सञ्चालनमा नआई १० वर्ष थन्किएर बिग्रियो डायलोसिस मेसिन

सिराज खान
नेपालगञ्ज, असार १८ गते । भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा ल्याइएको डायलोसिस मेसिन सञ्चालनमा नआउँदै बिग्रेर थन्किएको छ । मध्य र सुदूरपश्चिमको रिफरल सेन्टर यो अस्पतालमा डायलोसिस मेसिन आएको दश वर्ष भइसकेको छ ।

मेसिन राख्दाराख्दै बिग्रिएको जनाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामसुन्दर यादवले मेसिनलाई मर्मतका लागि पठाइएको बताउनु भयो ।

स्वास्थ्य विभागले अमिक शेरचन स्वास्थ्यमन्त्री हुँदा भेरीमा डायलेसिस मेसिन पठाएको थियो । त्यसबेला मेसिन जडान नगरी त्यत्तिकै थन्क्याइएको थियो । यसअघि मेसु हुँदा डा. यादवले नै मेसिन सञ्चालनका लागि प्रयास गरेको बताउन भयो । डा. यादव नै दोस्रो पटक मेसु भएर आएपछि मेसिन सञ्चालनका लागि सोधीखोजी गरिएको छ । मेसु डा. यादवले भन्नुभयो,–‘चल्छ कि भनेर प्रयास गरेको छु । राख्दाराख्दै पूरै बिग्रिसकेको रहेछ । त्यही भएर मर्मतका लागि पठाएको छु ।’ उहाँले बनाएर चल्छ भने केही खर्च गरेर सेवाको शुरुवात गरौं भनेर लागेको बताउनुभयो ।

कोहलपुरमा मात्रै डायलोसिस गर्दा सरकारले भनेको निःशुल्क सेवा सबैले छिटोछरितो रुपमा पाउने संभावना छैन । अहिले पनि कोहलपुरमा लाइन लाग्नु पर्ने अवस्था छ ।

सरकारले छिटोछरितो सेवा दिनका लागि मध्य र सुदूरपश्चिमको रिफरल सेन्टर भेरीमा डायलोसिस सेवा सञ्चालन गर्नु जरुरी रहेको स्वास्थ्य क्षेत्र सम्बद्धहरुको भनाइ छ । मेसु डा. यादवले आफ्नै अस्पतालमा सरकारले सेवा दिन नसकेमा त्यो विडम्बना हुने बताउनुभयो । अस्पताल प्रशासनले भेरीमा चारवटा डायलोसिस मेसिन दिएमा निःशुल्क सेवा सञ्चालन गर्न सकिने बताएको छ ।
मध्य र सुदूरपश्चिमका २४ जिल्लाका बिरामी आउने भेरीमा डायलोसिस सेवा नहँुदा धेरै बिरामी समस्यामा छन् ।

डा. यादव मेसु भएर आएपछि सात वर्षदेखि बन्द रहेको आइसीयु सेवा सञ्चालनमा आएको छ । पुरानो भेन्टिलेटर, मोनिटर मर्मत गरी आन्तरिक स्रोतबाट आइसीयू सेवा सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले जनाएको छ ।

लागुपदार्थ प्रयोगकर्ताको अखडा बनेकाले चोरीका घटनामा वृद्धि भएपछि त्यसलाई नियन्त्रण गर्नका लागि अस्पताल प्रशासनले भेरी अञ्चल अस्पतालमा सिसि क्यामेरा जडान गरेको छ । क्यामेरा जडानपछि बिरामीको बेडबाटै पैसा चोरी हुने घटनामा पनि कमी आएको अस्पतालले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना