चुनौतीमै हराइरहेको मोफसल पत्रकारिता

 shiva gyawaliशिवशरण ज्ञवाली


स्थानीय स्तरमा सूचनाको भोक मेटाउने स्थानीय सञ्चार माध्यमले ‘राष्ट्रिय समाचार’ को रिले प्रकाशन प्रसारणबाट विश्वास आर्जन गर्छन् ।  स्थानीय समाचारलाई रोचक, आकर्षक, पठनीय, दर्शनीय र श्रवणीय रूपमा सम्प्रेषण गर्ने सफलता मोफसलमा प्राप्त छैन ।  सञ्चार माध्यम धेरै नै छन् तर तिनको हिडाइमा गति, नवीनता, परिवर्तनको मुहार, प्रतिस्पर्धाको दौड छैन बरु सबैमा एकै खालका सामग्रीको वर्चस्व छ ।  चल्नकै लागि चलिरहेको छ, मोफसल पत्रकारिता !
पहिलो चुनौती अर्थकै ः कङ्गाल भएपछि चण्डाल हुन बाध्य छ, पत्रकारिता ।  त्यसकारण आवाज हुनेहरूकै दबदबा छ, आवाजविहीन कता छन् कता ।  यो पेसा व्यक्तिगत कमाइ हुने पेसामा चिनिएको छ तर संस्थागत रूपमा गरिब नै छ ।  बार्गेनिङको चर्चाले पत्रकारिताको गरिमामाथि कालो ग्रहण लगाइदिएको छ ।  प्रशासनिक तथा व्यापारिक नेतृत्व र पत्रकारिताको हिमचिम अस्वाभाविक नै लाग्छ ।  जुनसुकै कार्यक्रममा जाऊँ, त्यहाँ पत्रकारका लागि विशेष आसन छुट्टयाइएको हुन्छ ।  व्यापारी, नेता वा हाकिम पत्रकारितालाई महŒव दिई स्थान दिइरहेका हुन्छन्, चाहे सम्बोधनमा होस् चाहे आसन ग्रहणमा होस् ।  पत्रकारिताको आचारसंहिता अब यतातिर पनि लक्षित हुन जरुरी छ ।  पत्रकारहरूले हामी आसन ग्रहण गर्दैनौँ, हामीलाई सम्बोधन गर्नु जरुरी छैन पनि भन्दैनन् ।  पत्रकार स्वयं आफ्नो पेसा गरिरहेको हुन्छ, समाचार नपु¥याइदेऊ भने पनि उसले पु¥याउनैपर्छ भन्ने कुरा बुझेकै छन् तर वास्तविक समाचार नलेखिदिऊन् भन्ने आग्रहले यो भएको हुनुपर्छ ।  
सञ्चालकहरू पत्रकारितालाई माध्यम बनाएर गलत द्वारबाट हुने पत्रकारहरूको व्यक्तिगत कमाइप्रति आँखा चिम्लिदिन्छन् किनकि उनीहरूलाई आफ्नो सञ्चार माध्यममा टिकाइराख्नुपर्ने बाध्यता छ ।  तसर्थ सानोतिनो आम्दानी बाहिरबाट भयो भने त्यसलाई अनौठो ठान्दैनन् ।  व्यक्ति मोटाएका प्रसङ्ग आउँछन् तर सञ्चार माध्यमको हविगत सदा उस्तै अझ कमजोर बन्दै गएको देखिन्छ ।  भनिन्छ, पत्रकारिता एउटाबाट पैसा लिने सेवा अर्कोलाई दिने व्यवसाय हो ! पत्रपत्रिका मात्रै बिक्री हुन्छन्, रेडियो टेलिभिजन त श्रव्य तथा श्रव्यदृश्य माध्यम हुन् ।  पत्रपत्रिकाको बिक्रीबाट पनि सेवाको सानो अंश प्राप्त हुने हो, जुन नगन्य नै छ ।  ६० प्रतिशत त विज्ञापनबाट नै हो ।  मुनाफा पनि विज्ञापनबाट नै लिने हो तर सेवा चाहिँ पाठक, श्रोता र दर्शकलाई दिने हो ।  यसले पत्रकारितालाई अन्य पेसाबाट बिल्कुल फरक तुल्याउँछ ।  विकासका गतिहरू अपेक्षित गतिमा अगाडि नबढ्दा भित्रभित्रै भुसको आगोझैँ जनआक्रोश चुलिँदो छ, कहाँ, कतिखेर, कसरी फुट्ने हो ? त्यो अहिल्यै भन्न सकिन्न ।  त्यस्तो आक्रोश पत्रकारितामा प्रतिविम्बित हुने हो भने सहजै निकास निस्कन्थ्यो होला ।  विकासको गति कमजोर बनेको फल पत्रकारिताले पनि भोग्दै छ ।  शुभकामना र समवेदनाका पाँच सय दरका विज्ञापनले कतिन्जेल चल्ने व्यवसाय ? अनि व्यावसायिकताको कुरा छाडेर ‘यनकेन’ जीविका निर्वाह गर्दै छ पत्रकारिता ।
पत्रकारिता रहरमै चलेको छ ः सञ्चालकहरू आफूलाई प्रकाशन व्यवस्थापकका रूपमा चिनाउन चाहँदैनन्, प्रधान सम्पादक, सम्पादकका रूपमा चिनाउने रहर गर्छन् ।  अनि कोही कसैलाई रहरको सनक चल्छ र सञ्चार माध्यम दर्ता हुन्छन् ।  दर्ता भएका सञ्चार माध्यम फाइलमा थन्किन लामो समय कुर्नु पर्दैन ।  पत्रकारितामा अझै पनि योग्यताको मापदण्ड लागू हुनसकेको छैन ।  प्रमाणपत्रको आवश्यकता छैन, हप्तादिन जति तालिम लियो भने पत्रकारितामा प्रवेश गर्न पाइन्छ तर हप्ते तालिमबाट श्रमजीवीहरूको शोषण भएको छ ।  सञ्चालकले रहर गर्छ, उसको पेसा व्यवसाय व्यापार, राजनीति, शिक्षण आदि हुन्छ तर अत्यन्त न्यून ज्यालामा श्रमजीवीहरूलाई काम गराउँछ ।  त्यसकारण जिल्लातिरको पत्रकारिता औपचारिक समाचारमा सीमित छ ।  खोज तथा अनुसन्धान समाचार कुन चराको नाउँ हो, विरलै चर्चा हुनेगर्छ ।  
पत्रकारितामा रहर मात्रै छैन ः यसमा ‘व्यक्तित्व निर्माण’ को खोजी छ ।  राजनीतिक, शैक्षिक, सामाजिक हैसियत सजिलै उठाउने माध्यम पत्रकारिता हो भन्ने मानसिकता छ, मोफसलमा ।  आफ्ना सञ्चार माध्यमलाई मालिकहरू सोही बमोजिम उपयोग गर्छन् ।  यो पेसा राजनीतिक जीवनको सजिलो हतियार बनेको छ ।  विना सङ्घर्ष सफलता सम्भव छैन भन्ने कुरालाई पत्रकारिताका माध्यमबाट चुनौती दिन खोजिएको छ ।  प्रिन्टलाइनमा नाम हुने प्रधान सम्पादक विशेषतः पत्रिकाका सञ्चालक नै हुन् ।  यिनीहरू आफूलाई सञ्चालक भन्नुभन्दा प्रधान सम्पादक, सम्पादक भन्नुमा आफ्नो व्यक्तित्व जुरुक्कै माथि पुगेको विश्वास गर्छन् ।  वास्तविक सम्पादकहरू कार्यकारी सम्पादक, भाषा सम्पादक, संवाददाता आदिआदिमा खुम्चिएका छन् ।  प्रधान सम्पादकको प्रयोग कुन अवस्थामा गर्ने भन्ने विषयमा सम्भवतः धेरैलाई थाहै छैन ।  बडो दुःख र मिहिनेतका साथ केही पत्रकारले आफ्नो दक्षता अभिवृद्धि गरिरहेका छन् तर धेरैको अवस्था भने सन्तोषजनक छैन ।  धैर्यको अभावै छ ।  यसो हुनुको कारण एउटै व्यक्ति संवाददाता, सम्पादक, समाचार सम्पादक आदि बन्नुपर्ने बाध्यताले हो ।  प्रिन्टलाइनमा नाम हुनेहरूको व्यवसाय अर्कै छ, उनीहरू एउटा समाचार पनि लेख्दैनन् ।  भाषण, गफगाफ वा आफ्नै अन्य व्यवसायमा उनीहरू भुलिरहेका हुन्छन् ।  श्रमजीवीलाई दक्षता अभिवृद्धिका लागि अवसरै छैन भने हुन्छ ।  
अझै पनि पत्रकारितामा योग्यता प्रणाली लागू छैन ।  योग्यताको मापदण्ड नहुँदा एकातिर योग्यहरू यस पेसाप्रति आकर्षित हुनसकेका छैनन् भने अर्कोतिर कलम तिखारिएको छैन ।  प्रवृत्ति होइन व्यक्ति लक्षित छ ।  मानवीय कमजोरी कुरेर बसेको छ ।  गैरपत्रकारिता पनि रोक्नै नसक्ने अवस्थामा पुगेको छ ।  पछिल्लो समय त जनशक्तिको पलायनले चुनौती खडा गरिरहेको छ ।  पत्रकारिताप्रति आकर्षण बढ्दो होइन, घट्दो छ ।
सञ्चार माध्यमलाई आफ्नै आँखाको नजरभित्रै राख्न चाहने प्रशासनिक नेतृत्वको पत्रकारिताप्रति सकारात्मक सोच छैन ।  फ्रिज भएको पैसाले बरु ‘असारे विकास’ गर्ने तर पत्रकारिताका लागि पाँच सयभन्दा बढीको विज्ञापन छुट्टयाउन नसक्नुले यही कुरा बताउँछ ।  ‘असारे विकास’ भित्रको कुरा पत्रकारिता स्वयंले नउठाउनु अर्को विडम्बना हो ।  व्यक्तिगत ‘लबिङ’ ले पत्रकारिता अन्धो बनाइएको छ ।  पाँच सय रुपियाँको विज्ञापन उठाउन पनि सम्पादक आफै अगाडि लाग्नुपर्छ र कार्यालयका हाकिमलाई मुसार्नुपर्छ ।  भरपर्दो संयन्त्र खडा गरेर जिल्ला तथा स्थानीयस्तरमा पत्रकारिताको विकासका लागि अलिकति पैसा छुट्टयाउन प्रशासनिक नेतृत्व तयार छैन ।  
साहित्यिक तथा गैरसाहित्यिक स्तम्भ लेखन निःशुल्क चल्छ ।  थोरै पनि पारिश्रमिक सञ्चार माध्यम भुक्तान गर्न सक्दैनन् ।  त्यसकारण स्तम्भ लेखक भेट्टाउन बडो मुस्किल छ ।  प्रोत्साहन र प्रतिस्पर्धा नभए पछि लेखन पनि त्यत्तिकै हराउँदो रहेछ ।  यसले मोफसलको साहित्यिक शैक्षिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ ।  कोठे पत्रकारिता तथा उद्धरण पत्रकारिता पनि चुनौतीका रूपमा देखिएको छ ।  अखबार ढाँचा समेत मिचिएको पाइन्छ ।  
अवसर सीमित ः देश विदेशको सञ्चार माध्यमको प्रतिनिधिको रूपमा काम गर्ने वातावरण तयार भएको छ ।  पत्रकारिता सिर्जनाको प्राज्ञिक पेसा हो ।  मानिसहरूको यसप्रतिको रहरले यसको प्राज्ञिकता र गरिमालाई बुझाउँछ ।  हतारिएको साहित्य पनि भनिने यो सजिलो पेसा चाहिँ होइन ।  पत्रकारिता गर्नेहरूमा म मेरो पेसा व्यवसाय गर्दैछु भन्ने भावनाको विकास हुनु जरुरी छ न कि म अरूभन्दा भिन्न हुँ भन्ने अहम् भाव ।  पत्रकारमा म अरूभन्दा भिन्न हुँ भन्ने केन्द्रदेखिकै अघोषित अहम् भाव हो ।  यसले पत्रकारितालाई जनतासँग जोड्न अवरोध खडा गरेको छ ।  तथापि देशमै ठूलो उद्योगकै रूपमा पत्रकारिता स्थापित हुँदैछ ।  गाउँगाउँमा समेत सञ्चार माध्यम सञ्चालित छन् ।  माध्यमिक तहमा ऐच्छिक विषयको रूपमा ‘पत्रकारिता’ को प्रवेश भएको छ, ज्ञान, सीप, व्यावहरिक विषय भएकाले यसलाई अनिवार्य बनाएर लैजाँदा पत्रकारिता विकास टेवा पुग्ने देखिन्छ ।  पत्रकारितालाई देश तथा समाजको ‘वाचडग’ वा ‘चौथो अङ्ग’ पनि भनिन्छ ।  यो संवैधानिक कानुनी रूपमा भन्दा पनि स्वतस्फूर्त रूपमा प्राप्त उपाधि हो ।  पत्रकारिताको ऐनामा समाजको सभ्यता, शिक्षा, चेतना आदि हेरिन्छ ।  त्यसकारण पत्रकारिताको विकाससँग समाजको सबैखाले विकासले गति लिएको हुन्छ ।  
नियम कानुनमा पनि जटिलता ः ससाना सहरका सञ्चार माध्यमलाई न्यूनतम पारिश्रमिक दिन पुग्ने गरी राज्यले विज्ञापन उपलब्ध गराउँदैन तर पत्रकारिताको मापदण्ड भने निर्धारण गर्छ ।  साप्ताहिक अखबार छ पृष्ठको हुनुपर्ने बाध्यात्मक नियम यसकै उदाहरण हो ।  चारै पृष्ठमा गुणस्तरीय समाचार साप्ताहिक अखबार किन पस्कन
नसक्ने ? राष्ट्रिय पत्रकारिता दिवस मनाउने कार्यको सुरुवातसँगै देशको समान विकास, भौगोलिक, शैक्षिक, आर्थिक लगायतका विभेदलाई कम गर्न, दिगो चेतना अभिवृद्धि गर्न, सही जनमत निर्माण गरेर देश विकास गर्न राज्यबाटै ‘पत्रकारिता स्कुल’ को उचित विकासको वातावरण तयार हुनुपर्ने देखिन्छ ।  त्यसो नहुँदासम्म मोफसलको पत्रकारितामा अवसरभन्दा चुनौती बढी नै हुनेछन्  ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना