विषालु जङ्गली च्याउ

laxmi p pangeniलक्ष्मीप्रसाद पंगेनी

 

 च्याउको स्वादको महिमा जिब्रोमा पनि झुण्डिएको पाइन्छ– च्याउ खाओस् न स्वाद पाओस् ! तर स्वादमात्र होइन, विषालु पनि हुन्छ च्याउ ।
प्रत्येक वर्ष वर्षायाम सुरुवातसँगै दुर्गम तथा पहाडी वस्तीमा जङ्गली च्याउको सेवनबाट बिरामी वा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि हुन थालेपछि सरकारले सार्वजनिकरूपमा विभिन्न सञ्चार माध्यमबाट जङ्गली च्याउ सेवन नगर्न सबैलाई अनुरोध गरिरहेको छ ।  स्वास्थ्य सेवा विभाग, इपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले हालै जारी गरेको सार्वजनिक सूचनामा ‘देशका विभिन्न भूभागमा हालैका दिनमा विषालु च्याउको सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भइसकेको र धेरै जना प्रभावित भएको हुनाले जङ्गल, भीर, कान्ला, खोल्सा र बारीमा आफैँ उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकोले जङ्गली च्याउको सेवन नगर्न’ भनिएको छ ।  सूचनामा ‘विगतका वर्षमा पनि यस महाशाखाबाट जङ्गली च्याउको सेवन नगर्न विभिन्न सञ्चार माध्यमबाट सचेतनामूलक सन्देशहरू प्रवाह गरेको तर विषाक्त च्याउको सेवनबाट मृत्यु तथा बिरामी हुनेको सङ्ख्यामा खासै कमी आउन नसकेकोले च्याउ खानै परे व्यवसायिकरूपमा खेती गरी उत्पादन गरिएका च्याउ मात्र सेवन गर्न’ अनुरोध गरिएको छ ।  तथापी जङ्गली च्याउको सेवन घटेको देखिन्न ।
नेपालको महाभारत पर्वत शृङ्खलालगायत तराई र हिमाली क्षेत्रमा च्याउ पाइन्छन् ।  नेपालमा पाइने १२ सय प्रकारको च्याउमध्ये करिव १२ प्रतिशत मात्र खानयोग्य छन् ।  एक सयभन्दा बढी प्रकारका जङ्गली च्याउ विषालु भएको प्रमाणित भइसकेको छ ।  खान हुने र विषालु च्याउ हेर्दा उस्तै हुने हुनाले वर्षौंदेखि जङ्गली च्याउ सेवन गर्नेहरू पनि झुक्किने गरेका छन् ।  विषालु च्याउको वरिपरि हुर्किएका अन्य खान हुने च्याउ पनि विषाक्त हुने गर्दछन् ।  केही जङ्गली च्याउ यति विषाक्त हुन्छन् कि २० ग्रामदेखि ५० ग्राम च्याउ मानिसको पेटमा प¥यो भने पनि मृत्युको कारक हुन सक्छ ।  ऋग्वेद, यजुर्वेदजस्ता पौराणिक ग्रन्थहरूमा पनि च्याउको विषाक्तताको बारेमा उल्लेख भएको पाइन्छ ।  
त्यसो त च्याउलाई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ ।  नेपालमा पाइने च्याउमध्ये करिव ७३ प्रजातिका च्याउमा औषधिको गुण पाइने विज्ञ बताउँछन् ।  
च्याउ अति नै पौष्टिक तìवयुक्त, स्वास्थ्यबद्र्धक र स्वादिलो खाद्यवस्तुका रूपमा लिइन्छ ।  च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिड आदि तìवहरू पाइने वैज्ञानिकहरूले बताएका छन् ।  त्यस्तै भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ ।  बोसो नगन्य मात्रामा पाइने र च्याउमा स्टार्च नपाइने हुनाले च्याउलाई पौष्टिक तìवयुक्त, स्वास्थ्यबद्र्धक खानाको रूपमा लिइएको हो ।
नेपालमा जङ्गली च्याउ खाने प्रचलन पुरानै हो ।  तर समस्या छ च्याउ पहिचानको ।  खान हुने र विषालु च्याउ पहिचान गर्न नसक्दा दर्जनांै मानिसले अकालमा ज्यान गुमाउनु परेको छ ।  यस वर्ष वर्षायाम सुरु भएयता मकवानपुर, पाँचथर, खोटाङ, पर्वत, पाल्पालगायत देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीले अकालमा ज्यान गुमाइसके भने दर्जनौं विभिन्न अस्पतालमा उपचाररत छन् ।  
जङ्गली च्याउ सेवनबाट मुख्यतः तीन कारणले मानिसहरू मरेका वा बिरामी परेका हुन सक्छन् ।  पहिलो विगतका वर्षमा पनि जङ्गली च्याउ खाने गरेकोले खान हुने च्याउ र विषालु च्याउ छुट्याउन सक्ने दक्षता आफूमा भएको ठान्नु जुन दक्षताले यस वर्ष काम गरेन ।  दोस्रो, मानिसमा जङ्गली च्याउहरू प्रायः विषालु हुन्छन् भन्ने शिक्षा र चेतना छैन र तेस्रो, जनमानसमा विषालु च्याउ छुट्याउन सकिने केही मान्यता र विधिहरू छन् जुन पूर्णतया वैज्ञानिक र प्रमाणित होइनन् ।  हालसम्म जङ्गली च्याउ खाएर मृत्यु वा बिरामी पर्नेहरूमा प्रायः दुर्गम तथा पहाडी क्षेत्रका आर्थिकरूपले कमजोर अशिक्षित मानिसहरूको बाहुल्यता रहेको देखिन्छ ।  जङ्गली च्याउहरू प्रायः विषाक्त हुन्छन् र यसको सेवनले मानिसको मृत्यु पनि हुन सक्छ भन्ने सन्देश ती दुर्गम ग्रामीण वस्तीहरूमा पुग्न सकिरहेको छैन, जहाँ गरिबी छ, अन्धविश्वास र रुढिवादी चिन्तनले जकडेको छ, शिक्षाको पहुँच छैन, सडक अनि सञ्चारको सुविधा छैन, त्यस्ता वस्तीहरूका केन्द्रमा रहेका केही सञ्चार माध्यमबाट मात्र जङ्गली च्याउ खान नहुने सूचना प्रवाह गरेर मात्र हँुदैन ।  यो सन्देश हरेक गाउँको कुना कप्चेरामा पुग्नु पर्छ ।  जङ्गली च्याउकै सम्बन्धी सचेतना नभएर हो कि घरमा खाने तरकारी नभएर हो, सोको कारण पहिल्याउन जरुरी छ ।  एक छाक जङ्गली च्याउ नखाएर केही हुँदैन, केही गुम्दैन तर खाएमा परिवार गुम्न सक्छ वा सर्वस्व गुम्न सक्छ ।  घरमा तरकारी नभए नुन खुर्सानी वा गुद्रुकको झोलसँग पनि ढिंडो भात खान सकिन्छ ।  एक छाक तरकारीकै लागि वा स्वादका लागि वा जङ्गली च्याउसम्बन्धी परम्परागत विधि र मान्यताको आधारमा जङ्गली च्याउ कुनै पनि हालतमा सेवन गर्न हुँदैन ।  च्याउ खानै परे वा  खान मन लागे घरमा कृत्रिमरूपमा उत्पादन गरिएका च्याउ मात्र सेवन गर्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना