पत्रकारिता र शिक्षण सँगसँगै चार दशक

kundan aryalडा.कुन्दन अर्याल

 

उहाँले केही प्राप्त होला भन्ने आशामा आफ्ना असन्तुष्टिलाई गुम्स्याएर राख्न जान्नु भएको छैन ।  उहाँका लागि आलोचनाको घेराभन्दा माथि कोही छैन ।  त्यस्ता व्यावसायिक बुुद्धिजीवी प्राध्यापक परशुराम खरेललाई राजनेता भण्डारीको पैंसठ्ठीयौं जन्म जयन्तीका अवसरमा प्रधानमन्त्री केपी ओलीले मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कारद्वारा सम्मान गर्नुभयो ।  
वि.संं २०३० मा गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन द राइजिङ नेपालको रिपोर्टर भएर पत्रकारिताको थालनी गर्नुभएका परशुराम खरेललाई त्यही प्रकाशनले पी. खरेलका रूपमा स्थापित ग¥यो ।  बहुदलीय व्यवस्थाको पुनःस्थापनाको केही वर्षपछि उहाँ त्यही प्रकाशनको प्रधान सम्पादक नियुक्त हुन भयो ।  त्यतिबेलासम्म उहाँ खासगरी अन्तर्राष्ट्रिय मामिलामा तीखो टिप्पणी गर्ने पी. खरेलका रूपमा सुपरिचित भइसक्नु भएको थियो ।  परशुराम कसरी पी. हुन पुग्नु भयो भन्ने सम्बन्धमा छुट्टै कथा छ ।  
सुरुसरुमा लेख्दा वरिष्ठ उपसम्पादकले पुछारमा नाम राख्न सिकाएका थिए ।  त्यसमाथि पनि लामो नाम अटेन भनेर उहाँलाई छोटकरीमा लेख्न प्रेरित गरियो ।  समयक्रममा उहाँको यही छोटो नाम सबैको प्रिय हुन पुगेको छ ।  अहिले त पत्रकार पी. खरेल धेरैका लागि प्राध्यापक खरेलका रूपमा सुपरिचित हुनुहुन्छ ।  पत्रकार खरेल र प्राध्यापक खरेलबीचको समन्वय र सम्बन्धको झण्डै चार दशक लामो इतिहास छ ।  
जतिखेर नेपालमा पत्रकारिता शिक्षा बामे सर्दै थियो, पढाउन सक्ने अरू पनि थिए तर पत्रकारिता र पत्रपत्रिका शिक्षालाई सँगसँगै अघि बढाउने दुःख गर्न भने लालध्वज देउसा राई र पी.खरेल मात्र अग्रसर हुनु भयो ।  नेपालमा पहिलोपटक पत्रकारिता शिक्षाको आवश्यकता प्रथम पे्रस कमिसनले ०१५ सालमा प्रकाशित गरेको रिपोर्टमा औंल्याइएको थियो तर औपचारिक संरचनाअन्तर्गत पत्रकारिता अध्ययन त्रिभुवन विश्वविद्यालयको रत्नराज्यलक्ष्मी क्याम्पसमा प्रविणता प्रमाणपत्र तहमा इच्छाधीन विषयका रूपमा २०३३ सालमा मात्र सुरु भयो ।  समयक्रममा पाटन संयुक्त क्याम्पसमा पत्रकारितामा स्नातक तहमा पढाइ सुरु भयो तर स्नातक तहको अध्ययनलाई पनि एक सत्रपछि नै रत्नराज्यलक्ष्मी क्याम्पसमै सारियो ।  लालध्वज देउसा राईको नेतृत्वमा चालीस वर्षअघि स्थापित रत्नराज्यलक्ष्मी क्याम्पसको पत्रकारिता विभागले नेपालमा पत्रकारिता शिक्षाको परम्परालाई निरन्तर अघि बढाइरहेकै छ ।  त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय पत्रकारिता विभाग स्थापना भएको पनि डेढ दशक भइसक्यो ।    
सैंतीस साल वैशाखमा भएको जनमत सङ्ग्रहको समयदेखि आजसम्म पी.खरेलको त्रिभुवन विश्वविद्यालयको पत्रकारिता कक्षामा निरन्तर उपस्थिति रही आएको छ ।  यसबीच उहाँ रिपोर्टर वा उपसम्पादक, नयाँ दिल्लीमा द राइजिङ नेपालको प्रतिनिधि, प्रधानसम्पादक, जर्मन संस्था फ्रेडरिक एवर्ट स्टुफ्टिङको एसिया प्यासिफिक मिडिया एडभाइजर (एसिया प्रशान्त सञ्चार सल्लाहकार) अनि राष्ट्रिय समाचार समिति र नेपाल प्रेस इन्स्टिच्युटजस्ता संस्थाहरूको अध्यक्ष पनि हुनु भयो तर प्राध्यापन कहिल्यै छुटेन ।  यहीबीच उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता विभागको पनि नेतृत्व गर्नुभयो ।  वर्षौंसम्म दिनहुँको पत्रकारिता र त्यसपछि पनि नियमित स्तम्भ लेखनका अतिरिक्त खरेलले गर्नुभएको मिहिनेत, दिनु भएको समय र बाँड्नु भएको ज्ञानकै कारण आज नेपालमा पत्रकारितामा विद्यावारिधिसम्म गर्न पाइने भइसकेको छ ।  
त्यसबेलाको विश्वविद्यालयमा प्रविणता प्रमाणपत्र तह र नेपाल प्रेस इन्स्टिच्युटमा आधारभूत पत्रकारिता प्रशिक्षणबाट सुरु भएको नेपाली पत्रकारिता शिक्षाले आज नयाँ उचाइ प्राप्त गरेको छ ।  यसका लागि गोरखापत्र संस्थानबाटै पत्रकारिताको थालनी गर्नुभएका लालध्वज देउसा राई, भारतदत्त कोइराला, गोकुलप्रसाद पोखरेल र ध्रुवहरि अधिकारी एवं राससका पूर्व वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण रेग्मीलगायत कैयौँ व्यक्तित्वको योगदानको कदर गर्नैपर्छ ।  साथै, नेपाली पत्रकारिताको उच्च शिक्षामा पी. खरेलले केही विशेष कारणहरूले विशिष्ट स्थान हासिल गर्नुभएको यथार्थलाई पनि आत्मसात् गर्नुपर्छ ।  
नेपालको पत्रकारिता शिक्षाको क्षेत्रमा सबैभन्दा बढी पुस्तक प्राध्यापक खरेलकै छन् ।  उहाँका सोह्रवटा पुस्तकमध्ये पछिल्ला तीनवटा त उच्च प्राज्ञिक अभ्यासका उदाहरणका रूपमा देखिएका छन् ।  पोलिटिकल कम्युनिकेसन, पार्टीसिपेटरी डेमोक्रेसी र ह्वील अफ कम्युनिकेसन पत्रकारिताका लेखन, सम्पादन वा रिपोर्टिङसम्बन्धी औसत दर्जाका किताब होइनन्, आमसञ्चार सिद्धान्तका विषयमा मौलिक ढङ्गले लेखिएका कृतिहरू हुन् ।  
उहाँकै अगुवाईमा पत्रकारितामा एम फील तहको पाठ्यक्रम तयार भइसकेको छ र अब यसको अध्यापन सुरु गर्ने उहाँको धोको छ ।  पी. खरेलकै शोध निर्देशनमा नेपालमा पहिलोपटक त्रिभुवन विश्वविद्यालयले पीएच डी इन जर्नालिज्म उपाधि प्रदान गरिसक्यो ।  अहिले पनि उहाँ त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा विद्यावारिधि गरिरहेका पाँच–सात जनाको शोध निर्देशक हुनुहुन्छ ।  
खरेल नेपालका अधिकांश पत्रकारका निम्ति गुरु हुनुहुन्छ ।  उहाँसँग विश्वविद्यालयमा पढ्ने मौका नपाएका पत्रकारहरू पनि उहाँलाई गुरु मान्छन् ।  किनकि औपचारिक शिक्षाका कक्षाहरूका अतिरिक्त उहाँ तालिमका प्रशिक्षक पनि हुनुहुन्छ ।  २०४० सालमा नेपाल प्रेस इन्स्टिच्युटको स्थापना भएदेखि नै उहाँ एक लोकप्रिय प्रशिक्षकका रूपमा परिचित हुनुहुन्छ ।  
निर्भिकतालाई पत्रकारिता शिक्षाको कक्षामा पत्रकारका लागि एक अत्यावश्यक आधारभूत गुणका रूपमा व्याख्या गरिँदै आएको छ ।  पत्रकारिताको यो आधारभूत सर्तलाई पी.खरेलले सुरुवातदेखि नै आत्मसात गर्नुभएको छ ।  वरिष्ठ समाजशास्त्री कृष्ण भट्टचन तीसको दशकमा आफू टेवुल टेनिसको प्रशिक्षक हुँदा खरेलले खेल पत्रकारका रूपमा धरानबाट गरेको रिपोर्टिङलाई आज पनि सम्झिनु हुन्छ ।  त्यसबेला टेबुल टेनिससम्बन्धी प्रतियोगितामा भाग लिन गएका खेलाडीहरूलाई स्थानीय आयोजकहरूले गरेको दुव्र्यवहारसम्बन्धी समाचार नवयुवक खरेलले राइजिङ नेपालमा पठाउनु भएको थियो ।  भट्टचन सम्झना गर्नु हुन्छ, त्यो बेलाको सरकारी समाचारपत्रमा आयोजकको भण्डाफोर गरेर त्यस्तो समाचार पठाउन सक्नु निर्भिकता नै थियो ।  पढ्न, लेख्न र ज्ञान बाँड्न पाइरहियोस् भन्ने खरेल पत्रकारिताको व्याख्यान मात्र दिनुहुन्न ।  चौसठ्ठी वर्षे उमेर र चालीस वर्षको पत्रकारिता अनुभव, उहाँको व्यवहारबाटै सिक्न सकिने गुणहरू धेरै छन् ।  
(लेखक त्रि.वि. रत्नराज्यलक्ष्मी क्याम्पस, पत्रकारिता विभाग, प्रमुख हुनुहुन्छ)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना