चुरे समस्याको तार्किक समाधान

Dr Dinesh raj bhujuदिनेशराज भुजू



चुरे पहाडहरू फेरि चर्चाको डबलीमा छन् ।  चुरेका वनहरूको डरलाग्दो विनाश र त्यससँगै समतल मधेसमा प्रत्यक्ष नकारात्मक असर पर्न थालेपछि यसको चर्चा उठ्नु दिगो विकासका तीनवटै पक्ष, आर्थिक, समाजिक, वातावरणीय मात्र नभएर राजनीतिक दृष्टिले पनि अनुकूल छ ।  चुरे विनाशको खराब असर सीमापारि गङ्गा मैदानसम्मै व्याप्त हुँदैछ, चासो यसकारण त्यतातिरबाट पनि छ ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिले पटकैपिच्छे सार्वजनिक भाषणमा चुरेलाई आफ्नो जीवनको भोगाइसँगै चिन्ता र आत्मीयताको भाषामा चर्चा उठाइदिएपछि चुरेको चर्चाले विशेष गति लिनु हाम्रा सन्दर्भमा सारै स्वाभाविक भएको हो ।  नत्र ३६ जिल्लाहरूको अंशियार रहेको ४० लाख बढी जनता बस्ने चुरे पहाडको समस्या भर्खरै बल्झेको पक्कै होइन ।  
विषयहरूको पनि चक्र हुँदो हो ।  चुरेसम्बन्धी काठमाडौँमा आयोजित एउटा राष्ट्रिय गोष्ठीमा योजना आयोगका एक पूर्वउपाध्यक्षले भनेझैं समस्या चुलिएपछि विषयवस्तुले चर्चामा प्रवेश गर्छ अनि ध्यानाकर्षण र केही समाधान, विश्राम फेरि विग्रिन थालेपछि चर्चाको पुनरुत्थान ।  करिब एक दशकअघि चुरेले खुबै चर्चा पायो ।  मुख्यतया दुई बलिया कारणहरूले, एक, ७६ प्रतिशत वनले ढाकेको चुरेमा भएको फँडानी र त्यसको भूउपयोगमा देखापरेको अकाट्य रूपान्तरण, दुई, वन्यजन्तु ओहोर–दोहोरका लागि देशमा बाँकी रहेको अन्तिम भूदृश्य (ल्याण्डस्केप) को खण्डीकरण ।  उदाहरणका लागि पूर्वी नेपालको कोशी र मेची बीचको चुरे पहाडमा सन् १९५० को दशकमा ८१ प्रतिशतसम्म वन थियो ।  सन् १९७० को दशकमा त्यो घटेर ७३ प्रतिशत पुग्यो र सन् १९९० को दशकमा अझ घटेर ६१ प्रतिशतमा झ¥यो ।  यो बाँकी रहेको वन पनि खण्डित भएर २०० भन्दा बढी टुक्रामा विभक्त देखियो ।
नेपाल देश अनुसन्धानको लागि सदैव आकर्षणको थलो रह्यो ।  ह्यामिल्टन बुकनिनले सन् १८०५ मा वनस्पतिसम्बन्धी सर्वेक्षण गरेयता यस विधामा मात्रै तीन हजारभन्दा बढी वैज्ञानिक कृति वा प्रतिवेदनहरू प्रकाशन भएको अनुमान गर्न सकिन्छ ।  तीमध्ये अधिकांश सन् १९५० यता मुलुकमा अनुसन्धानको ढोका उघ्रिएपछि भएका हुन् ।  ती कृति वा प्रतिवेदनहरू केलाउँदा मुस्किलले १० प्रतिशत मात्रै चुरे क्षेत्रलाई समेटेर गरिएको देखिन्छ ।  के पनि देखिन्छ भने विदेशीको अगुवाइमा गरिएका अधिकांश अध्ययन उच्च पहाडी वा हिमाली क्षेत्रमा रहे भने नेपालीले अगुवाइ गरेकामा पहाड रहे ।  पूर्व मेचीदेखि पश्चिम महाकाली समेटेर गरिएको चुरेको देशव्यापी अध्ययन भनेको रिसोर्सेस् हिमालयले सन् १९९९ देखि २००३ बीच गरेको अनुसन्धान मात्रै देखिन्छ ।  चुरे अनुसन्धानमा देखिएको यो उदासिनता कुनै काकताली नभएर हामीले छान्ने प्राथमिकता र त्यस्तो अनुसन्धान असंगतिलाई मापन गर्न असमर्थ रहेको राज्य संयन्त्रको नतिजा हो ।  त्यसैले आज हामीलाई एकाएक चुरे भत्किएको बोध भएको छ र त्यसले उत्पन्न गरेको विनाशकारी लिलाको मापन गर्न हम्मेहम्मे परिरहेको छ ।  
चुरेका पहाडहरू होचा छन् ।  कैलालीतिर मात्रै हो तिनका केही थुम्काहरू उचालिएर एक हजार ८०० मीटर पुगेका, हैनभने ती एक हजार मीटरको हाराहारी मात्र पुग्दछन् ।  उत्तरका हिमाच्छादित पर्वत शृंखलाले तिनलाई ओझेलमा पार्दो हो, तर तराईदेखि पहाड उक्लने वा पहाडदेखि तराई झर्ने जो कोहीले पनि यी फुच्चा पहाडहरूलाई याद गरेका हुन्छन् ।  अमलेखगन्जदेखि हेटौंडा चढ्दाको उकालीमा चुरियामाई भनी प्रख्यात ठाउँ र नाउँ त्यो राजमार्ग हिँड्ने कसले पो बिर्सन सक्छ र ? तराईको समतल मैदानदेखि सर्लक्क उठेको चुरे शृंखला हिमालय पर्वतमालामा सबभन्दा पछि उठेको पहाड हो, हिमालय जेठी दिदी हुन् भने यिनी कान्छी बहिनी, चञ्चल अनि ऊर्जाशील ।  त्यसो त हिमालय आफंै विश्वको कनिष्ठ पर्वतमालामा गनिन्छ ।  यसको जन्म त्यस्तै पाँच करोड पहिले भारतीय उपमहाद्वीप तिब्बतको भूभागसित ठक्कर खाँदै धस्सिएर भएको हो ।  हिमालयको अहिलेको स्वरूप करिब दुई करोड वर्षअघि निर्माण भएको र चुरेको उमेर लगभग एक करोड वर्ष पुगेको अनुमान गरिन्छ ।  
चुरे अझ खाँदिन र स्थिर हुन पाएको छैन, त्यसैले यसको भूबनावट कमलो र छिनछिनमा पहिरो गैरहने खालको छ ।  धेरैका मनमा चुरेको छाप यस्तै रहेको पाइन्छ ।  नदीले बगाएर ल्याएका गेग्रान, बलौटे ढुङ्गा, वर्षातका बेला अटाइनअटाइ पानी बग्ने खहरेहरू, खेती निम्ति खासै काम नलाग्ने पाखो, वन्यजन्तु पनि ओहरदोहर गर्ने तर बासस्थान नै बनाएर नबस्ने सुक्खा वन ।  तर चुरेको यो श्राप वास्तबमा लुकेको वरदान यसकारणले भयो कि चुरेमा जति बाक्लो जङ्गल नेपालका पाँच भौगोलिक क्षेत्रहरूमध्ये कुनैमा पनि छैन ।  चुरेले नेपालको कुल भूभागको १३ प्रतिशत मात्र ओगटेको छ तर यसको ७० प्रतिशत भूभाग वनले ढाकेको छ ।  चुरेको भूमि मानववस्ती निम्ति उपयुक्त भने होइन ।  अत्यन्तै खुकुलो माटो र ढुङ्गा बालुवाले यो बनेको छ ।  पानीको सतह कम्तीमा ३० मीटर गहिराइमा छ, जुन तराईको तुलनामा तेब्बर गहिरो हो ।  त्यसैले धेरै वर्षसम्म चुरेको भूमि निर्जन रह्यो, औलो पनि त्यहाँ मौजुद थियो ।
बितेको समयमा चुरेको पातलो मानव आवादी त्यहाँको वन र त्यसको जैविक विविधता कायम राख्नमा निकै सहयोगीसिद्ध भयो ।  पहिलो कुरा त मानिसको पहुँच नभएको कारण त्यहाँका जङ्गलहरू नासिन पाएनन्, जङ्गलको हैसियत राम्रो हुनाले वन्यजन्तु र पक्षीका लागि भरपर्दो अहोरदोहर गर्ने जैविकमार्ग र कहिलेकाँही आश्रयस्थल पनि बने ।  चितवनको राष्ट्रिय निकुञ्जमा धनेष देखिन छाड्दा ती मोरङ लालझोडा चुरेका जङ्गलमा निर्धक्क उडिरहेका भेटिन्थे ।  नेपालमा दुर्लभ मानिएका दुई वनस्पतिहरू– रानी थाकल (साइकस् पेक्टिनाटा) र रुख उन्यू (सेथिया स्पिनुलोसा) पनि चुरे पहाडका खोल्साहरूमा पाइन्छन् ।  पहाडको बाँझ र तराईको सालको अनौठो मिश्रण पनि चुरेमा मात्र सम्भव देखिन्छ, जुन कैलालीको सुंगरखालमा अझै बाँकी होलान् ।  खोलाकै किनारमा मात्र भेटिने खयरको घारी डाँडाको नाकमा भेटिन्छ, ती हेर्नलाई मध्य नेपालको चुरे पहाड गडानशिर जानुपर्छ ।  रुदिलो, पाषणभेद, सिकारी लहरो, धएँरो – यी दुईचार नाम हुन् चुरेमा पाइने २०० भन्दा बढी औषधिजन्य बिरुवामध्येका ।  चुरे सम्पूर्ण रूपमा सुख्खा पनि होइन ।  ठाउँठाउँमा तीभित्र रसिला तलाउहरू पनि छन्, नत्र कैलाली कन्चनपुर चुरे पहाडका ७०० मीटरसम्म जङ्गली हात्तीहरू किन चढ्न जान्थे ? यी सबै अनुसन्धानको क्रममा देखिएका केही प्रमाणिक प्रसङ्गहरू हुन् ।
चुरे यसरी प्राकृत रूपमा सम्पन्न छ तर स्थिति सदैव यस्तो रहेन ।  सन् १९६० दशकपछि औलो उन्मूलन र त्यस सँगसँगै चुरेकै छेउबाट राजमार्गहरू खुल्न थालेपछि तिनको पर्यावरणमा ठूलो अन्तर आयो ।  पहाडका मानिसहरू उर्वर तराईमा खेती खोज्दै झर्न थाले, सक्नेहरू तराईसम्मै पुगे, गच्छे नपुग्नेहरू चुरेमै थामिए ।  तराई पुगेकाहरूमध्ये पनि ऋण लागेकाहरू, नसक्नेहरू चुरेमा फर्किए ।  सम्भवतः चुरे नेपालका विपन्न र सीमान्त वर्गको आश्रयस्थल नै हो ।  एउटा आँकलन अनुसार चुरेका ८० प्रतिशत जनता ऐलानी जग्गामा निर्भर छन्, ती हलो किसानी गर्दछन् तर थोरैका हातमा मात्र लालपुर्जा छ ।  तीमध्ये पनि वर्षभरी पुग्नेहरू १० – १२ प्रतिशत मात्रै छन् ।  जनता गरिब छन्, तिनलाई आश्रय दिने भूमि पनि उत्पादनशील छैन ।  चुरेको भूमि व्यवस्थापन सम्भवतः त्यहाँको सबभन्दा ठूलो चुनौती हो ।  मानिसले त्यसलाई परित्याग मात्र गर्नुपर्छ, ती जङ्गलयुक्त हुन खासै लामो समय चाहिन्न ।
चुरेको जटिलता मुख्य तीनवटा समस्यासित गाँसिएको छ– पहिलो, कमलो भूमि र प्राकृतिक विनाश ।  दोस्रो, भूमिहीन किसान र गरिबी ।  तेस्रो, छरिएका विकास प्रयत्न र संरक्षण आयोजना ।  अतः तिनको समाधान निम्ति तीनवटा उपाय सुझाउन सकिन्छ ः चुरेको वैज्ञानिक भूवर्गीकरण र खतराजन्य (बस्न अयोग्य) खण्डहरूको पहिचान, थप अतिक्रमणमा रोक ।  हालको वस्ती वृद्धि हुन् नदिने ।  सबै प्रकारका विकास र संरक्षण परियोजनाहरूलाई एकीकृत गर्ने र समन्वयकारी भूमिकामा उच्चस्तरीय संरचनागत व्यवस्था गर्ने ।  चुरेको प्रसङ्ग उत्थान यसका वा यसबाट बल्झिने समस्या खोतल्नमा सीमित नहोऊन्, यस्तो धेरै चोटी भैसकेको छ अब यो प्रसङ्गले तार्किक समाधानको बाटो हिँडोस् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना