रु. १२ अर्बको सिक्टा सिंचाई आयोजना परीक्षण क्रममै भत्कियो, छानविनको माग

सिराज खान
नेपालगञ्ज, असार १९ गते । बहुप्रतिक्षित राष्ट्र्यि गौरवको आयोजना सिक्टा सिंचाई आयोजनाको मूल नहर सुचारु नहुँदै परीक्षणक्रममा भत्किएपछि जिल्लाका बिभिन्न सरोकारवाला निकायहरुले आयोजनाको मूल नहरको निरीक्षण गरेर निर्माण छानविनको माग गरेका छन् ।

नेपाली काँग्रेस बाँकेको बिभिन्न भातृ संगठन लगायत पार्टीको एक उच्चस्तरीय टोलीले आइतवार भत्किएको मूल नहरको स्थलगत निरिक्षण गरी नहर अझै बिभिन्न ठाउँमा भत्किने अवस्थामा रहेको ठहर गर्दै तत्काल छानविन गरी पुननिर्माण गर्न लगाउनु पर्ने माग गरेको छ ।

भत्किएको नहरको स्थलगत अनुगमन गर्दै नेपाली काँग्रेस बाँकेको टोली ।

 

बाँकेका जनताको भविष्यसँग जोडिएको सिक्टा आयोजनाको काममा लापरबाही गर्ने ठेकेदारलाई कालोसूचीमा राखेर संलग्न प्राविधिकलाई पनि कारबाही गर्नुपर्ने कांग्रेस बाँके सभापति किरण कोइरालाले भत्किएको स्थलमै माग गर्नुभयो । ‘बल्लतल्ल आएको, त्यसमा पनि सरकारको अर्बौं रुपियाँ लगानी भएको आयोजनामा गुणस्तरहीन काम हुनु गम्भीर कुरा हो, ठेकेदारदेखि नियमन गर्ने निकायमाथि छानबिन गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

नहरको स्थलगत भ्रमणपछि बाँके काँग्रेसले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई एक ज्ञापन पत्र समेत पठाएको छ । ज्ञापन पत्रमा नहर निर्माणमा भएको गुणस्तरहीन कामको छानविन गरि तत्काल नहरको सबै भागलाई जाँच गरेर मात्र थप काम अगाडी बढाउन दिनु पर्ने माग गरिएको छ ।

यसैगरी नेकपा एमालेको भातृ संगठन युवा संघले पनि नहरको स्थलगत निरीक्षण गरेर नहरमा कमसल गुणस्तरको काम भएकोले भत्किएको ठहर गरेको छ । युवा संघले पनि प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापन पत्र पठाउँदै कमसल गुणस्तरको कामको तत्काल छानविन गर्न माग गरेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष एवं विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सिक्टा नहरमा कमसल निर्माण भएको पुष्टि भैसकदा पनि सरकारले समयमै छानबिन गरेर कारबाही अघि नबढाउँदा  दुःख लागेको बताउनु भयो । ‘जनताले मात्र खबरदारी गरिरहेका छन्, सिक्टाको बाँकी काम गुणस्तरहीन हुन नदिन सरकार र राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्छ,’ उहाँले भन्नुभयो ।

बाँके, महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोलानजिक आयोजनाको दायाँ मूल नहर मंगलबार परीक्षणक्रममा भत्किएको थियो । कचनापुर–१, अगैयास्थित बाँधस्थलदेखि ३५ किलोमिटरसम्मको मूल नहर अन्यत्र पनि ठाउँठाउँ चर्केको छ ।

२०६३ सालबाट निर्माण सुरु आयोजनाको बाँध र मूल नहरको ३५ किलोमिटर खण्डको काम सम्पन्न हुँदासम्म साढे १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल नहरमा प्रतिसेकेन्ड ५० क्युमेक्स पानी बग्न सक्ने क्षमता छ । आगामी आर्थिक वर्ष २०७३ र ७४ का लागि आयोजनालाई सरकारले थप एक अर्ब २६ करोड रुपियाँ विनियोजन गरिसकेको छ । अहिलेसम्म ५० प्रतिशत निर्माणकार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको सम्पूर्ण काम आगामी आव २०७६ र ७७ सम्म सम्पन्न हुने र लागत खर्च झन्डै २५ अर्ब पुग्ने अनुमान छ । कुल ४५ किमी मूल नहरमध्ये ३५ किमी खण्ड गत वर्ष सम्पन्न भएको थियो । चालू वर्ष बाँकी १० किमि निर्माणकार्य भइरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना