तीव्र बाथ ज्वरो

narayan b basnetडा. नारायणबहादुर बस्नेत


तीव्र बाथ ज्वरो (एक्यिुट ह्रुयुमेटिक फिवर) पूर्ण रूपले उपचार हुनसक्ने, ग्रुप ए स्ट्रेप्टोकोकस नामक ब्याक्टेरियाको असरद्वारा जोर्नी, मुटु, छाला तथा मष्तिष्कमा असर पार्ने रोग हो ।  यो रोगको बारेमा सर्वप्रथम थमस सिडेनहाम नामक व्यक्तिले सन् १६७६ मा वर्णन गरेका थिए ।  त्यसपछि अनेकौ अनुसन्धानकर्ताले धेरै देशहरूमा यो रोगको बारेमा अध्ययन–अनुसन्धान गरेको पाइन्छ ।  नेपालमा बालबालिका तथा वयस्कमा हुने मुटुको रोगको प्रमुख कारण पनि तीव्र वाथ ज्वरो हो ।  धेरै पहिलेदेखि ‘तीव्र बाथ ज्वरोले जोर्नीलाई असर पार्छ तर मुटुलाई टोक्छ’ भन्ने चिकित्सा विज्ञानको किंवदन्ती छ तर समयमा निदान र उपचार भएमा यस रोगले मुटुको मांसपेशी, मुटुको आवरण र मुटुको रक्तप्रवाह नियन्त्रण गर्ने भल्बहरूको ‘सुजन’ लाई पूर्ण रूपले नियन्त्रण गर्न सकिन्छ, जसबाट अकाल मुत्यु तथा अपाङ्ग हुनबाट बचाउन सकिन्छ ।
रोग लाग्न सक्ने अवस्थाहरू
यो रोग जुनसुकै उमेरमा हुन सक्ने भए पनि सबैभन्दा बढी ६ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई बढी हुन्छ ।  जुनसुकै देशमा पनि यो रोग हुनसक्छ तर सानो निवासमा खचाखच मानिस बस्ने निम्न आय भई स्वास्थोपचार गर्न नसक्ने, आफ्नो व्यथा भन्न नसक्ने उमेरका बच्चा, बारम्बार घाँटी दुख्ने व्यक्तिहरूलाई बढी हुन्छ ।  हाम्रो देशमा भने सानो बच्चामा यो रोगको निदान÷उपचार नभएको कारणले मुटुको रोग भई बयस्कमा जाँच गर्दा यसको निदान भएको पनि पाइन्छ ।  मैले नेपालको बालअस्पतालमा भर्ना भएका १४ वर्षमुनिका बच्चाहरूमा गरेकोे एक अध्ययन गर्दा नेपालमा २ दशमलब १५ बच्चाहरूमा मुटुको रोग भएको पाइयो, जसमध्ये आधाभन्दा बढीलाई तीव्र बाथ ज्वरो र त्यसबाट हुने मुटुको रोग –बाथजन्य मुटुको रोग थियो ।
कसरी चिन्ने ?
सामान्य रुघाखोकी वा घाँटी दुख्नबाट सुरु भएको करिब १० देखि २० दिनमा यी सबै वा केही लक्षणहरू देखापर्छन् –
(क)    जोर्नीको सुजन ः साधारणतया ठूला जोर्नीहरू जस्तै घुँडा, खुट्टाको जोर्नी, कुइनाको जोर्नी, नाडीको जोर्नी सुनिने, फुल्ने र दुख्नेबाट सुरु भएर दुखेको जोर्नी ५–७ दिनमा कम हुँदै जान्छ ।  पालैपालो सर्दै जोर्नीको सुजन हुन्छ ।
(ख)    मुटुको सुजन ः मुटुको गति तीव्र हुनु (ढुकढुकी बढ्नु), मुटु सुनिनु, मुटुको आवरणमा पानी जम्नु र विस्तारै मुटु काम गर्न असफल हुनु ।
(ग)    पाखुरा, खुट्टा तथा शरीरका भागहरू नियन्त्रण हुन नसक्ने गरी काम्नु ।
(घ)    करिब ० दशमलब ५ देखि २ सेन्टिमिटरसम्मका साना नदुख्ने दानाहरू कुइना, घुँडाको अगाडिको भागमा देखिनु ।
(ङ)    छालामा नचिलाउने, रातो करिब २ दशमलब ५ सेन्टिमिटर गोलाइ भएका दाग (ढाडमा, पाखुरामा) देखिनु ।
अन्य लक्षणहरू
(क)    ज्वरो आउनु र धेरै पसिना निस्कनु ।
(ख)    सामान्य जोर्नीहरू दुख्नु ।
(ग)    बारम्बार घाँटी दुख्ने विरामी हुनु ।
(घ)    रगतको जाँच गर्दा इ.एस.आर., सी.आर.पी. मा खराबी देखिनु ।
उपचार र रोकथाम
(१)    घाँटीमा रहने ब्याक्टेरियालाई मार्न प्रतिजीवी औषधि (एण्टीवायोटिक) चिकित्सकको सल्लाह अनुसार सेवन गर्ने ।  मुटुमा असर रहेका व्यक्तिहरूलाई जीवनभर सेवन गर्नुपर्ने अवस्था पनि हुन सक्छ ।  यो सबैभन्दा महŒवपूर्ण उपचार हो ।
(२)    जोर्नीको सुजन तथा मुटुको सुजन कम गर्न एस्पीरिन वा स्टेरोइड जस्ता औषधि प्रयोग गरिन्छ ।
(३)    मुटुलाई आराम गराउनलाई शरीरलाई आराम गराउनु पर्छ ।  खानामा खास बार्नु पर्दैन ।
(४)    बाथजन्य मुटुको रोग भइसकेका व्यक्तिहरूलाई मुटुको शल्यक्रिया तथा जीवनभर चिकित्सकसँग फलो–अप
(सोधविचार) गरिरहनु पर्छ ।
रोकथाम ः
(क)  रोग लागिसकेको व्यक्तिलाई बयस्क हुन्जेलसम्म वा जीवनभर प्रतिजीवी औषधि दिनुपर्छ ।
(ख)  सानो स्थानमा वा घरमा वा कोठामा धेरै भिड गरेर बस्नाले श्वासप्रश्वास तथा घाँटीको रोग बढ्छ ।  यो अवस्थाबाट बच्न साँघुरो स्थानमा धेरैजना सुत्ने÷बस्ने गर्नुहुँदैन ।  बच्चाहरू, शिक्षक, विद्यार्थी, डाक्टर, नर्स, स्वास्थकर्मी, सैनिकहरू (सानो स्थानमा धेरै बेर रहनुपर्नेहरू) ले यस्ता रोगबाट बच्न सजग रहनुपर्छ ।
(ग)    नेपालको हिमाली तथा पहाडी जाडो ठाउँहरूमा कतिपय मानिसहरू कम झ्याल ढोका भएको घरमा बस्ने गर्छन् ।  एउटा कोठामा सबै परिवारका सदस्य बस्नुको साथै धुँवा रुमलिने स्थानमा यो रोग सजिलैसँग पैmलन सक्छ ।  त्यसबाट बच्न घर÷आवासको वैज्ञानिक बनावट हुन अत्यन्त आवश्यक हुन्छ ।  आवास र आर्थिक उन्नति यो रोगको रोकथाम गर्ने एक प्रमुख उपाय हो ।
(घ)    विद्यालय जाने उमेरका बालबालिकाहरूलाई यो रोग बढी हुने भएकाले बालक, शिक्षक, आमाबुवालाई जानकारी दिनुका साथै विद्यालय स्वास्थ्य कार्यक्रम चलाएमा रोग घट्ने मात्र नभएर अपाङ्ग हुनु नपर्ने तथा जीवनभर मुटुको रोग बोकेर हिँड्न नपर्ने निश्चित छ ।
   तीव्र बाथ ज्वरोको समयमा निदान÷उपचार गरी व्यक्ति÷परिवार÷समाजलाई कडा मुटुको रोगबाट बचावट गर्न सकिन्छ ।  
लेखक ः बाल तथा बाल मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना