पूर्व सभासदको मियाँका हत्यारा पत्नी र छोरीलाई सर्वस्वसहित जन्मकैद


माला कर्ण
सप्तरी, असार २२ गते । पूर्व सभासद सदरुल मियाँ हकको हत्यामा संलग्न आफ्नै पत्नी र छोरी सहित तीनजनालाई मंगलबार जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ ।
विघटित संविधानसभा सदस्य कल्याणपुर गाविस–२ का ५५ वर्षीय हकको हत्या आरोपमा कारागारमा थुनामा रहेकी हकको पत्नी ५२ वर्षीया नुरजहाँ खातुन र छोरी २१ वर्षीया रुबेदा खातुनलाई जन्मकैदको फैसला भएको हो ।
जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले राजविराज कारगारमा थुनामा रहेकी नुरजहाँ र रुबेदालाई जन्मकैद तथा मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भई लहान नपा–५ पानीट्याङ्की बस्ने ४० वर्षीय अब्दुल रउफलाई सर्वस्वसहित जन्मकैदको फैसला भएको अदालतका स्रेस्तेदार नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तस्वीर बायाँबाट क्रमश: : पत्नी नुरजहाँ , छोरी रुवेदा खातुन तथा अब्दुल रउफ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले हत्याका योजनाकारहरू छोरी रुबेदा र रउफलाई ०७० जेठ २३ गते तथा नुरजहाँलाई ०७० जेठ २४ गते गिरफ्तार गरेको थियो ।
नुरजहाँ र रुबेदा कल्याणपुर गाविस–२ स्थित घरबाट र हत्यामा प्रत्यक्ष संलग्न रउफ लहान नपा–५ बाट गिरफ्तार भएक थिए । हत्याका मुख्य योजनाकार र संलग्न रुवेदाका प्रेमी भारतीय नागरिक भई लहान नपा–५ मा बसी झारफुकको काम गर्ने ३९ वर्षीय जमिरुल शेख र सिरहा चतरी गाविस–२ का ३४ वर्षीय एनुल शेख भने फरार रहेकोले मुद्दा मुल्तवी राखिएको स्रेस्तेदार श्रेष्ठले जानकारी दिनुभएको छ ।
रुवेदा र जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि बुवा हकको सहमति नभएपछि उनीहरूले ०६९ फागुनमा रौतहटमा गई विवाह (निकाह) गरेका थिए । सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको ठानेर योजना बनाई हत्या गरिएको अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान व्युरोका तत्कालिन प्रहरी नायव उपरिक्षक दिनेश आचार्यले सार्वजनिक गर्नुभएको थियो ।
आचार्यका अनुसार केही पाउन केही गुमाउनु पर्छ भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुवेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हकको हत्या गरिएको थियो ।
अभियुक्तहरूले पाँच महिनाअघि बनाएको हत्याको योजनाअनुरूप छोरी रुवेदाले बुवाको हरेक गतिविधिबारे प्रेमी जमिरुललाई खबर गर्ने गरेको अनुसन्धानले देखाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका तत्कालीन डीआइजी परशुराम खत्रीले त्यतिखेर जानकारी दिनुभएका थिए ।
०७० जेठ ६ गते राति पूर्व सभासद हक पेट्रोलपम्पमा एक्लै सुतेको खबर छोरी रुवेदाबाट पाएपछि जमिरुल, एनुल र रउफ सोही राति ९ः३० बजे लहानबाट मोटरसाइकलमा आएर पेट्रोल पम्पमा हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पूर्वसभासद् हकको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा ०७० जेठ ७ गते बिहान ८ः३० बजे उहाँको घरदेखि पाँच सय मिटर पश्चिममा रहेको खोजपुर गाविस–७ स्थित हककै हुमा आयल ट्रेडर्समा मृत शरीर फेला परेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना