दुई आयोगमा दुईजनाको नामा सिफारिश


काठमाडौँ, २६ माघ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि सिफारिस समितिले आज उक्त दुवै समितिमा नाम सिफारिस गरेको छ ।

शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउने दुई महत्वपूर्ण आयोग गठनका लागि सरकारले गत असार २ गते गठन गरेको सो समितिले आठ महिनासम्म विभिन्न प्रक्रिया र विधिमार्फत नाम सङ्कलन गरी आज सरकारलाई नाम सिफारिस गरेको हो । सोअनुसार सत्य निरुपण आयोग अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै बेपत्ता छानबिन आयोग अध्यक्षमा समितिले पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक तथा सदस्यमा बिजुल विश्वकर्मा, प्रा डा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङको नाम सिफारिस गरेको छ ।

पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठका अध्यक्षतामा गठित सो सिफारिस समिति सदस्यमा सुदीप पाठक, प्रा डा घनश्यामलाल दास, प्रदीप पोखरेल र शान्तिदेवी खनाल रहनुभएको थियो । समितिले २०६३ साल मङ्सिर २३ गते तत्कालीन सरकार र माओवादीपक्षबीच भएको विस्तृत शान्ति सम्झौताको कार्यादेशअनुसार आयोग गठनका लागि नाम सिफारिस गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य पाठकले आयोगका तर्फबाट दुवै आयोगले गम्भीर मानवाधिकारका उल्लङ्घनकर्तालाई माफी दिन सिफारिस गर्न हुँदैन भन्ने सुझाव दिनुभयो । “दुवै आयोगले आआफ्नो कार्यविधि बनाई राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारको मूल्यमान्यताअनुरुप स्वतन्त्र, निर्भीक, निष्पक्ष र पारदर्शी भएर पीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्ने विश्वास राख्छ” पाठकले भन्नुभयो, “आयोगले मेलमिलापको प्रक्रियामा पीडितको सहमति अनिवार्य लिँदै दुवै आयोगमा कम्तीमा दुई दुई महिला पदाधिकारीको प्रतिनिधित्व हुनुपर्ने धारणा राख्छ ।”

सिफारिस समितिले राजनीतिक दल, विभिन्न पक्ष, व्यक्ति र अन्तर्राष्ट्रिय नियोगसँग छलफलपछि ती नाम सिफारिस गरेको समितिका सदस्य प्रा डा दासले जानकारी दिनुभयो । सदस्य दासका अनुसार सिपारिस गरिएका नाम मन्त्रिपरिषद्ले अनुमोदन गरेलगत्तै दुवै आयोगले आआफ्नो कार्य अघि बढाउनेछन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना