बाह्रसिंगाको घर शुक्लाफाँटा

वेदकुमार ढकाल

 

काठमाडौं, असार २० गते  । हाल वन्यजन्तु आरक्षको रूपमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष वि.सं. २०२६ सालमा शिकार आरक्षको रूपमा स्थापना भएको थियो ।  केही समयसम्म यो आरक्षलाई शिकार आरक्षको रूपमा संरक्षण गरियो ।  वि.सं. २०३२ सालमा आएर थप केही भूभाग समेटेर आरक्षको रूपमा विकसित गरिएको हो ।  वन्यजन्तुको बासस्थानका लागि निकै उपयोगी भूगोल भएकाले वि.सं. २०३६ सालमा आरक्षको पूर्वतर्फको १५० वर्ग किलोमिटर जग्गासमेत बिस्तार गरियो ।  हाल आरक्ष कुल ३०५ वर्गकिलोमिटरमा फैलिएको छ ।  
नेपालमा सबैभन्दा बढी बाघको घनत्व भएको संरक्षित क्षेत्र हो ।  आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार विश्वमै लोपोन्मुख अवस्थामा रहेको बाघका लागि यो क्षेत्र उपर्युक्त बासस्थान मानिएको छ ।  यो आरक्ष बाघका लागि मात्र होइन, बाह्रसिंगाका लागि त विश्वकै ठूलो बासस्थान मानिन्छ ।  हजारौँको सङ्ख्यामा बाह्रसिंगा पाइने यो आरक्षमा आन्तरिक र बाह्य पर्यटक बाह्रसिंगाको बथान हेर्न भनेर आउने गरेको कुरा प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो ।  पश्चिम नेपालको कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर छेऊमै रहेको यो आरक्ष जो कोहीका लागि पनि घुम्न सहज छ ।  यो आरक्षले नेपाल र भारतको जैविक करिडोरको रूपमा काम गरिरहेको छ ।  तराई भूपरिधिको मध्यबिन्दुमा पर्ने यो आरक्षले नेपाल र भारतका गरी ११ वटा संरक्षितलाई जोड्ने काम गरेको छ । deer 
प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो, तराईका संरक्षित क्षेत्रहरूमा पाइने घाँसेमैदान मध्य शुक्लाफाँटामा सबैभन्दा ठूलो घाँसे मैदान रहेको छ ।  जहाँ विश्वकै सबैभन्दा ठूलो बाह्रसिंगाको झुण्डले विचरण गर्ने गरेको छ ।  यो दृश्य अलौकिक र निकै मनमोहक हुने गर्छ ।  यो दुर्लभ दृश्य हेर्ने विदेशी पर्यटकहरूबढी मात्रामा आउने गर्छन् ।  यो आरक्षको कुल क्षेत्रफलको झण्डै १७ प्रतिशत भूभाग घाँसे मैदानले ओगटेको छ ।  क्षेत्रफलको हिसाबले सानो आरक्ष भए पनि तराईका संरक्षित क्षेत्रहरूमध्ये सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने गरेका छन् ।  प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार ११८ परिवारका ६६५ प्रजातिका वनस्पति यहाँ पाइन्छन् ।  जसमध्ये ५२ प्रतिशत सालको मात्र जङ्गल रहेको छ ।  आरक्षभित्र १० प्रतिशत सिमसार क्षेत्र रहेको छ ।  वन्यजन्तुमा पाटेबाघ, एकसिंगे गैँडा, हात्ती, बाह्रसिंगा, कृष्णसार, सालक, निलगाईं, चितुवा, चित्तल, रतुवा, लगुना, बँदेललगायतका ५३ प्रजातिका प्रमुख स्तनधारी वन्यजन्तुको बासस्थान यो आरक्ष हो ।  
सन् २०१४ को गणना अनुसार यहाँ बयस्क बाघको सङ्ख्या १७ रहेको छ ।  हाल यो सङ्ख्या बढेको अनुमान गरिएको छ ।  आरक्षभित्र तीन दर्जन हात्तीले विचरण गर्ने गरेका छन् ।  २० प्रजातिका उभयचर, १२ प्रजातिका घस्रने जन्तु, २४ प्रजातिका माछा, ३५ प्रजातिका पुतली र ४२४ प्रजातिका चरा यो आरक्षमा पाइने गरेका छन् ।  विश्वमा दुर्लभ मानिएका सारस, खरमजुर, सिमतित्रा, लेसर भुँडीफोरलगायतका चराहरूको सुरक्षित बासस्थान मानिन्छ ।  
पर्यापर्यटनको विकास गरी स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याई संरक्षणमा टेवा पु¥याउने उद्देश्यका साथ आरक्ष कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रत्यक्ष सहभागितामा संरक्षणमुखी कार्यहरू सञ्चालन गर्दै आएको छ ।  आरक्षले बासस्थान व्यवस्थापन अन्तर्गत घाँसे मैदान, सिमसार क्षेत्र र पानीको स्रोतको व्यवस्थापन गर्दै चोरी शिकार नियन्त्रण, अध्ययन अनुसन्धान लगायतका कार्यहरू गर्दै आएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना