भूकम्पपीडितलाई सहुलियतको काठ वितरण

चौतारा, असार २७ गते । वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले राष्ट्रिय परिस्थिति केही सहज भए पनि जिल्लाको परिस्थिति एकदम जटिल भएको चर्चा गर्दै डटेर सामना गर्न सरकार तथा स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताउनुभएको छ ।

भूकम्पपीडितको क्षतिग्रस्त घर पुनःनिर्माण गर्न सहुलियत दरमा उपलब्ध गराइने काठ वितरण कार्यको सिन्धुपाल्चोकको मेलचौरमा आइतबार शुभारम्भ गर्दै मन्त्री सापकोटाले सरकारले बहुआयामिक वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम ल्याएको र सोही नीतिअनुसार तराईको जिल्लाबाट ढलापढा, सडेका र उमेर पुगेका सालका रुख प्रयोग गरी भूकम्पपीडित जिल्ला र त्यसपछि बाढीपीडित र अग्नि पीडित परिवारलाई क्रमिक रुपमा वितरण गर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले जिल्लामा ६० लाख क्युफिट सालको काठको आवश्यकता पर्ने र भूकम्पपीडितले घर बनाउन सुरु गरेपछि नगरपालिका तथा गाविसको सिफारिसमा ९० प्रतिशत राजस्व छुटमा प्रतिव्यक्ति २५ क्युफिट सालको काठ उपलब्ध गराइने जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री सापकोटाले गत वैशाख १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले घरको शिलान्यास गर्नुभएको चौतारा नपा–३ का सर्वे तामाङ, किरण श्रेष्ठ र दीपक श्रेष्ठलाई काठ वितरणको पुर्जी प्रदान गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना