सार्वजनिक यातायातमा यात्रुको हुर्मत

nagendra raj regmiनगेन्द्रराज रेग्मी




सर्वसाधारण नागरिकको सुविधा र सुलभ आवत–जावतका लागि कुनै पनि राष्ट्रमा सार्वजनिक सवारी साधनको व्यवस्था गरिएको हुन्छ ।  यसबाट राज्यका सामान्य नागरिक बढी लाभान्वित भइरहेका हुन्छन् ।  अझ ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएकालाई विशेष महìव दिएर सिट आरक्षण समेत गर्ने गरिन्छ ।  विगत केही समय यतादेखि आएर नेपालको राजधानी उपत्यकाभित्र चल्ने सवारी साधनमा पनि यो नियम लागू गरेर सरकारले जस नलिएको होइन ।  यद्यपि यो नियम कति लागू र कार्यान्वयन भइरहेको छ त्यो भने आफ्नै ठाउँमा छ ।
विगतको भारतीय नाकाबन्दीका समयमा पेट्रोलियम पदार्थको अभावको कारण सवारी साधनको न्यून सञ्चालनको अवस्थामा यात्रुले देखाएको सहनशीलता, लिफ्ट लिने र दिने तथा पैदल यात्रा गर्ने बानीको विकासले राम्रै सराहना पाएको थियो ।  त्यसबाहेक बसको छत र ढोकामा झुण्डिँदै अत्यन्त कष्टकर र जोखिमपूर्ण यात्रा गरेर भए पनि नेपालीले स्वाभिमानी शिर ननिहु¥याएको सन्दर्भ सुखद र प्रशंसालायक दृष्टान्त सुन्नमा आइरहन्छ ।  तर नाकाबन्दी अन्त्य भइसकेको यतिका दिन बितिसक्दा समेत यो अवस्थामा खासै सुधार नदेखिनु दुःखद पक्ष हो ।  अझ कतिले त सरकारले नै तेलको कालोबजारीलाई प्रश्रय दिइरहेको आरोप लगाइरहेका छन् ।  अझै पनि पेट्रोल लिन बसेका गाडीका लाम देख्दा सर्वसाधारण जनतामा यो आशंंका पैदा हुनु अस्वाभाविक जस्तो पनि लाग्दैन ।
सबै नागरिकका निजी सवारीसाधनहरू हुँदैनन् ।  निश्चित गन्तव्यसम्म पुग्न सार्वजनिक सवारी साधनको प्रयोग गर्नैपर्छ ।  अझ दैनिक आवात–जावत गरिरहनु पर्ने कर्मचारी, शिक्षक तथा विद्यार्थीहरू यस मारबाट बढी पीडित र प्रताडित बनिरहेका छन् ।  परीक्षा दिन हिँडेको विद्यार्थी घण्टौं बसको प्रतीक्षालयमा कुरेर पनि चढ्न पाउँदैन ।  उसलाई परीक्षाको भन्दा बसको चिन्ताले बढी पिरोल्छ ।  यस स्थितिमा उसले कस्तो परीक्षा दिएर फर्कला ? काठमाडौंको पुस, माघको ठिहीमा छतमा चढेर यात्रा गर्दाको पीडा कसले बुझ्ने ? ढोकामा चढाएर यात्रा गराउँदा ज्यानै गुमाउने विद्यार्थीको के दोष थियो ? अझ कति यात्रुको अङ्गभङ्ग नै भएको छ ।  यसकोपीडाबोध उनका अभिभावक र आफन्तजनले मात्र गर्ने कि सम्बन्धित निकायले पनि चासो र चिन्ता लिने ? त्यसको कारक के हो र को  हो ? कसैले यसको नैतिक दायित्व लिनु पर्दैन ? यसको घाउमा कसैले मलमपट्टी लगाउनु पर्दैन ? किन नून चूक मात्र छर्कने काम भएको छ ? उत्तर कहिल्यै कसैबाट आएको छैन ।
राजधानीभित्र चल्ने सवारीसाधनमा खुट्टासम्म राख्ने ठाउँ पाइँदैन, यदि त्यो अवसर पाइयो भने त्यो ठूलै भाग्यमानी सम्झनु पर्ने स्थिति छ ।  बसभित्र नै पसेर उभिन पायो भने त उसले चिठ्ठा नै परेको सम्झन्छ आफूलाई ।  कथंकदाचित सिट नै भेट्टायो भने त मानौँ उसले इन्द्रको आसन नै पायो ।  ए दाइ ! ए दिदी ! भित्र जाऔं, भित्र जाऔं, अलि पर अलि पर...भन्नु भन्दा बसका सहयोगी (खलाँसी) को अर्काे वाक्य नै हुन छाडेको छ ।  अझ कहिले दायाँ फर्की, कहिले बाँया फर्की, खुट्टा उता भनेर यात्रुलाई हकारेको दृश्य सामान्य नै हुन्छ ।  मानौँ त्यहाँ सेनाले कवज खेलाइरहेको होस् ।  त्यहाँ कुनै यात्रुले आनाकानी ग¥यो भने त्यसो भए ओर्ली, कारमा चढ्नु, हरियो बस आउँदैछ लगायतका दुर्वाच्य र अश्लील वाक्यले सबैको शिर निहुरिन पुग्छ ।  कुनै स्वाभिमानी यात्रुले त्यसको प्रतिकार गर्न खोजे चालकबाटसमेत उसको हुलिया नै बिगारिदिने धम्की आउँछ ।  तर त्यहाँ त्यस व्यक्तिको पक्षमा बोलिदिने त्यत्रा यात्रुमध्ये कोही पाइँदैनन् ।  मौन र मूक बन्नु मात्र होइन, चालक र खलासीकै समर्थन हुने गरी प्रतिक्रिया जनाउनु नै हामी श्रेयष्कर सम्झन्छौं ।  सायद त्यसैले उनीहरूको हौसला अझ बढ्दै यात्रुमाथि अत्याचारको सीमा नाघ्न पुगेको हो कि !
बसका सहचालक, कन्डक्टर वा स्टाफले जति बढी यात्रुलाई दुव्र्यवहार गर्न सक्यो, त्यति नै बढी उसको क्षमता र योग्यता देखिन्छ ।  त्यस्ता व्यक्तिलाई खोजेर छानीछानी अर्काे बसमा पदोन्नति समेत गरिन्छ वा पारिश्रमिक समेत बढाइन्छ रे ।  कार्यदक्षताको यो कस्तो मूल्याङ्कन परिपाटी वा नियम हो ? कुनै पनि सभ्य, शिष्ट र स्वाभिमानी व्यक्तिले आफ्नो स्वाभिमान र स्वत्व गुमाउनु छ भने अहिले राजधानीका सवारी साधन चढे पुग्छ ।  यात्रुको हुर्मत लिने ठूलो ठाउँ नै भएको छ अहिले राजधानीका सार्वजनिक सवारी साधन ।  राजधानीजस्तो स्थानमा त यो स्थिति छ भने बाहिरको के हालत होला ? यो कस्तो विडम्बना !
महिला, युवती र बालबालिकाको पीडा त अझ कहालीलाग्दो नै देखिन्छ ।  उनीहरूमाथि यही मौका छोपेर गरिने यौन दुव्र्यवहार अझ टीठलाग्दो छ ।  धक्का, मुक्का लाग्ने भए, जीउ नछुवाइकन यात्रा गर्ने भए आफ्नो निजी कार चढ्नोस्, कि त ट्याक्सी लिनुहोस् भन्ने जस्ता अपशब्द र संवेदनाहीन दुर्वाच्यले कसलाई दुखित तुल्याउँदैन ? के हामी सबैका आमा, दिदी, बहिनी, श्रीमती र छोरीहरू छैनन् त्यहाँ ? के यो हामी सबैलाई भनिएको होइन ? कहिलेसम्म यस्ता भनाइलाई पचाइ–पचाइ यात्रा गरिरहनु पर्ने हो ? सरकार समेत मूक र मौन छ ।  आफ्नै सवारी साधन हुने व्यक्तिलाई यो थाहा नहुनु स्वाभाविक पनि हो ।  किनभने जतिसुकै बढी मूल्य परोस् खासै उनीहरूलाई असर नपर्न सक्छ ।  कालोबजारीको पेट्रोल लियो गाडीमा हुइँकियो, तर अधिकांश व्यक्तिको यो हैसियत अर्थात् सामथ्र्य हुँदैन ।  त्यसैले यस्ता घटनाहरूप्रति जिम्मेवार निकायका पदाधिकारीले बुझ्न सकेका महसुस भएको छैन ।  यो स्थिति पाकेटमाराका लागि फेरि अर्काे उर्वर भूमि पाउनु पनि हो ।  मानौ पाकेटमाराको लागि दशैँ नै आएको होस् ।  विचरा सर्वसाधारण नागरिकलाई भने सबैतिरबाट यसरी प्रताडित हुनु सिवाय विकल्प देखिँँदैन ।  यात्रुहरू निरीह र मूक बनी यात्रा गरिरहेका छन् ।  बोल्नु पर्ने निकायहरू मौन छन्, निगरानी राख्नु पर्ने निकायहरू सुविधा सम्पन्न सवारी साधनमा सवार छन् ।  थिति बाध्नुपर्ने व्यक्तिहरू नै बेथितिमा रमाइरहेका छन् भने सरकार नामको चिज नै किन चाहियो र ?
यहाँ केवल बसमा हुने व्यथितिका बारेमा चर्चा गर्दा बस स्टाफको निन्दा वा कमजोरी देखाएर मात्र हामी कोही पनि पन्छिन सक्दैनौं ।  यस परिस्थितिको निर्माण गर्ने सामाजिक परिपाटीहरू नै सबभन्दा बढी जिम्मेवार पक्ष हुन् ।  जनतालाई जागरुक गराएर सचेतना अभिवृद्धि गर्नेतर्फ हामी सबैको ध्यान जान सकेमा यस्ता कमी कमजोरीलाई केही हदसम्म भए पनि कम गर्न सकिन्थ्यो होला ।  अतः यसतर्फ सरकारको मात्र नभएर जनताको पनि उत्तिकै जवाफदेही र जिम्मेवारी आवश्यक छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना