रेमिट्यान्स कि स्वदेशी आय ?


रेख्रीराम राना
पाल्पा, असार १९ गते । बौघापोखराथोक–२, चिनारीटोलका रुकवीर रेश्मीमगरको मासिक आम्दानी एक लाख ३० हजार रुपियाँ छ । धेरै युवा आफ्नो जीवन बन्धकी राखेर १०-१५ हजार रुपियाँका लागि विदेश ताकिरहेका बेला रेश्मीमगरले भने दुध बेचेर लाख रुपियाँभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

बौघापोखराथोकको चिनारीटोलका अगुवा युवा किसान रुकवीर रेश्मीमगर आफूले पालनपोषण गरेको गाईलाई आहारा िदंदै ।

२३ वटा गाई पालेर दैनिक एक सय १० लिटर दुध बिक्री गर्नुभएका रेश्मीमगरले अहिले गाउँमै सबैभन्दा बढी दुध उत्पादन गर्ने युवा किसान हुनुहुन्छ । पाँच वर्षअघि मनग्य कमाउने आशले बहराइनमा जानुभएका उहाँ स्वास्थ्यले साथ नदिएपछि १८ महिनामै स्वदेश फर्किएर पशुपालनमा लाग्नुभएको हो ।
विदेशबाट घरमा आएपछि गाईपालन सुरु गरेको र अहिले १२ वटा दुहुनो गाई, चार वटा कोरली र अरु साना बाच्छी गाईको रहेको उहाँले बताउनुभयो । गाईको दुध गाउँमै स्थापना भएको सहकारीमा प्रतिलिटर ४५ रुपियाँमा बिक्री हुने र आफूले मासिक सरदरमा एक लाख ३० हजार रुपियाँ बुझ्ने गरेको उहाँले सुनाउनुभयो ।
रेश्मीमगर मात्र होइन अहिले दुध बिक्री गरेर चिनारीटोलका २५ जना भन्दा बढी किसान मासिक १२ हजारदेखि लाख भन्दा बढी आम्दानी गर्न सक्ने भएका छन् । २५ जनामध्ये दैनिक ३० लिटरभन्दा बढी दुध बिक्री गर्ने पाँच जना किसान रहेको उनीहरूले ५५ हजारभन्दा बढी रकम आम्दानी गरेका स्थानीय चिनारी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष देवीबहादुर रानाले बताउनुभयो ।
उहाँले समूहमा अहिले १२ जना युवा विदेशबाट फर्किएर पशुपालनमा लागेर सफल भएको सुनाउँदै एकल महिला, ज्याला मजदुरी गर्नेहरू समेत पशुपालनमा लागेको उल्लेख गर्नुभयो । विदेशमा सात वर्ष बसेर फर्कनुभएका स्थानीय बासिन्दा टिकाराम रेश्मीले दैनिक ५० लिटर दुध बिक्री गरेर मासिक ६० हजार रुपियाँ आम्दानी गरेको बताउनुभयो ।
यहाँका किसानले दुध बिक्रीबाट भएको आम्दानीको ६० प्रतिशतभन्दा बढी बचत हुने गरेको बताउँछन् । चिनारी सहकारी संस्थामा आबद्ध ३५ जना कृषकमध्ये अहिले सात जना किसानले व्यक्तिगत पश्ुफार्म दर्ता गरेको र अब पाँच वटा फार्म दर्ता गर्ने क्रममा रहेका छन् । यो गाउँका २५ जना किसानसँग अहिले कम्तीमा कोरली गाईसहित ५ वटा गाई दुध उत्पादन गर्न किसानले पालेका छन् ।  
जिल्ला पशुसेवा कार्यालयमार्फत भकारो सुधार कार्यक्रम अन्तर्गत दुई लाख, युवा लक्षित कार्यक्रमको पाँच लाख रुपियाँ, पशुविमाका लागि ५० हजार, ढुवानी खर्च ८० हजार, ४० हजार घाँस उत्पादनका लागि सहयोग भएको छ । यस्तै १ लाख रुपियाँको चापकटर मेसिन, २० वटा साइलेज बनाउन सहयोग प्रदान गरेको जिल्ला पशुसेवा कार्यालय पाल्पाका प्रमूख तुल्सीराम भण्डारीले बताउनुभयो ।
पशुपालनपछि दुध बिक्री गरेर भएको आम्दानीले यहाँका किसानलाई सामूहिक रुपमा काम गर्न प्रेरणा मिलेको छ भने आफ्नै गाउँमा बसेर विदेशको तुलनामा तेब्बर आम्दानी गर्न सकिने रहेछ भन्ने अनुभव दिएको छ । यस्तै पशुपालन क्षेत्रमा उन्नत जातका पशु भित्र्याउन र नयाँ प्रविधि ल्याउन समेत सहयोग मिलेको स्थानीय किसान अम्मरबहादुर थापामगरले बताउनुभयो ।



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना