डिजाईनको त्रुटीले गर्दा सिक्टा सिंचाई आयोजनाको नहर भत्किएको ठहर


सिराज खान
नेपालगञ्ज, असार २५ गते । डिजाईनको त्रुटीले गर्दा सिक्टा सिंचाई आयोजनाको मूलनहर परीक्षणकै क्रममा भत्किएको ठहर गरिएको छ । माटोको गुणस्तरमा ध्यान नदिई गरिएको डिजाईन र हतारमा गरिएको निर्माणका कारण सो नहर भत्किएको निर्माण कम्पनी सिटीसी कालिकाको ठहर छ ।

परिक्षणकै क्रममा भत्किएको सिक्टाको मूल नहर ।

बालापुर क्षेत्रदेखि ढकेरी खण्डको माटो पग्लिने खालको (अत्याधिक सोडियम क्लोराइड भएको) छ । नहरको डिजाईन गर्दा सो कुरामा ध्यान नदिंदा नहर भत्किएको हुुनसक्ने निर्माण कम्पनी सिटीसी कालिकाले जनाएको छ ।

बालापुर क्षेत्रमा डिजाईन परिवर्तन गरिएको हुँदा त्यहाँ नहर नभत्किएको जनाउँदै कालिकाका निर्देशक युवराज क्षेत्रीले झिझरी खोलामाथिबाट नहर लैजाँदा डिजाईनमा ध्यान नदिइएकै कारण कमजोर माटोमाथि बनेको नहरले पानीको चाप धान्न नसकेको बताउनु भयो । उहाँले अब डिजाइन परिवर्तन गरेर फेरि भत्किएको स्थानमा नहर निर्माण गरिने जनाउनु भयो ।

परीक्षणकै क्रममा नहर भत्किएपछि कारण खोज्न सिंचाई विभागले उपमहानिर्देशक अशोक सिंहको नेतृत्वमा दण्डपाणी जैसी र डा. किशोर भट्टराई सदस्य रहेको छानबिन टोली खटाएको थियो । टोलीले नहर भत्किनुको कारणसहित सुधारका लागि सुझाव दिने उपमहानिर्देशक सिंहले बताउनु भयो । उहाँले नहर निर्माणमा केही कमी देखिएको जनाउँदै नहर नचुहिने गराउनकै लागि लाईनिङ गरिएकोमा त्यहीबाट पानी चुहिनु नै भत्किनुको मुख्य कारण देखिएको बताउनुु भयो ।

उहाँले यसमा डिजाईन तयार गर्ने र निर्माण गर्ने दुबै पक्षको त्रुटी रहेको पाईएको बताउनु भयो । उता, सिक्टा सिंचाई आयोजनाका निर्देशक सरोज पण्डितले परीक्षणका क्रममा कमजोर देखिएका स्थानमा डिजाईन हेरफेर गरेर भए पनि नहर बलियो बनाएर मात्र हस्तान्तरण गरिने बताउनु भएको छ ।

‘गुणस्तरहीन माटो भएका क्षेत्रमा पहिले पनि डिजाईन हेरफेर गरेका हाँैं । ग्राभेल राखेर लाईनिङको मोटाई बढायौ’, उहाँले भन्नुभयो, ‘नहर परीक्षणकै क्रममा रहेकाले अहिल्यै काम बिग्रिसक्यो भन्न मिल्दैन ।’

भत्किएको नहर पुननिर्माण गर्न सिक्टाले डिजाईनमा हेरफेर गर्न लागेको छ । झिझरी खोलामाथिको नहरका तीन पिलरमध्ये एउटा भत्किएको छ । उक्त पिलरको गहिराई बढाउन लागिएको छ । पहिले पाँच मिटर तलबाट उठाइएको पिलरलाई कम्तिमा साढे १० मिटर गहिराईबाट उठाउने गरी डिजाईन गर्न लागिएको छ ।

४५ किमी मूल नहरमध्ये ३५ किमी निर्माण पूरा भइसकेको छ । त्यसमध्ये १७ किमी मात्र हस्तान्तरण भएको छ । १८ किमी खण्ड एक बर्ष अनुगमनकै क्रममा रहेको उल्लेख गर्दै आयोजना निर्देशक पण्डितले भन्नुभयोे, ‘नहर भत्किएर जे जति क्षति भएको छ, त्यो निर्माण कम्पनीकै खर्चमा पुनःनिर्माण हुने हो ।’

५० क्युमेक्स क्षमताको मूल नहरमा २५ क्यूमेक्स पानी छाड्दै सो नहर भत्किएको हो । परुवा र डुडुवामा राखिएका सेफ्टी भल्ब बेलैमा खोल्न र नहर चुहिएको थाहा पाएपछि बेलैमा पानी रोक्न नसक्दाले पनि धेरै क्षति पुगेको आयोजनाले जनाएको छ ।
मूल नहर परीक्षणको क्रममा २६ किलोमिटर खण्डको झिझरीखोला छेउ गत मंगलवार १५ मिटर नहर भत्किएको थियो । आर्थिक वर्ष ०७६–७७ मा निर्माण सम्पन्न हुने उक्त आयोजनाको हालसम्म ५० प्रतिशत मात्र काम पूरा भएको छ । रु. २५ अर्ब दुई करोड लागत अनुमान गरिएको राष्ट्रिय लगानीको बहुप्रतिक्षित उक्त आयोजना बनेपछि बाँकेको ८० प्रतिशतभन्दा धेरै भू–भागमा सिंचाई पुग्ने अपेक्षा गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना