जोखिम कायमै

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार २४ गते ।  तिब्बततिरबाट थुनिएको नदीको सबै पानी निकास नभएको शङ्का व्यक्त गर्दै भोटकोसी आसपासका क्षेत्रमा अझै जोखिम कायम रहेको सरकारी अधिकारीले बताएका छन् ।
मङ्गलबार राति एक्कासि भोटेकोसीमा बाढी आउँदा सिन्धुपाल्चोकका बाह्रबिसे बजार लगायतका बस्तीहरू बगाउनुका साथै दर्जनौँ बस्ती जोखिममा परेका छन् ।  
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बिहीबार भन्नुभयो, “भोटेकोसीमा अझै जोखिम कायमै छ ।  तिब्बततिर थुनिएको नदी फुट्दा एक्कासि बाढी आएको हो ।  थुनिएको पानी सबै निकास भयो वा भएन यकिन भइनसकेकाले अझै बाढी आउनसक्नेतर्फ सचेत हुनु जरुरी छ । ”
महानिर्देशक डा. शर्माका समकक्षीले तिब्बतबाट पठाएको ईमेलमा गत वर्षको भूकम्पले चर्किएको पहाड नदीमा खस्दा नदीको पानी थुनिएको हो ।  तिब्बतमा अत्यधिक पानी पर्दा थुनिएको नदीमा पानी निकै जम्न गई एक्कासि फुट्दा नेपालतर्फ बाढीको रूप लिएको हो भनिएको छ ।   
महानिर्देशक डा. शर्माका अनुसार तिब्बतको पाइकु नदीमा पहिरो जाँदा नदी थुनिएको हो ।  नाल्याम सहरदेखि झ्याग्मु सहरसम्मको ७०७ नम्बरको पुलनजिकै माथिबाट खसेको पहिरो थुप्रिएको छ ।  सुरुमा पहिरोको रूप सानो भए पनि वर्षाको पानी बढ्दै जाँदा ठूलो रूप लिएको डा. शर्मालाई लेखिएको ईमेलमा जनाइएको छ ।  
भोटेकोसीको बाह्रबिसे क्षेत्रमा राखिएको स्वचालित जलसतह मापन यन्त्रले पनि केही समयदेखि काम गर्न छोडेकाले बिहीबार नै विभागको प्राविधिक टोली स्वचालित जलसतह मापन यन्त्र जडान गर्न त्यसतर्फ लागिसकेको उहाँले बताउनुभयो ।  
उहाँले भन्नुभयो, “खतरा कायम हुँदै गरेकाले अब स्वचालित मापन यन्त्र राख्नुपर्ने आवश्यकता देखियो ।  नेपालतर्फको धनजनको क्षति थप हुनबाट बचाउन र बेलैमा सूचना प्रवाह गर्न विभागले यो योजना बनाएको हो । ”
गत वर्षको भूकम्पले नाल्याम सहर आसपासमा खासै क्षति नपु¥याए पनि जमिन भने चिराचिरा परेकाले तिब्बततर्फ पनि पहिरोको सम्भावना निकै रहेको ती चिनियाँ अधिकारीले जनाएका छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना