अफगानिस्तानमा नेपाली

tirth aryalतीर्थ अर्याल


अफगानिस्तानको राजधानी काबुलमा असार ६ गते मिनिबसमा भएको आत्मघाती आक्रमणमा परी १३ नेपालीको मृत्यु भएसँगै विश्वका विभिन्न स्थानमा छरिएर रहेका नेपाली कामदारको सुरक्षाप्रति प्रश्न उब्जिएको छ ।  अफगानिस्तानमा घटना भएलगत्तै नेपाल सरकारले सुरक्षा जोखिमप्रति ध्यान दिँदै अफगानिस्तान, इराक, लिबिया र सिरिया जस्ता युद्धग्रस्त देशमा जान प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ ।  यो निर्णयसँगै नेपालीहरू कामको खोजीमा ती र त्यस्ता असुरक्षित देशमा नजान सचेत हुनु जरुरी देखिन्छ ।  
वास्तवमा अफगानिस्तान कामदारका लागि सुरक्षित र सहज देश होइन ।  अफगानिस्तानको कुनै पनि ठाउँमा केही हुँदैन भनेर ढुक्क हुने ठाउँ छैन ।  विशेष गरेर आत्मघाती आक्रमण हुने हुँदा कतिबेला कस्तो घटना हुन्छ भन्न सक्ने अवस्था छैन ।  ज्यानको माया नभएका यस्ता आक्रमणकारीले जसलाई जहाँ पनि ‘टार्गेट’ गर्न सक्छन् ।  अहिले जसरी नेपालीमाथि आक्रमण भएको छ, यसले सुरक्षाप्रति थप चासो देखाउनुपर्ने भएको छ ।  
क्यानेडियन राजदूतावासमा सुरक्षागार्डका रूपमा कार्यरत नेपालीहरू सिफ्ट परिवर्तन गर्ने क्रममा जलालावादको हाइवे हुँदै राजदूतावासतर्फ जाँदै गर्दा आत्मघाती आक्रमण भएको थियो ।  त्यो ठाउँ हेर्दा यसअघि त्यहाँ यसप्रकारको घटना भएको थिएन ।  त्यहाँ नेपालीलाई निशाना गरेको गुप्तचर रिपोर्ट वा अन्य जानकारी पाइएन ।  यस अघि सहरभित्रै नेपालीलाई भनेर टार्गेट गरिएको थिएन ।  त्यहाँको सुरक्षा विषय हेर्ने अधिकारीले त्यो स्थानमा यस किसिमको घटना होला भनेर कुनै सुराकी नपाएको जानकारी पनि गराएका छन् ।  आक्रमणकारीले कसलाई लक्षित गरेर आक्रमण गर्ने भन्ने पनि थाहा नपाई विदेशीलाई आक्रमण गर्ने क्रममा संयोगबस नेपाली परेका हुन् भन्ने पनि कुरा आएको छ ।  घटनामा मारिनुभएका नेपाली स्याबर सेक्युरिटी इन्टरनेशनलमार्फत क्यानेडियन राजदूताबासमा खटिने गर्नुहुन्थ्यो ।  त्यस कम्पनीमा अन्य देशका नागरिक पनि कार्यरत थिए ।
त्यहाँ उक्त कम्पनी मात्र होइन अन्य कम्पनीले पनि त्यसरी नै सुरक्षाकर्मी लैजाने ल्याउने गरेका रहेछन् ।  यसका लागि केही सामान्य सुरक्षा अपनाइएको पनि थियो जुन पर्याप्त थिएन ।
विगतमा विद्रोहीहरूसँग भएको भिडन्तमा नेपालीहरू अघिल्लो लाइनमा बसेर लड्दा उनीहरूको पक्षको क्षति अवस्थालाई नियाल्दा नेपाली सुरक्षाकर्मीलाई टार्गेट गर्ने सम्भावना नभएको होइन ।  घटनापछि ड्राइभरको संलग्नताको कुरा पनि समाचारमा आएको छ तर अनुसन्धानबिना यसै भन्न सक्ने स्थिति छैन ।  यसैगरी अधिकारीहरूले विश्वासिलो रूपमा यो आत्मघाती आक्रमण नै भएको जानकारी दिएका छन् ।  
घटनामा मारिनुभएका नेपाली स्याबर सेक्युरिटी इन्टरनेशनलमार्फत क्यानेडियन राजदूतावासमा खटिने गर्नुहुन्थ्यो ।  यस कम्पनीमा अहिले पनि एक सयजनाभन्दा बढी नेपाली सुरक्षागार्डको रूपमा कार्यरत हुनुहुन्छ ।  यस कम्पनीमा कार्यरत नेपालीले नेपालबाट श्रम स्वीकृति लिएको भए पनि सो कम्पनीले नेपाली राजदूतावाससँग डिमान्ड लेटरको स्वीकृति लिएको पाइएन ।  अर्को कम्पनीबाट केही मानिस लिने वा नेपालबाट सीधै ल्याउने गरेको पाइयो ।  यसरी व्यक्तिगत रूपमा आउने कामदारको सुरक्षा जोखिमपूर्ण हुन्छ ।  छनोट प्रक्रियाबाट आउनेको सुरक्षा जोखिम कम हुने गर्छ ।  
छनोट गरेर आउँदा मेडिकललगायत सबै पक्षको परीक्षण गरेर दक्ष मानिसलाई छानिन्छ ।  उनीहरू आफ्नो सुरक्षाप्रति पनि उत्तिकै चासो राख्ने हुन्छन् ।  वास्तवमा सुरक्षाको काम भनेको अत्यन्त गाह्रो कुरा हो ।  साधारण मान्छेले दुई चार दिन तालिम लिएर त्यसप्रकारको काम गर्न सक्दैन ।  किनभने सुरक्षाको संवेदनशीलता उसलाई थाहा नै हुँदैन ।  बाहिरबाट आउने मान्छे कोही दक्ष पनि गएका होलान् तर सबै पर्याप्त दक्ष छैनन् ।  यसले आफूलाई मात्र जोखिममा मात्र होइन कि अन्यलाई पनि जोखिममा पार्ने डर हुन्छ ।  अहिले त अफगानिस्तानमा आउन प्रतिबन्ध भैसक्यो तर यसरी आउनेले राम्रो कमाइ हुन्छ भनेर चोरबाटो आउनु भनेको ठूलो र अनावश्यक जोखिम मोल्नु हो ।  केही कम्पनीले श्रमका लागि राजदूतावासबाट स्वीकृति लिएका छन् ।  केहीले स्वीकृति नलिई कम्पनी खडा गरेका छन् ।  त्यस्ता कम्पनीको अनुगमन गर्दैछौँ ।  
अफगानिस्तानका कतिपय स्थानमा नेपालीहरू सुरक्षित अवस्थामा उच्च सतर्कता अपनाएर बसेका छन् ।  विदेशी दूताबास लगायत केही मन्त्रालयहरू समेत रहेको उच्च सुरक्षा भएको क्षेत्रलाई ‘ग्रीनजोन’ भनिन्छ ।  यस बाहेकको क्षेत्रलाई ‘रेडजोन’ भनिन्छ जुन सुरक्षाको दृष्टिले जोखिमपूर्ण मानिन्छ ।  वास्तवमा कम्पनी अनुसार सुरक्षाको व्यवस्था हुन्छ ।  त्यसैले सबैलाई एउटै ठाउँमा राखेर हेर्न मिल्दैन ।  कम्पनीले कति सुरक्षा सतर्कता अपनाएको छ, त्यसमा कति लगानी गरेको छ जस्ता विषयमा सुरक्षा भरपर्छ ।  
हामीले जोखिमयुक्त कम्पनीका सञ्चालकलाई भेटर सुरक्षामा सुधार गर्न आग्रह गरेका छौँ ।  यसैगरी जुन कूटनीतिक निकायमा नेपालीहरू कार्यरत हुनुहुन्छ, त्यहाँका अधिकारीलाई पनि भेटेर सुरक्षामा सतर्कता अपनाउन अनुरोध गरेका छौँ ।  उहाँहरूले सुरक्षाका विषयमा सुधार गर्छौं भन्नुभएको छ ।  केही कुराहरूमा सुधार भइसकेको र कतिपय कुराहरू थप सुधार हुने क्रममा छ ।  
अफगानिस्तान जस्तो देशमा सय प्रतिशत सुरक्षाको ग्यारेन्टी हुन्छ भन्न सकिँदैन ।  त्यो कसैले पनि गर्न सक्दैन तर सुधार गर्दै जोखिम न्यून गर्दै जानुपर्छ ।  सुरक्षा गार्ड क्याम्पमै बस्छन् ।  एकथरि जुन स्टेशनमा ड्यूटी हुन्छ त्यहीँ बस्ने गर्छन् अर्को चाहिँ एउटा स्थानमा ड्युटी गरेर अर्को स्टेशन (निवास) मा जाने हुन्छन् यसले बढी जोखिम बढाउँछ ।  बस्ने ठाउँहरू केही हदसम्म सुरक्षित नै देखिएको भए पनि यसमा थप अनुगमन हुन जरुरी देखिन्छ ।  अहिलेसम्म बस्ने ठाँउमै ठूलो क्षति भएको पाइएको छैन ।  अहिलेको घटना एक ठाउँबाट अर्को ठाँउमा जाँदाको हो ।  
सन् २००१ देखि अफगानिस्तानमा नेपालीहरू सुरक्षा गार्डको रूपमा आउन थाल्नु भएको हो ।  कूटनीतिक नियोग, संयुक्त राष्ट्र सङ्घ र त्यसका निकायमा मात्र काम गर्ने स्वीकृति उहाँहरूलाई दिइएको छ ।  मैले विभिन्न क्याम्पमा गई संकलन गरेको तथ्याङ्कको आधारमा भन्दा अहिले अफगानिस्तानमा चार हजार नेपाली सुरक्षागार्डको रूपमा कार्यरत हुनुहुन्छ ।  जसमा भूतपूर्व नेपाली सेनाका धेरै हुनुहुन्छ, यसैगरी पूर्व ब्रिटिस तथा भारतीय सेनाका अवकाश प्राप्त अन्य नेपाली पनि हुनुहुन्छ ।
घटनाको खबर पाएलगत्तै परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम अफगानिस्तान पुगेर मृतकको शव नेपाल पठाउने र घाइतेको उपचारको व्यवस्था मिलाउने कार्यमा खटिए ।  नेपालबाट उच्च तहमा कुरा भएपछि सबै काम चाँडो सम्पन्न गर्न सहज भयो, मृतकको शवलाई इन्फेक्शन हुन नदिन व्यक्तिको नाप अनुसारको कफिनमा राखी ट्रान्सपोर्ट गर्न योग्य बनाउनु पर्ने भएकोले कठिन भए पनि रातभर काम भयो र बिहान शव पठाउन सकियो ।  मृतकको शव नेपाल पु¥याउने, घाइतेको उपचार र सो कम्पनीमा कार्यरत स्वदेश फर्कन चाहने इच्छुक नेपालीलाई फर्काउने काम भयो ।  अन्य कम्पनीमा कार्यरत एक सयभन्दा बढी नेपाली पनि सुरक्षा चिन्तका कारण नेपाल फर्किनु भएको छ ।  विदेश मन्त्रालय, नेपाली समुदाय, स्थानीय सुरक्षा अधिकारी र सम्बन्धित कम्पनीका मानिससँग सुरक्षाको विषयमा कुराकानी भयो ।  मृत्यु भएका र घाइतेलाई बीमाबापत रकम दिने कुरा भएको छ ।  जसअनुरूप प्रत्येक मृतकका परिवारले ३० हजार डलर र किरिया खर्च बापत एकहजार ५०० डलर बीमा स्वरूप पाउने हुनुभएको छ ।  यसबाहेक क्यानेडियन राजदूतावास र स्याबर कम्पनीसँग क्षतिपूर्ति उपलब्ध गराउनका लागि कुरा भएको छ ।  क्षतिपूर्तिका विषयमा हामीले उठाएको मागबमोजिम उहाँहरूले सम्बन्धिन निकायमा सिफारिस गर्ने बताउनु भएको छ ।  

(अफगानिस्तान समेत हेर्ने पाकिस्तानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत तीर्थ अर्याल उक्त घटनापछि अफगानिस्तान पुगेर पाकिस्तान फर्केपछि गोरखापत्रका उप सम्पादक करुण अर्यालसँगको कुराकानीमा आधारित)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना