राणाकालीन दरबारः केही रेट्रोफिट हुने, केही नयाँ बन्ने

नारद गौतम

काठमाडौँ, असार १९ गते ।  अघिल्लो वर्षको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक भवनमध्ये केही ऐतिहासिक राणाकालीन दरबारहरू भत्काइँदैछ भने केही भवनको सबलीकरण (रेट्रोफिटिङ) गरिने भएको छ ।  
सार्वजनिक भवनहरूको पुनःनिर्माणका लागि कम्तीमा २७ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान छ ।  यसमा सुरक्षा निकाय, स्थानीय निकाय, शिक्षा र स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय पर्दैनन् ।  सामान्य मर्मत गर्दा हुने, सबलीकरण गर्नुपर्ने र नयाँ बनाउनुपर्ने गरी भूकम्पबाट क्षति भएका भवनलाई तीन वर्गमा वर्गीकरण गरिएको छ ।  विभिन्न जिल्लामा गरी २१० वटा सरकारी कार्यालयको पुनःनिर्माण गर्नुपर्ने र २८३ वटा भवनको मर्मत गर्नुपर्ने प्रतिवेदन आएको थियो ।  
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई बबरमहलका आयोजना निर्देशक इन्जिनियर शिवहरि शर्माले भन्नुभयो, काठमाडौँका राणाकालीन दरबारहरू धेरैजसोको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ, केही भवनको थप अध्ययन गरेपछि मात्रै पूरै भत्काएर बनाउने वा सबलीकरण गर्ने टुङ्गो लाग्न बाँकी छ । ’’
राष्ट्रपति कार्यालय शीतल निवासको पछाडिपट्टिको भाग भत्काएर पुनःनिर्माण गर्ने टुङ्गो लागिसकेको छ भने अग्रभाग भत्काउने वा सबलीकरण गर्ने भन्ने विषयमा राष्ट्रपति कार्यालयलाई पत्राचार गरिएको छ ।  निर्देशक शर्माले राष्ट्रपति कार्यालयको अग्र भाग जोगाएर सबलीकरण गर्ने पक्षमा आफूहरू रहेको जानकारी दिनुभयो ।  
यसैगरी, कान्तिपथस्थित उपराष्ट्रपति कार्यालय र निर्वाचन आयोग नेपाल रहेको बहादुर भवनलाई हाललाई सबलीकरण गरिने छ ।  नयाँ भवन निर्माण गर्दा जति खर्च लाग्छ भवन सबलीकरण गर्दा त्यसभन्दा ३० प्रतिशतसम्म बढी खर्च लाग्ने अनुमान छ ।  
एसियाली विकास बैङ्कको सहयोगमा काठमाडौँ बाहिरका ११ जिल्लाका विभिन्न सार्वजनिक भवनहरूको सबलीकरण र पुनःनिर्माण गरिने छ ।  उपत्यकामा रहेको केन्द्रीय, क्षेत्रीय र जिल्लास्तरका भवनहरूलाई क्षतिको अवस्था हेरी वर्गीकरण गरिने छ ।  बैङ्कको कार्य क्षेत्रमा नपरेका सार्वजनिक भवनहरूको निर्माण प्रक्रिया नेपाल सरकारले निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी निर्देशक शर्माले दिनुभयो ।  
भत्किने राणाकालीन दरबारहरू
भत्काउने भनी निर्णय भएका राणाकालीन दरबारहरूमा पुल्चोकस्थित हरिहर भवन, निजामती किताबखाना, केन्द्रीय पुस्तकालय तीनवटै भवनको पुनःनिर्माण गरिने छ ।  त्यसैगरी भवन विभागका लागि समेत भवन निर्माण गरिने भएको छ ।  यी चार वटा भवनको डिजाइन गर्न सूचना प्रकाशन भइसकेको छ ।  यस्तै, भत्काइनेमा ललितपुरको जुद्धवारुण यन्त्र रहेको कार्यालय पनि परेको छ ।  
यसैगरी, राष्ट्र बैङ्कका बालुवाटार र थापाथलीमा रहेका दुईवटै भवन भत्काइने भएको छ ।  यी दुवै दरबार भत्काएर नयाँ भवन बनाउने निर्णय भइसकेको छ ।  यी दुवै भवनको निर्माण कार्य राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजनाले गर्ने छ ।  भवन निर्माणका लागि केही दिनभित्रै समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी पनि निर्देशक शर्माले दिनुभयो ।
राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग रहेको सिंहदरबारको पनि निर्माण कार्य अब छिट्टै सुरु गरिने छ ।  
बबरमहलस्थित महालेखा परीक्षकको कार्यालय र सडक विभाग रहेको भवन र केशर महल भने भत्काउने वा सबलीकरण गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।  यी दुवै भवनको थप अध्ययन भइरहेको छ ।  यस्तै, अन्य राणाकालीन दरबारहरू केन्द्रीय बाल कल्याण नक्साल काठमाडौँ भवन, ललितपुरस्थित सिँचाइ विभाग रहेको भवनमा पनि भूकम्पले क्षति गराएको छ ।  
आयोजनाकै उपनिर्देशक इन्जिनियर सुरेश वाग्लेले ऐतिहासिक महत्वका सार्वजनिक भवनहरूको पुनःनिर्माणका लागि कम्तीमा २७ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो ।  यसमा सुरक्षा निकाय, स्थानीय निकाय, शिक्षा र स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय भने राखिएको छैनन् ।
सिंहदरबारभित्रका भवन केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सिंहदरबार पुनःनिर्माण समितिबाट र सिंहदरबारबाहिरका भवनको हकमा ५० करोडभन्दा बढी लागत भएका भवनहरू केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाटै र त्यसभन्दा कम लागत भएका भवन सम्बन्धित जिल्ला कार्यान्वयन इकाईबाट गरिने भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना