नेपालका विभूति आदिकवि भानुभक्त

Dirgh raj prasaiदीर्घराज प्रसाई


वि.सं. १८७१ असार २९ गते (२०२ वर्षअघि) तनहुँको रम्घामा जन्मनुभएका आदिकवि भानुभक्त आचार्यको नाम नेपालको राष्ट्रिय एकतासँग आबद्ध छ ।  भाषिक हिसाबले मात्र होइन विश्वभरमा छरिएर रहेका नेपालीका लागि उनी एकताका पे्ररणा हुन् ।  संस्कृतमा रहेको रामायणलाई भानुभक्तले नेपाली भाषामा अनुवाद गरेपछि नेपाली भाषा सबै जातका नेपालीका लागि साझा भाषामा रूपान्तर हुन सजिलो भएकाले नेपालमा भानुभक्तको नाम नेपालको राष्ट्रिय एकतासँग आबद्ध भएको हो ।  
मोतीराम भट्टले भानुभक्त बारेमा लेखेका थिए– ‘धेरै नामका कवि भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।  बाल्मीकिले नेपालको चितवन जिल्लाको दक्षिणतर्फ नारायण नदीको किनारमा आश्रम कायम गरेका थिए ।  त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले आश्रय लिएकी थिइन् ।  त्यही नै लवकुशको जन्म भएको थियो ।  ‘मानिसाद प्रतिष्ठात्गमय शास्वस्ती समा, यादकौंच मिथुनादेकः ममधि काम मोहितम् । ’ यो संस्कृत साहित्यको पहिलो कविता हो ।  बाल्मीकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक व्याधाले चलिरहेका एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृश्यबाट बिष्फोटित बनेर करुणरसमय श्लोक बाल्मीकिमा प्रस्फुटित हुन गयो र त्यही श्लोक प्रस्फुटित भएपछि बाल्मीकिले रामायण लेखे ।  बाल्मीकि ऋषि बने ।  बाल्मीकिले रामायणका केही भाग भक्तपुरको हनुमानघाटमा बसेर लेखेका थिए भन्ने प्रमाण पनि धेरै जुटेका छन् ।  भक्तपुरको हनुमानघाट सानो छ, राम, सीता, लक्ष्मणको अखण्ड दीप प्रज्वलित हनुमानघाट एउटा पवित्र धाम नै हो ।  यसको चियोचर्चा नभएकाले हनुमानघाट जस्तो पौराणिक स्थल अपरिचित हुन पुगेको हो ।  केही वर्षअघि मात्र हनुमानघाट अध्ययन–भ्रमणको मौका मिल्यो तर २०३७ सालमा बाल्मीकि आश्रमको अध्ययन भ्रमण गर्दा मलाई अत्यन्त गौरव महसुस भयो ।  यी दुवै स्थल बाल्मीकिका कर्म क्षेत्र हुन् ।  आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रिय धामको रूपमा सरकारले विकास गरेर विश्वव्यापी बनाउनुपर्छ ।  बाल्मीकि आश्रम र हनुमानघाटलाई अन्तर्राष्ट्रियकरण गर्न सकियो भने नेपालको ठूलो प्रतिष्ठा कायम हुन्छ ।  
रामायणलाई नेपालीभूमिमा रहेर संस्कृत र नेपाली भाषामा यी दुई महारथि– बाल्मीकि र भानुभक्तले लेखेर नेपालको प्रतिष्ठा बढेकोमा नेपालीहरू गैरवान्वित हुन पाएका छौँ ।  
‘चपला अवलाहरू एक सुरमा, गुनकेसरिको फूल ली शिरमा ।  रिस राग कपट् छल छैन जाहाँ, तव धर्म कति छ कति छ याहाँ ।  पशुका पति छन् रखवारि गरी, शिवकी पुरी कान्तिपुरी नगरी । ’ कान्तिपुर देखेर भानुभक्तले मोहित भएर लेखेको कविता हो यो ।  भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन् ।  
भानुभक्तले दुर्गा कवच, रुद्री, अमरकोष, लघुकौमुदीको राम्रो अध्ययन गरेका थिए ।  उनलाई विद्याउपार्जन गराउन उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएका ग्रन्थहरू भानुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले बाल्मीकि रामायण अध्ययन गर्नमा उनलाई सजिलो हुन गयो ।  अध्ययन नगरी कोही पनि स्रष्टा बन्न सक्दैन ।  उनको मिहिनेतको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो ।  भानुभक्तले नेपाली भाषामा रामगीता, बधु शिक्षा जस्ता कैयौँ काव्यको रचना गरेर नेपाली समाजलाई सिर्जनात्मक बाटो देखाएका थिए ।  
भानुभक्त सम्झँदा मोतीराम भट्टको नाम पनि सँगै आउँछ ।  भानुभक्तका कीर्तिलाई व्यापक प्रचार गर्नमा उनको ठूलो देन छ ।  भानुभक्त कवितात्मक सिर्जनाका धनी थिए ।  भानुभक्तलाई कसैले ‘तपाईं को हो भनेर सोध्दा भानुभक्तले कविताबाटै जवाफ दिएका थिए– ‘पहाडको अति बेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया ।  खुप् उच्चा कुल आर्यवंशी हुन गै सत्कर्ममा मन्दिया । । विद्यामा पनि जो धुन्धर भई शिक्षा मलाई दिया ।  इन्को नाति म भानुभक्त भनि हुँ यो जानी चिन्ही लिया । ।’ यसबाट थाहा हुन्छ भानुभक्त एक सहज कवि थिए ।  
भानुभक्तको सम्मानार्थ प्रवासी नेपालीहरूले दार्जिलिङको चौरास्तामा भानुभक्तको शालिक सम्मानका साथ राखेका थिए ।  गोर्खाल्यान्ड आन्दोलनको बेला केही विरोधी उछृङ्खल तŒवले भानुभक्तको शालिक ढालेका थिए ।  केही वर्षपछि दार्जिलिङको चौरास्तामा नै भानुभक्तको पूर्णकदको शालिक निर्माण भयो ।  सिक्किमी नेपाली भाषीहरूको एकताका लागि सिक्किममा ५० फुट अग्लो भानुभक्तको शालिक बनाउने घोषणा गरिएको छ ।  यसले नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाको रूपमा सम्मानित हुन थप योगदान पुगेको छ ।  
नेपाली भाषा सबै भाषाभाषीका बीच सम्पर्क कायम गर्न सजिलो र लोकप्रिय हुनसकेकाले राष्ट्रभाषाको रूपमा सबै जातका नेपालीको प्रतिष्ठा र पहिचानको स्रोत बनिरहेको छ ।  भानुभक्त रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपालका जातीय तथा स्थानीय भाषाभाषीका पनि प्रिय बन्न सके ।  विशाल नेपालको एकीकरण हुनुभन्दा धेरै वर्ष अगाडिदेखि नेपाली भाषा पूर्वमा ब्रह्मपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो ।  वि.सं. १३८२ सम्ममा किराँत क्षेत्रमा पनि नेपाली भाषाको चल्ती थियो भन्ने सङ्केत सिमरौनगढका राजा हरिसिंह देवका पण्डितज्योतिरीश्वरको मैथिली कृति ‘वर्णरत्नाकर’ बाट जाहेर हुन्छ भन्ने भाषाविद् बालकृष्ण पोखरेलले लेख्नुभएको छ ।  त्यस्तै भानुभक्त पोखरेल लेख्नुहुन्छ– ‘नेपाल एकीकरण हुनुभन्दा पाँच–सात सय वर्ष अघिदेखि नै यस भूभागका राजा–रजौटाहरूले परम्परा पत्राचार, सन्धि सम्झौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपाली नै थियो ।  नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबीसे, लिम्बुवान्, खम्बुहाङ आदिका अपुङ्गी टुक्रे राजासित व्यवहार गर्ने भाषा पनि नेपाली नै थियो । ’ पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रताप मल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रशस्त अभिलेख पाइन्छन् ।  जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्लले पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाण छन् ।  त्यही भाषालाई भानुभक्तले अरू जीवन्त बनाए ।  
नेपाली भाषा हिमवत्खण्डका राज्यमा प्रचलित भइरहेको अवस्थामा भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेपछि यो भाषा अन्तरजातीय सम्पर्क भाषाको रूपमा झन् झन् लोकप्रिय हुनगयो ।  भारतका आसाम, मणिपुर, दार्जिलिङ, उत्तराञ्चलको देहरादून, अलमोडा लगायत भारतका अनेकौँ ठाउँमा रहेका नेपालीहरूको प्रिय भाषाको रूपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरहको मान्यता दिएर नेपाली भाषालाई अन्तर्राष्ट्रिय मान्यता गरेको छ ।  
नेपाल विभिन्न जाति, भेषभूषा, भाषभाषीहरूको थलो हो ।  यहाँ १२४ भाषा छन् ।  तीमध्ये ४०–५० भाषा विकसित अवस्थामा छन् ।  मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, राजवंशी, लिम्बु, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छन् ।  भाषाको हिसाबले नेपाल धेरै धनी छ ।  यति धेरै भाषाभाषीको एकताको डोरी नेपाली भाषा बनेको छ ।  
भानुका कवितात्मक भावना प्राकृतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका हुन्थे ।  लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ जस्ता स्रष्टाका प्रेरक भानुभक्त नै हुन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना