मुन्धुम शिक्षाको पाठ्यक्रम

pr gobindaप्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ


साधारणतया मुन्धुमको अर्थ दैनिक जीवनमा गर्नुपर्ने पूजाआजा र संस्कार विधि, पालन गर्नुपर्ने आचरण, निर्वाह गर्नुपर्ने कर्तव्य आदिलाई समेटर लिम्बू पण्डितहरु (फेदाङ्मा, येबा र साम्बा) ले लिम्बू भाषामा धारा प्रवाहिक रूपमा गाउने जीवन दर्शन भन्ने बुझिन्छ ।  यी पण्डितहरुका चेलाहरुले उनीहरुबाट मौखिक रूपमा नै मुन्धुम सिक्छन् र आफ्ना चेलाहरुलाई सिकाउँछन् ।  यस प्रकारले पुस्तौँ अघिदेखि मुन्धुमको ज्ञान हस्तान्तरण हुँदै वर्तमान पुस्तासम्म आइपुगेको हो ।  मौखिक रूपमा कैयौँ दिन र रात गाइने यो मुन्धुम स्मरण गर्न ज्यादै कठिन पर्ने भएकाले यसको पण्डित हुन दैवी शक्तिको जरुरत पर्छ भन्ने विश्वास छ ।  अर्थात् ईश्वरले छानेको व्यक्तिमात्र पण्डित बन्नसक्छ भन्ने विश्वास लिम्बू समुदायमा छ ।  केही वर्षयता मौखिक रूपमा सीमित यो मुन्धुमलाई विभिन्न विद्वानले पुस्तकका रूपमा पनि प्रकाशित गरेका छन् ।  
प्रमुख रूपमा कोशी र मेची अञ्चलका नौ जिल्ला सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम र झापामा बसोबास गर्ने तीन लाख ८७ हजार तीन सय जनसङ्ख्या भएको लिम्बू जातिको मातृभाषा लिम्बू हो ।  सरकारी कामकाजको भाषा र शिक्षाको माध्यम दुवै नेपाली भाषा भएको कारणले आफ्नो मातृभाषाको सट्टा नेपाली भाषालाई मातृभाषाको रूपमा प्रयोग गर्ने लिम्बूहरुको सङ्ख्या उल्लेख्य नै छ ।  विद्यालयको वातावरण लिम्बूमैत्री नभएको कारणले लिम्बू बालबालिकाहरु नेपाली प्रयोग गर्न नै विवस हुन्छन् र आफ्ना अभिभावकले उनीहरुलाई घरमा पनि नेपाली प्रयोग गर्न नै प्रेरित गर्छन् ।  विद्यालय जाने उमेरका बालबालिकाले लिम्बू भाषा बोल्न नै छोडेपछि अर्को पुस्तामा यो भाषा नसर्ने कुरा निश्चित छ ।  तसर्थ एपिली तथा अन्यले लिम्बू भाषालाई अति सङ्कटपूर्ण अवस्थामा रहेको भाषाको तहमा वर्गीकृत गरेका छन् ।  यो विशेष गरेर सम्पूर्ण लिम्बू भाषीको निम्ति चिन्ताको विषय हो भने भाषा वैज्ञानिकहरुको निम्ति दुःखको विषय हो ।  
वास्तवमा लिम्बू भाषाले नै लिम्बू जातिको पहिचान बोकेको छ, जुन समाप्त भयो भने लिम्बू जातिको पहिचान, उनीहरुको सभ्यता र संस्कृति समाप्त हुन्छ ।  यसलाई जोगाउन मुन्धुमले अहं भूमिका खेलेको छ ।  मुन्धुम बोलिचालीको लिम्बू भाषाभन्दा केही फरक छ तर यसलाई सबल बनाउन भने मुन्धुममा प्रयोग हुने भाषाले मद्दत गर्छ ।  लिम्बू भाषाको निम्ति मुन्धुम नेपालीको निम्ति संस्कृत र अङ्ग्रेजीको निम्ति ग्रीक र लेटिन भाषा जस्तै स्रोत भाषा हो ।  यसबाट दैनिक जीवनमा प्रयोग हुने लिम्बूमा उखान टुक्काहरु र शब्दावलीहरु लिने गरिन्छ ।  अतः लिम्बू भाषालाई संरक्षण र सम्बर्धन गर्न मुन्धुम शिक्षाको ठूलो आवश्यकता छ ।
हिन्दू धर्ममा आधारित गुरुकुल शिक्षा, बुद्ध धर्ममा आधारित गुम्बा शिक्षा र मुसलमान धर्ममा आधारित मदर्सा शिक्षा जस्तै किराँत धर्ममा आधारित शिक्षा मुन्धुम शिक्षा हो ।  यसको मुख्य उद्देश्य आफ्नो धर्मप्रति आस्थावान जाति, समाज र राष्ट्रप्रति बफादार इमानदार र चरित्रवान योग्य नागरिक सिर्जना गर्नु हो ।  यसलाई औपचारिक रूपमा सञ्चालन गर्न मुन्धुम निसाम हिम लारुम्बा, इलामको अनुरोधमा पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरले लिम्बू भाषा र साहित्यका विज्ञ येहाङ लावती र प्राज्ञ अमर तुम्याङको अग्रसरतामा कक्षा १ देखि कक्षा ५ सम्मको पाठ्यक्रम निर्माण गरिसकेको छ ।  
कक्षा १ देखि कक्षा ५ सम्मको मुन्धुम शिक्षाले विद्यार्थीहरुमा राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना पैदा गर्ने, किराँत धर्म संस्कृतिप्रति आस्थावान भई किराँत धर्म संस्कृतिअनुसारका आधारभूत अनुष्ठान गर्ने ज्ञान तथा सीपको विकास गराउने, सदाचार, नैतिकता, अनुशासन र स्वावलम्बन जस्ता सामाजिक एवं चारित्रिक गुणको विकास गर्ने, किराँत लिम्बू, नेपाली र अङ्ग्रेजी भाषाका भाषिक सीपका साथै आधारभूत गणितीय सीपको विकास गर्ने, विज्ञान, सूचना प्रविधि, वातावरण र स्वास्थ्य सम्बन्धि आधारभूत ज्ञानको जीवनोपयोगी सीपको विकास गर्ने, किराँत लिम्बू कला, संस्कृतिप्रति अभिरुचि जगाइ सिर्जनशिल सीपको विकास गर्ने, किराँत धर्म, संस्कृतिलगायत विभिन्न जाति, धर्म, भाषा, संस्कृति र क्षेत्रप्रति सद्भाव जगाइ शान्ति समावेशी समाज निर्माणमा सहयोग पु¥याउने भावना अभिवृद्धि गर्ने र मानव अधिकार तथा सामाजिक मूल्य र मान्यताप्रति सचेत भई आध्यात्मिक आचरणको विकास गर्ने आदि उद्देश्य राखेको छ ।  यी उद्देश्यहरु अनुरूपका पाठ्यपुस्तकहरु २०७३ सालभित्र नै तयार हुने छन् र शैक्षिक वर्ष २०७४ देखि मुन्धुम शिक्षाको कक्षा १ प्रारम्भ हुने कुरा पाठ्यक्रम विकास केन्द्रका उपसचिव तथा मुन्धुम विषय समितिका संयोजक डम्बरराज आङ्देम्बे बताउनु हुन्छ ।
हुन त जिल्ला विकास समिति इलामको सहयोगमा मुन्धुम निसाम हिम लारुम्बामा सत्यहाङमा पन्थको किराँत धर्मको अनौपचारिक रूपमा अध्यापन कक्षा १ देखि कक्षा ८ सम्म चलिरहेको छ तर औपचारिक रूपमा नै मुन्धुम शिक्षा प्रारम्भ हुने समाचारले किराँत धर्म मान्ने र लिम्बू भाषाका बक्तालाई विशेष गरेर हर्षित र उत्साही बनाएको छ ।
नेपाली र अङ्ग्रेजी विषयबाहेक अन्य विषयको सिकाइको भाषा लिम्बू बनाइएकाले बालकहरु आफ्नो मातृभाषा प्रयोग गर्नमा उत्साहीत हुनेछन् र सिकाएको कुरा पनि सजिलोगरी छिट्टै बुझ्नेछन् ।  यसले गर्दा मातृभाषा प्रयोगको क्षेत्र विस्तार भएर यसले विद्यालय, खेलमैदान, र घर सबै ठाउँ ढाक्नेछ ।  यी कुराको अतिरिक्त उनीहरु आफ्नै भाषामा गीत गाउने, कथा भन्ने, गणना गर्ने आदि कार्य गर्न सक्नेछन् ।  साधारणतया मातृभाषीहरुमा आफ्नो भाषा प्रयोग गर्दा हुने सङ्कोच उनीहरुबाट हट्नेछ ।  यसबाट निश्चित रूपमा भाषाले जीवन्तता पाउँनेछ ।  मुन्धुम शिक्षालाई औपचारिक रूपले सञ्चालन गर्न मुन्धुम शिक्षकहरुको दरबन्दीको व्यवस्था सरकारले गर्नुपर्छ ।  भावनामा बगेका केही लिम्बू शिक्षकहरुको स्वयं सेवा कार्यले दिगोरूपमा मुन्धुम शिक्षा चल्न गाह्रो छ ।  त्यस्तै मुन्धुम शिक्षाले फगत लिम्बू भाषालाई मात्र लक्षित गरी अध्ययन र अध्यापन गरेमा स्वयं लिम्बू मातृभाषीहरुमा नै यो शिक्षाप्रतिको आकर्षण घटेर जानेछ ।  वस्तुतः मातृभाषामा कुनै पनि कुरा सिक्न सजिलो हुन्छ र त्यो सिकेको कुरालाई दोस्रो र तेस्रो भाषामा अनुवाद गर्न अपेक्षाकृत रूपले सरल हुन्छ ।  अतः लिम्बू भाषाले नेपाली र अङ्ग्रेजी भाषा सिकाइमा सहजकर्ताको भूमिका खेल्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds