारले नेपाली सेनालाई जिम्मा दिएको छ ।
सिमसार विज्ञ टोपबहादुर खत्रीका अनुसार अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको इम्जा हिमतालमा सन् २०१२ मा गरिएको अध्ययनमा चार करोड ६० करोड क्युविक मिलिमिटर पानी थियो भने सन् २०१४ मा आइपुग्दा सात करोड ६० लाख क्युविक मिलिमिटर पानी जम्मा भएको छ ।  उहाँले भन्नुभयो, ‘यो घटनाले हिमाल पग्लने दर कति रहेछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । ’
सिमसार विज्ञ खत्रीले भन्नुभयो, हिमाली क्षेत्रमा पानीको मात्रा कम हुँदा, हिमाल पग्लदै गर्दा सिमसारमा आश्रित उच्च हिमाली क्षेत्रमा पाइने वनस्पति, जीवजन्तुको बासस्थानमा चुनौती थपिँदै गएका छन् ।  यसले दुर्लभ वनस्पति तथा जलचरको अस्तित्व संकटमा पर्ने देखिन्छ ।  उहाँले भन्नुभयो, ‘तराईमा मात्र पाल्न सकिने माछा तापक्रममा भएको वृद्धिले हिजोआज पहाडी क्षेत्रमा समेत पाल्न सकिने अवस्था हुन थालेको छ ।  यही गतिमा तापक्रम वृद्धि हुँदै जाने हो भने उच्च हिमालमा मात्र बासस्थान भएका जलचरको अस्तित्व पनि संकट पर्न सक्ने स्थिति छ । ’
जलवायु परिवर्तनका असरले हिमाली क्षेत्रमा फल्ने स्याउका दाना साना हुने, स्वादिलो नहुने अनि कम फल्ने गरेको पनि पाइएको छ ।  प्रा.डा. चौधरीले भन्नुभयो, ‘स्याउ फुल्ने बेला जुन चिसोपना चाहिने हो, त्यो नभएपछि राम्रोरी फूल फुल्न नपाउने, फल लाग्ने नपाउने र फल लागे पनि ठूलो र स्वादिलो नहुने हुन्छ ।  यो सबै जलवायु परिवर्तनको असर हो । ’ उहाँका अनुसार स्याउजस्तै अन्य अन्न बाली, तरकारी तथा जडिबुटीमा समेत प्रत्यक्ष प्रभाव परिरहेको छ ।  
हिमालको तल्लो क्षेत्रमा हिउँ पग्लदै गर्दा खाली भएको स्थानमा जैविक विविधता पनि नासिँदै गएको छ ।  प्रा.डा. चौधरीका अनुसार हिउँ पग्लदै गएपछि भेडी गोठ समेत माथिमाथि सर्न थालेका छन् ।  जसले गर्दा पातलो हिउँ पर्ने स्थानमा बढी पाइने यार्सागुम्बा लगायतका महत्वपूर्ण हिमाली जडीबुटिको मौज्दात ( स्टक ) घट्दै गएको छ ।  अर्काेतिर तल्लो तटीय क्षेत्र चुरे र तराईका पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको छ ।  
सिमसार विज्ञ खत्री भन्नुहुन्छ, ‘जनघनत्व बढी भएको, भौतिक विकास भएको तराई र पहाडी क्षेत्रमा वातावरणीय वस्तु तथा सेवामा पनि प्रत्यक्ष असर परिरहेको छ । ’ वातावरण मन्त्रालयका सचिव डा. ओलीले स्थानीय तहमा हुने वातावरणीय प्रभावको असरको अध्ययन गरेर जलजायु परिवर्तनबाट बढी प्रभावित भइरहेको १४ जिल्लाको पहिचान गरी स्थानीय जलवायु अनुकूलन कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।  
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन हुनमा नेपालका खासै योगदान नभए पनि असरले हामीलाई पनि च्यापी राखेको छ, यसबाट बच्नका लागि हामीले स्थानीय पराम्परागत ज्ञान, सीप र शैलीलाई समेत अवलम्बन गर्दै अनुकूलन कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ । ’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना