देशभर भारी वर्षा

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असार १९ गते ।  बिहीबारबाट मनसुन सक्रिय भएपछि शनिबार नेपालका मध्य र पश्चिमी क्षेत्रमा बढी पानी परेको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालमा आइतबारबाट आकाश सफा हुने भए पनि पश्चिम नेपालमा भने केही दिन मौसममा बदली हुनसक्ने सम्भावना छ ।
शनिबार सबैभन्दा बढी वर्षा पोखरामा ९० मिलिमिटर, काठमाडांँैमा ६० मिलिमिटर र धनगढीमा ५५ मिलिमिटर भएको छ ।  पश्चिम नेपालका सबैजसो स्थानमा वर्षा भएकाले काठमाडौँबाट पश्चिमतर्फका हवाई उडान पनि प्रभावित भएका छन् ।  
बिहीबार र शुक्रबार गरेर देशभरमा पाँच दर्जन स्थानमा पहिरो गएको छ ।  धादिङको चेपाङ बस्तीमा माथिबाट पहिरो आउँदा केही परिवार वर्षाको झरीमा घरबाहिर बस्नुपर्ने अवस्था आएको छ ।  दार्चुला जिल्लामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।  शनिबार राति कालीगण्डकी नदीमा आएको बाढीले तनहँु र नवलपरासी जोड्ने निर्माणाधीन पुलको आधा भाग बगाएको छ ।  Myagdi beni bazar
नारायणी नदी खतराको तहमा
शनिबार बिहानदेखि साँझसम्म जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा नारायणी नदीमा पानीको सतह खतराको तहसम्म पुगेको साइरन बजिरह्यो ।  नारायणी नदीको इन्डेक्स ५१०५ रहेको पञ्चासेमा रहेको मापन यन्त्रले पानीको सतह निकै बढ्दा तल्लो क्षेत्रमा खतरा हुन सक्ने जनाउ दिइरहेको थियो ।  विभागअनुसार शनिबार बिहानैदेखि नदीमा पानीको सतह बढेर १९४ मिलिमिटर पुगिसकेको छ ।  
विभागले प्राकृतिक विपत्ति बाढी, पहिरोको जोखिमको पूर्व सूचना प्रवाह गर्ने उद्देश्यले आफ्नो वेबसाइटमा नदी प्रणालीमा जडान गरिएका हरेक स्टेसनमा पानीको सतहबारे सूचना जारी गर्ने गरेको छ ।  बढी तथा पहिरो आउन सक्ने प्रमुख नदीमा हिमाली क्षेत्रदेखि तल्लो तराईको क्षेत्रसम्म पानी मापन गर्ने प्रविधि जडान गरिएको छ ।  
विभागका महानिर्देशक डा. ऋषिराम शर्माले मनसुन सक्रिय भएपछि नारायणी नदीमा पानीको तह निक्कै वृद्धि भइरहेको जानकारी दिनुभयो ।  उहाँले तल्लो तटीय क्षेत्रमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।  अघिल्लो हप्ता पनि केही नदीमा पानीको मात्रा खतराको तहमा पुगेको थियो, यसपटक नारायणीमा देखिएको उहाँले बताउनुभयो ।  
हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र बेनी जोमसोम सडक पहिरोले तीन दिनदेखि अवरुद्ध छ ।  राजधानीलाई मुलुकका अन्य  भूभागसँग जोड्ने चितवनको मुग्लिन सडक खण्ड भारी वर्षाका कारण चार ठाउँमा गएको पहिरोले अवरुद्ध भएको थियो ।  स्थानीय प्रहरी, प्रशासन र सडक विभागका लामो प्रयास पछि शनिबारबाट यो सडकखण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ ।  
हिमताल फुट्ने जोखिम छैन
संसद् अन्तर्गतको राज्यव्यवस्था समितिमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले प्रस्तुत गरेको एउटा कार्यपत्रका आधारमा नेपालका २० वटा ठूला ताल फुट्न सक्ने भन्ने समाचारलाई सरकारी अधिकारीले खण्डन गरेका छन् ।  
उनीहरूले अध्ययन यथार्थपूर्ण नभएको टिप्पणी गरेका छन् ।  जोखिमपूर्ण हिमतालको पानीको व्यवस्थापन गर्दै आएको जल तथा मौसम विज्ञान विभागले नेपालका हालसम्म उच्च जोखिममा सातवटा हिमताल मात्र रहेको स्पष्ट पारेको हो ।  
विभागका महानिर्देशक डा. शर्माले भन्नुभयो, पछिल्लो पटक गरिएको अध्ययनअनुसार नेपालमा उच्च जोखिममा सातवटा ठूला हिमताल छन् ।  तीमध्ये च्छो रोल्पामा पानीको व्यवस्थापन गरिसकिएको छ भने अत्यन्तै जोखिममा रहेको अर्काे ठूलो हिमताल इम्जाको पानीको व्यवस्थापन गर्न नेपाली सेनालाई जिम्मा दिइएको छ ।  अरु तालहरूबाट तत्काल ठूलो खतरा देखिँदैन ।  
यो वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना भएकाले भूकम्पले प्रभावित ठाउँमा पहिरो जान सक्ने सम्भावना छ ।  विभागले मनसुन सुरु नहुँदै यस विषयमा सम्बन्धित निकाय र सरोकारावालालाई सचेत रहन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना