शिक्षण, सोच र सिकारु मनोविज्ञान

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’


पढेरभन्दा परेर जानिन्छ ।  सहरका कुकुरहरू पनि गाडी हेरेर मात्र सडक पार गर्छन् ।  घरमा सिन्को नभाँच्नेलाई अरू जहाँ पनि टिक्न चुनौती बन्छ नै ।  सिकाइमा वातावरण र सिकारुको तत्परताले मूल भूमिका खेलेकै हुन्छ ।  प्रारम्भिक शिक्षाको सिकाइमा वातावरणको तयारी कारक बन्छ ।  समयले मानिसलाई परिवर्तनमा अभ्यस्त बनाउँछ ।  आजभोलि बच्चालाई किताबी ज्ञानमा जति टाँठो बनाइँदै लगिए पनि नैतिक ज्ञान, अनुशासन र व्यावहारिकतामा नव पुस्ता दिनानुदिन खस्किँदै गएको प्रतित हुन्छ ।  दश कक्षा उत्तीर्ण गर्दासम्म ग्यास बालेर पानी तताउन नजान्ने उच्च विलासितालाई हेर्दा बालबालिकाको सिकाइ आत्मनिर्भरतामा कमजोरझैँ लाग्छ । अलिकति विकसित र सहरिया परिवेशलाई नियाल्दा ।  
कतिपय अवस्थामा तलबी लालचमा पेसेबर भएर शिक्षकले विद्यार्थीको सिकाइमा खेलबाड गरिरहेका पनि हुन्छन् ।  यो प्रशासनिक कमजोरीको अचानोमा विद्यार्थी दण्डित बनेका छन् ।  ट्युसन आफैँले पढाएर पैसा असुल्ने लालसामा कक्षागत सिकाइतर्पm जुझारु बन्न चासो नदिने तर सफलताका लागि आफैँसँग ट्युसन् पढ्नैपर्ने आन्तरिक स्वीकारोक्तिको बिजारोपण गर्न खप्पिस शिक्षकहरूको ‘बौद्धिकता’ ले के नैतिक भ्रष्टाचारको पक्षपोषण गरेको होइन र ! जुन पेसामा हामी संलग्न हुन्छौँ त्यसमा पाएको अवसरलाई सही सदुपयोग नगर्दै अपुग र अभावको झोला भिर्छौं ।  लगनशीलताले व्यावसायिक दक्षता विकास गरेर खुसी हुन सक्दैनौँ ।  अशान्त मानसिकताले गाँजेको शिक्षकले कस्तो शैक्षिक प्रतिफल दिएर शैक्षिक गुणस्तर कायम गराउला ? पेसागत नैतिक मूल्य स्थापनाका आधारमा हेर्दा शिक्षण सम्मानित र मर्यादित पेसा अवश्य पनि हो ।  यदि आफूले गरेको काममा सबैले वास्तवमा दक्षता पोख्ने हो भने देश बन्न गाह्रो नै कहाँ छ र !
अर्कोतिर समाज पनि शिक्षणमा संलग्न व्यक्तिहरूलाई अरू कुनै अवसर नपाएर पढाएको आरोप लगाउँछ ।  पैसा तिरेर बालबालिका पढाउने कतिपय अभिभावक अनावश्यक दोष शिक्षकको टाउकामा खन्याउन जान्दछन् तर त्यही बच्चालाई शनिबार र बिदाको दिन खुसी बनाएर राख्न नसकेका आफ्ना कमजोरीलाई बिर्सिन्छन् ।  अर्कोतिर डर त्रासमा मात्र राम्रो सिक्छन् भन्ने शिक्षकको गलत र अमानवीय प्राचीन सोचका कारणले विद्यार्थीले नजानेका प्रश्नहरू शिक्षकसँग सोध्नै डराउँछन् ।  शिक्षा, शिक्षक र शिक्षित व्यक्तिको व्यवहारले समाजको निर्माण र भविष्यका स्वर्णिम रेखा कोरिन्छन् ।  प्रश्नपत्र सक्दो अप्ठ्यारो बनाएर नै विद्यार्थीको ज्ञान, सीप र दक्षताको मूल्याङ्कन हुने अवैज्ञानिक सोचले कस्तो शैक्षिक गुणस्तर कायम होला र ? यसर्थ बालमनोविज्ञान र शिक्षकको बालमैत्री व्यवहारले शिक्षण सिकाइमा अहम् भूमिका खेलेको हुन्छ ।
प्रारम्भिक शिक्षातिर आँखा लगाउँदा ट्युसन पढाएर खल्ती दह्रो पार्ने लोभले विद्यार्थीको मस्तिष्कमा गणित, विज्ञान, अङ्ग्रेजी विषयको तुलनामा नेपाली, सामाजिकजस्ता विषयको मूल्य घटाइएको प्रतित हुन्छ ।  अर्कोतिर आजको नव पुस्ताको नेपाली भाषामा धेरै हदसम्म अङ्ग्रेजी शब्दले हैकम जनाइरहेको छ ।  कतिपय अवस्थामा उनीहरूले नेपाली शब्द भेट्टाउनै सक्दैनन् ।  समयले जति फड्को मारे पनि आफ्नै राष्ट्रिय गौरवले परनिर्भरताको खोल ओढिरहेको तीतो यथार्थ आजै देखिरहेको विषय हो ।  
अर्काको काम कहिले जाला घाम भनेर जागिर खानेले देशको मियो कसरी सोझ्याउलान् र ? शिक्षकले इन्जिनियर उत्पादन गर्छ, शिक्षकले पाइलटलाई पढाएको हुन्छ, फेरि शिक्षक र उसप्रति हेर्ने समाजको दृष्टिकोणमा किन कालो धब्बा
छ ? जति सम्मान निजामती कर्मचारीलाई गरिन्छ तर राष्ट्रका खम्बा तयार पार्ने शिक्षकको सम्मान तुलनात्मक हिसाबमा कमै हुन्छ ।  समाजले कालोधन सोहोर्न सजिलो हुने पेसालाई ठूलो सम्मान दिएर हेरिरहेको छ आज ।  वास्तवमा शिक्षण सम्माननीय पेसा हो ।  बौद्धिकता सबै क्षेत्र र पेसामा प्रयोग होला तर शिक्षण पेसाबाट बौद्धिक प्रतिभालाई उत्पादन गरिन्छ ।  शिक्षण कार्य भनेको कला र विज्ञानको संयोजन गर्ने व्यक्तिको खुबी हो ।  
असल र क्षमतावान् व्यक्ति मात्र शिक्षक बन्छन् जसले विशेषतः कालो धनरहित कर्मको प्राप्तिबाट आपूmलाई सन्तुष्ट बनाएका हुन्छन् ।  अरू केही गर्न नसकेकाहरूले शिक्षाको बागडोर सम्हाल्ने हो भन्ने सङ्कुचित सोचकै कारण पनि हाम्रो समाजमा शिक्षण पेसाप्रति भ्रम जन्मिरहेको हुन्छ ।  आज शिक्षामा जति मोटो रकम खर्चिंदै गइएको भए पनि सोचमा परिवर्तन नआउने हो भने शैक्षिक लगानी बालुवामा पानी बन्नसक्छ ।  शिक्षा र राजनीति आफैँमा विपरीत विषय हुँदाहुँदै पनि आज शैक्षिक राजनीति प्रबल बन्नु आफैँमा असान्दर्भिक र निन्दनीय पक्ष हो यद्यपि शिक्षा र शिक्षक वास्तवमा राष्ट्रनिर्माणका दह्रिला खम्बा हुन् ।  शिक्षक आफैँमा जिम्मेवार राष्ट्रसेवक तथा भविष्यका कर्णधार निर्माता हुन् ।
ऋषिहरूका पालामा सायद धेरै घोक्नु पथ्र्यो होला त्यसैले घोकन्ते विद्या धावन्ते खेती भनिएको हुनसक्छ तर आजभोलि यो कुरा कतिपय अवस्थामा फेसनझँै लाग्छ ।  कतिपय सूत्र, परिभाषालाई घोक्नै पर्ने कुरा त ठीकै हो तथापि मूल कुरो नबुझी केवल घोकेर कस्तो ज्ञान पाइएला ? शिक्षकले आफ्नो जिम्मेवारी र ज्ञान बाँड्ने ठूलो अवसरको रूपमा शिक्षण पेसालाई अनुभूति गर्न सक्नुपर्छ ।  कलिला निर्दोष मस्तिष्कमा मौलिक अनुभवी सभ्यताको बिजाङ्कुरण गर्नुको साटो अवैज्ञानिक प्रतिशोध उत्पन्न हुने कार्य दोषपूर्ण हुन्छ ।  दबाबको र लादिएको सिकाइको इगोको कारणले पनि पढाइ बोझ बन्छ ।  पढाइप्रति बालकले जागरुकता देखाउने वातावरण निर्माणकर्ताभित्र अभिभावक, विद्यालय र शिक्षक सबै जिम्मेवार बन्छन् ।  अभिभावकको सम्पत्ति बालबालिका हुन् भने यसको संस्कार, सङ्गत र सभ्यता शिक्षक तथा अभिभावकले नै सिकाउन जान्नुपर्छ किनकि असल संस्कारले व्यक्ति असल बन्छ, असल व्यक्तिले राष्ट्रनिर्माणमा अवश्य टेवा पु¥याउँछ ।  आमाबाबाको माया र संस्कार मूल्यवान् अवश्य बन्छ तर विभेदपूर्ण व्यवहारले बालमस्तिष्कलाई गहन असर पु¥याएको हुन्छ ।  आजको कडा शैक्षिक प्रतिस्पर्धाभित्र रहेर शैक्षिक सुदृढीकरण गर्दै शिक्षित बेरोजगारीहरूको समस्या एकैसाथ समाधान गर्नु ठूलो चुनौतीको विषय हो ।
समग्रमा हेर्दा सिकारु मनोविज्ञानलाई नपढी क्षमताभन्दा बढी पढाइको बोझका कारण सिकारुलाई यातना दिइनु मानवीय पक्ष हैन ।  असल शिक्षकले बुझ्नुपर्ने कुरा हो, विद्यार्थीको घरमा कोही परिवार बिरामी परेका कारण उसले गृहकार्य नगरेको हो या घरमा पढ्ने वातावरण नै कुनै कारणले खल्बलिएको हुन सक्छ ! या त विविध विषयको गृहकार्यको भारका कारणले अभ्यास गर्न नभ्याएको पो हो कि या नबुझेर होस् यी पक्षमा नसोची शिक्षकको एकात्मक दृष्टिकोणका कारण आज पनि शिक्षार्थी दण्डित बन्छन् ।  सिकारुले सिक्न सही वातावरण चाहिन्छ ।  बालकको पहिलो पाठशाला घर नै हो त्यसैले संस्कार र सभ्यता घरबाटै सिकाइएमा मात्र विद्यालयमा सिकाइने कार्य सहज हुन्छ ।
माया र प्रेमले कठोर पाषाण हृदय पग्लिन्छ ।  सिकारुको मनमा पनि भावना हुन्छ ।  उसका पनि आफ्ना निजी आवश्यकता र चाहना अनि अभाव होलान् ।  अर्को पक्ष सबैमा एकैपटकमा सिकाएको कुरा टिप्ने हुँदैन किनकि सबैको प्रकृति एउटै हुँदैन ।  वास्तवमा शिक्षक एक सहजकर्ता हो ।  समयले शिक्षामा फड्को मार्दै जान्छ ।  शिक्षण कार्य जटिल विषय हो तथापि यो कला र विज्ञानको संयोजनको प्रभावकारी साङ्गठनिक रूप पनि हो ।  यसमा जान्दा जति मजा छ नजान्दा त्यति नै जटिल हुन्छ ।  प्रभावकारी र मनोवैज्ञानिक शिक्षणबाट सफल शिक्षक बन्ने कोसिस गरौँ, सबैले सिकारुलाई सही संस्कारमा राखौँ ।  शिक्षक धेरै बन्छन् तर सफल शिक्षक बन्नु चाहिँ महान् कार्य हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना