नेतृत्वमा काँग्रेसको पनि दाबी

शरदराज सुवेदी

काठमाडौँ, असार २९ गते।  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ ।  यसका लागि ठोस निर्णय गर्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबारका लागि बोलाइएको काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले  बताउनुभयो ।  
‘सरकारबाट माओवादीको बहिर्गमनपछि वर्तमान सरकार संसद्मा अल्पमतमा परेको छ’, नेता केसीले भन्नुभयो, ‘यस अवस्थामा काँग्रेस र माओवादीकै बीचमा सहमति भएर नयाँ सरकार बन्ने हो । ’ उहाँले बहुमतमा रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको उल्लेख गर्दै यस अवस्थामा सबैभन्दा ठूलो दल काँग्रेसले सरकारको नेतृत्व गर्नु स्वाभाविक हुने बताउनुभयो ।  
काँग्रेस ठूलो दल हो, नेतृत्वको दाबी स्वभाविक रूपमा गर्छ तर अहिलेको वस्तुस्थितिलाई हेरेर हामी वैकल्पिक नेतृत्व पनि स्वीकार गर्न सक्छौँ, नेता केसीले भन्नुभयो ।  उहाँले बुधबार बस्ने केन्द्रीय समितिको बैठकले यस विषयमा ठोस निर्णय गर्ने जानकारी दिनुभयो । nc 
अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्नकै लागि एमालेसँगको सहमति तोड्नुभएको दाबी गर्दै उहाँलाई कुनै पनि हालतमा काँग्रेसले धोका दिन नहुने बताउनुभयो ।  उहाँले एमाले प्रतिपक्षमा रहँदा स्वाभाविक रूपमा संविधानको कार्यान्वयन हुने र मधेस आन्दोलनको पनि विसर्जन हुने दाबी गर्नुभयो ।  यो, देशका लागि निकास दिने अवस्था हो भन्ने काँग्रेसको ठम्याइ छ, नेता बडुले भन्नुभयो ।  
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीले यस विषयमा लिखित निर्णय नगरे पनि काँग्रेसले भने लिखित रूपमै माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जान तयार रहेको जानकारी गराएको बताउनुभयो ।  ‘पहिलो चरणमा हाम्रो नेतृत्व, दोस्रो चरणमा काँग्रेसको नेतृत्व नै भन्ने हाम्रो सहमति हो’, उहाँले भन्नुभयो ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना