माओवादीबाट राष्ट्रिय सरकार निर्माणको पहल

maobadi-kendraकाठमाडौँ, असार १९ गते ।  नेकपा (माओवादी केन्द्र)ले संविधान कार्यान्वयनलगायतका कामलाई सहज ढङ्गले अगाडि बढाउन संयुक्त राष्ट्रिय सरकार निर्माणको पहल गर्ने भएको छ ।  पार्टी कार्यालय पेरिस डाँडामा शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय सरकार गठनका विषयमा सबैभन्दा पहिले सत्तारुढ दल नेकपा  (एमाले) सँग छलफल गर्ने निर्णय गरेको छ ।  
एमालेसँग भएको नौ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै बैठकले संयुक्त सरकार निर्माण गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।  कार्यालय बैठकले विगतमा भएका सहमति कार्यान्वयनका लागि नेकपा (एमाले) सँग वार्ता गरेपछि सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे अन्तिम निष्कर्षमा पुग्ने कोटेश्वर पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
पार्टी प्रवक्ता भुसालले भन्नुभयो, विगतमा भएका सहमति कार्यान्वयनको पहल गर्ने निर्णय बैठकले गरेको छ सहमति पालना भएन भने अध्यक्ष प्रचण्डले संयुक्त सरकार निर्माणका लागि पहल गर्नुहुनेछ ।  उहाँले संयुक्त राष्ट्रिय सरकारमा एमाले हट्नुपर्छ नै भन्ने नरहेको समेत बताउनुभयो ।  प्रवक्ता भुसालले संयुक्त राष्ट्रिय सरकार निर्माणका लागि नेपाली काँग्रेससँग ठोस रूपमा वार्ता भइनसकेको दाबी पनि गर्नुभयो ।  प्रवक्ता भुसालले नयाँ आर्थिक वर्षको बजेट पारित भएपछि माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिनेबारे एमालेका नेताहरूसँग भद्र सहमति भएको र सहमतिका विषयमा एमालेकै नेतृत्वले सार्वजनिक रूपमा बोलिसकेको समेत उहाँले बताउनुभयो ।  
बैठकपछि माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले नौ बुँदै सहमति र भद्र सहमति कार्यान्वयन नभएकाले तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि राजनीतिक दलवीच संवाद गर्न माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई जिम्मेवारी सुम्पेको बताउनुभयो ।  उहाँले सरकार परिवर्तन र निर्माण साउन महिनाभित्रै हुने सम्भावना रहेको दाबी गर्नुभयो ।  
यसैबीच पार्टीको आगामी महाधिवेशनको तयारीबारे निर्णय गर्न असार २१ गते पोलिटब्युरो बैठक बस्ने भएको छ ।  एक हजार चारसय ९९ महाधिवेशन आयोजक समितिलाई घटाएर माओवादी केन्द्रले आगामी महाधिवेशनबाट एकसय ५१ सदस्य केन्द्रीय समिति बनाउने निर्णय गरेको छ ।  यस्तै, प्रदेश कमिटी ९९ सदस्य र जिल्ला कमिटी ७५ सदस्य बनाउने निर्णय गरिएको प्रवक्ता भुसालले बताउनुभयो ।  प्रदेश सम्मेलन मङ्सिरभित्र सम्पन्न गर्ने निर्णय पनि पार्टीले गरेको छ ।  
पार्टीभित्र समानुपातिक समावेशी प्रतिनिधित्वलाई ध्यानमा राखेर पार्टीको महाधिवेशनमा ५० प्रतिशत खुला प्रतिस्पर्धा, ४० प्रतिशत विशेष समानुपातिक र १० प्रतिशत मनोनीत हुने गरी निर्वाचन व्यवस्था मिलाएको प्रवक्ता भुसालले बताउनुभयो ।  माओवादी पार्टीमा निर्वाचन खुला गरिएको यो पहिलो पटक हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना