ग्यास सिलिण्डरको जोखिम

narayan shree adhikariनारायणश्री अधिकारी


“लौन ! यो ग्यास त चुहिने पो रहेछ ।  यसमा सिलिन्डरको बीच भागबाट ग्यास चुहिरहेको छ । ” नाकाबन्दीको समयमा ललितपुरका विकास भनिने मोटेले बल्लतल्ल तीन महिना कुरेर एक सिलिन्डर ग्यास पाएका थिए ।  ग्यास पाएको दिन उनी खुसीले फुरुङ पर्दै घर गए ।  भोलिपल्ट बिहान उनी न्याउरो मुख लगाउँदै ग्यास लगेको किराना पसलमा आएर दुखेसो पोख्दै सिलिन्डरको आधा भाग जोडेको ठाउँमा देखाउन थाले ।  जीर्ण र पुरानो देखिने त्यो सिलिन्डरको बीच भागबाट हल्का तरल पदार्थ निस्किएको थियो ।  तत्काल किराना पसलको साहुले मैनले टालेर सिलिन्डर दिई पठाए ।  
त्यस्तै गरी अर्को दिन एकजना गृहिणी आत्तिँदै सोही पसलमा आइन् ।  उनको पनि समस्या त्यस्तै थियो, सिलिन्डरको मुखको सिल खोल्दा ग्यास लिक भएको ।  सिलिन्डरको माथिपट्टिको क्याप झिकेपछि ग्यास बाहिर आउन थालेछ ।  कारण थियो, सिलिन्डरको सीलभित्र रहेको मुखको वासर नहुनु ।  हत्त न पत्त ग्यास बनाउने मिस्त्री बोलाएर वासर हालेपछि सम्भावित दुर्घटना टरेछ ।  
यस्ता घटना हुन्छन् नेपालमा ।  ग्यास व्यवसाय गर्ने व्यक्तिहरू प्रायः जिम्मेवार देखिँदैनन् ।  किनभने त्यसबाट ठूलो फाइदा वा नाफा हुँदैन भन्ने उनीहरूको तर्क छ ।  किराना पसल व्यवसाय गर्नेले ग्यासको कारोबार गर्दा ग्राहकको चहलपहल र अन्य सामानको बिक्री बढ्छ अनि बिस्तारै नाफा कुम्ल्याउन पाइन्छ ।  ग्यास व्यवसाय नै उपभोक्ता ठग्ने हतियार हो, धेरैजसो किराना पसलेहरूको ।  
नेपाल आयल निगमका अनुसार नेपालमा खाना पकाउने इन्धनको रूपमा ग्यास प्रयोग गर्न थालेको करिब ५० वर्ष भयो ।  ग्यास इन्धनलाई सुरक्षामा निकै नै जोखिमको रूपमा लिइन्छ ।  सुरुमा राजधानीलगायत नेपालका मुख्य सहरका बासिन्दा र पहुँचवाला वर्गले यसको उपभोग सुरु गरे ।  हाल सहरका सर्वधारणसँगै प्रशस्त दाउरा पाइने गाउँमा समेत यसको उपभोग गर्छन् किनभने यो सुविधायुक्त छ, बाल्न झन्झट पर्दैन ।  ग्रामीण क्षेत्रमा गोबर ग्यास प्रयोग गर्न धेरै सुविधा छन् तर पनि आममानिसले त्यसबाट फाइदा लिन सकेका छैनन् ।  अर्धज्ञानकै कारण सहरी क्षेत्रमा बाध्यकारी बनेको यो इन्धन बिस्तारै गाउँगाउँमा पनि पसिरहेको छ ।
सहज इन्धनको रूपमा चलनचल्तीमा आएको एलपीजी ग्यासले पछिल्लो समयमा सुरक्षाको संवेदनशीलतालाई चुनौती दिँदै आएको छ ।  जीर्ण बन्दै गरेका सिलिन्डर, ग्यास उत्पादक कम्पनीको लापरबाही र उपभोक्ता ठग्ने परिपाटीले चुनौती थपिदिएको हो ।  वर्षौंसम्म एउटै सिलिन्डरमा ग्यास भर्ने, फोहोर र अवधि नाघेका सिलिन्डरलाई विस्थापित नगर्ने, सिलिन्डर भर्दा त्यसको अवस्थाको अनुगमन नगर्ने, सस्ता र गुणस्तरहीन रेगुलेटरको बिक्री–वितरण गर्ने र यसतर्फ नियमनकारी संस्थाहरू उदासिन हुने हुँदा यस्तो सुरक्षाको प्रश्न उठेको हो ।  यस वर्ष मात्र ग्यास सिलिन्डर विष्फोटनबाट चार जनाको ज्यान गुमिसकेको छ ।  गुणस्तरहीन र सुरक्षा चेकजाँच विना बजारमा पठाइएका सिलिन्डरबाट यस्ता दुर्घटना क्रमशः थपिँदै छन् ।    
वि.सं. २०२७ साल पुसमा नेपाल आयल निगमको स्थापना र सरकारी दर्तापश्चात् २०२८ पछि यसले आफ्नो कार्य प्रारम्भ ग¥यो ।  त्यसको लगत्तै २०२८ सालमा नेपाल ग्यास कम्पनी भित्रियो ।  उद्योगको रूपमा सञ्चालित नेपाल ग्यास कम्पनी नेपालको पहिलो ग्यास इन्धन कम्पनी हो ।  वर्तमान समयसम्म आइपुग्दा ५५ वटा ग्यास कम्पनीले सिलिन्डरमा ग्यास भर्छन् र उपभोक्ता समक्ष पु¥याउँछन् ।  भारतबाट आउने बुलेटको ग्यास सिलिन्डरमा भरेर उपभोक्ता समक्ष पु¥याउने काम ती कम्पनीले गरेका हुन् ।  
करिब १४ देखि १५ के.जी. तौल हुने ग्यासको खाली सिलिन्डर नेपालमा पञ्चकन्या ग्रुपले उत्पादन गर्दै आएको छ ।  नेपालमा बन्ने सिलिन्डर भारतको अमलेखगन्जको कम्पनीसँग आधारित भएर बन्छ ।   नेपालमा ग्यासको सिलिन्डर बनाउने कम्पनीले प्रतिदिन करिब छ सय वटा सिलिन्डर उत्पादन गर्छ ।  
कम्पनीबाट उपभोक्ताकहाँ जानुअघि सिलिन्डरको खाली तौल, त्यसले धान्न सक्ने ग्यासको तौल क्षमता, उत्पादनको पहिचान आदि ख्याल गरिन्छ भनिए पनि पछिल्लो समय नियमन फितलो बन्दा यो प्रक्रिया सुस्त छ ।  त्यसैले बारम्बार दुर्घटना बढिरहेका छन् ।  एक पटक बनिसकेका सिलिन्डरलाई बारम्बार चेकजाँच र मर्मत–सम्भार गर्ने संस्कारको विकास हुन नक्सदा उपभोक्ताले सुरक्षासँग सम्झौता गर्नुपरेको हो ।  सिलिन्डर भद्दा हुँदा, त्यसको पीँधमा फोहोर जमेर बस्दा र खिया परेर पातलो भई प्वाल पर्दासमेत सिलिन्डर परिवर्तन गर्ने र नागरिकलाई सुरक्षा दिने विषयमा सम्बन्धित सजग देखिन्नन् ।
नेपाल ग्यास उपभोक्ता महासङ्घ, नेपाल आयल निगम र सम्बन्धित ग्यास व्यवसाय गर्ने कम्पनीले ग्यास उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गुणस्तरयुक्त सिलिन्डरमा पूरा तौलको ग्यास भरेर बजारमा पठाउने हो भने माथिका कुरा झुठा ठहर्छन् ।  त्यसबाट अन्योल र आशङ्का पनि दूर हुन्छन् ।  अन्यथा सुरक्षा संवेदनशीलता बोकेको ग्यासले धेरै नेपाली जनताको ज्यान जोखिमा पार्नेमा कुनै शङ्का छैन ।  त्यसो त सुरक्षाविनाका सिलिन्डरमा भरिएका ग्यासलाई घरमा राखेका सर्वसाधारणले कुनै बमलाई राखेको भान नगरेका होइनन् ।  एउटा त्यस्तो बम जुन जतिबेला पनि पड्केर आपूm र आफ्नो धनमाल अनि छिमेकीसहितलाई नोक्सान पु¥याउनेछ ।  
एउटा सकारात्मक चाहिँ छ, पछिल्लो समय काठमाडौँ उपत्यकाका केही स्थानमा ग्यासका पाइप र सिलिन्डरमा प्रयोग हुने रेगुलेटर चेकजाँच गर्ने प्रक्रिया सुरु भएका छन् ।  मिटरजडित रेगुलेटर राखे–नराखेको अनुगमन गर्ने काम आयल निगमले पनि सुरु गरेको छ तर यति गरेर मात्र पुग्दैन ।  यसको निरन्तरता र प्रभावकारी कार्यान्वयनले मात्र तपसिलका समस्या समाधान होलान् ।  पछिल्लो समयमा सिलिन्डर परिवर्तन गर्ने विषयमा पनि बहस चल्दैछन् ।  प्लाष्टिक र फाइवरयुक्त सिलिन्डर भिœयाउने चर्चा हुँदैछ ।  सुरक्षाका हिसाबले फलामका सिलिन्डरभन्दा यो सुरक्षित हो भने सम्बन्धित निकायको ध्यान जाओस् ।  यसो भयो भने उपभोक्ता र व्यवसायीबीचको आत्मियता अझ घनीभूत हुनेछ ।  
एक पटक बनिसकेका सिलिन्डरलाई बारम्बार चेकजाँच र मर्मत–सम्भार गर्ने संस्कारको विकास हुन नक्सदा उपभोक्ताले सुरक्षासँग सम्झौता गर्नुपरेको हो ।  सिलिन्डर भद्दा हुँदा, त्यसको पीँधमा फोहोर जमेर बस्दा र खिया परेर पातलो भई प्वाल पर्दासमेत सिलिन्डर परिवर्तन गर्ने र नागरिकलाई सुरक्षा दिने विषयमा सम्बन्धित सजग देखिन्नन् ।    



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना