‘परिस्थितिको सामना गर्छौं’

भउचप्रसाद यादव

काठमाडौँ, असार २९ गते ।  वर्तमान सरकारबाट नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ दलहरूको बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको मिलेर सामना गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले सतारुढ दलको गठबन्धनमा बस्ने तर गठबन्धनकै विरुद्ध राजनीति गर्नु माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घोर अराजनीतिक चरित्र रहेको धारणा सहभागी नेताहरूले व्यक्त गर्नुभएको जानकारी सरकारका उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सीपी मैनालीले दिनुभयो ।
वर्तमान सरकारको विकल्प खोज्नुपर्ने कारण र औचित्य पुष्टि नगरी प्रधानमन्त्री पदको लोभमा चालिएको कदम आत्मघाती हो, यसको मूल्य माओवादी केन्द्र र स्वयम् प्रचण्डले चुकाउनुपर्छ भन्ने निष्कर्ष बैठकले निकालेको जानकारी उहाँले दिनुभयो । Kp-Oli
सङ्कटपूर्ण अवस्थामा निर्माण भएको वर्तमान सरकारले राष्ट्रिय परिस्थितिको सामना गर्दै अगाडि बढिरहेको अवस्थामा प्रचण्डले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएर मुलुकको राष्ट्रिय हितविरुद्ध समेत काम गरेको निष्कर्ष बैठकले निकालेको बताउँदै माले महासचिव मैनालीले संविधान कार्यान्वयनको वातावरण बन्दै गएको अहिलेको अवस्थामा प्रचण्डको यस प्रकारको कदमले सो कार्यलाई समेत अवरोध पु¥याउने बताउनुभयो ।  यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा दिउँसो नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएपछिको राजनीतिक परिस्थितबारे सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै बदलिँदो राजनीति परिस्थितिबारे आफूले गम्भीरतापूर्वक विचार गरिरहेको बताउनुभएको थियो ।  
सरकारबाट समर्थन फिर्ता लिएकोबारे माओवादी केन्द्रले बुझाएको पत्र प्राप्त भएको छ, यसबारे कसरी अगाडि बढ्न सकिन्छ भन्ने विचार गर्दैछु प्रधानमन्त्रीको भनाइ थियो ।   माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिने घोषणा गरेपछि सरकारमा सहभागी मन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा छलफल गर्नुभएको थियो ।  बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, माओवादी केन्द्रको निर्णय तथा मुलुकको भावी राजनीति अवस्थाबारे समेत छलफल भएको थियो ।   
नेकपा (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीम रावलले माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएर एमाले र माओवादीबीच भएको १४ बुँदे सहमतिको घोर उलङ्घन गरेको प्रतिक्रिया दिनुभयो ।  उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे सरकारमा रहेका राजनीतिक दलहरूबीच छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना