राष्ट्रिय ध्वजावाहकको उडान

Puru risal पुरु रिसाल

 

साध्यमा पुग्न गतिलो र पर्याप्त साधन आवश्यक पर्छ ।  गन्तव्य के हो त्यसका लागि के साधन चाहिन्छ भन्ने कुरा समयमा निर्धारण गर्न नसक्दा र त्यस्तो वातावरण नबन्दा साध्य राम्रो राखेको संस्था पनि गतिशील बन्न चुनौतीको सामना गर्नुपर्ने रहेछ ।  यसको दरिलो उदाहरण नेपाल वायुसेवा निगम बनेको थियो ।  कुनै बेला पूर्वमा जापानदेखि पश्चिममा जर्मनी र बेलायतसम्म पुगेको राष्ट्रिय ध्वजावाहक कम्पनी एसियामै सीमित रह्यो ।  अरब राष्ट्र दोहा र एसियाली गन्तव्य हङकङभन्दा टाढा जान सकेन ।  सबभन्दा नजिकको र सबभन्दा पहिले उडान प्रारम्भ गरिएको मुलुक भारतका कुनै गन्तव्यमा पनि उडान हुन सकेन ।  भारतको दिल्ली, बैङ्गलोर र मुम्बईका बजार निगमको हातबाट अर्काले लियो ।  धार्मिक पर्यटकको ठूलो सङ्ख्या भएको भारतलाई आकर्षित गर्नु गाह्रो काम थिएन ।  मुक्तिनाथ, पशुपतिनाथका लागि भारतीय पर्यटक सजिलै आउन सक्थे, आएका छन् ।  बैङ्गलोरबाट हिन्दु पर्यटक बढ्दै गएका थिए, विमान सङ्ख्या घट्दै गएर बारम्बार उडान स्थगित हुन थालेपछि नियमितताको अभावमा पर्यटक घट्दै गए ।  एक प्रकारले छिमेकी मुलुकमै उडान गर्न नसक्नु लाजमर्दो विषय थियो तर एयरबसलाई सेवामा प्रवेश गराएपछि दिल्लीलगायत बैङ्गलोर र मुम्बईको उडान थालिएको छ भने यात्रु सङ्ख्या बढ्दै गएको सन्दर्भमा बजार अंशसमेत बढेको छ ।
पर्यटक खोज्न टाढा जानुपर्दैन ।  विशाल जनसङ्ख्या भएका दुई मुलुक चीन र भारत आफ्नै छिमेकी छन्, जहाँबाट सानो अंशमा पर्यटक तान्न सके पनि हाम्रा लागि ठूलो उपलब्धि हुनसक्छ ।  चीनबाट पर्यटक सङ्ख्या बढ्न थालेका छन् तर ती पर्यटकलाई चिनियाँ विमान कम्पनीहरूले नै सेवा दिइरहेका छन् ।  निकट भविष्यमा नेपाल वायुसेवा निगमले ग्वानजाऊसम्मको उडान थाल्ने भएको छ, त्यो ठाउँ बढी पर्यटक पाउनुका अतिरिक्त व्यावसायिक व्यक्तिहरू पनि पाइने ठाउँ हो ।  त्यसैले जतिसक्यो चाँडो ग्वानजाऊ उडान थालिहाल्नु पर्छ ।  गन्तव्य बढाउँदा वित्तीय विश्लेषण गरी लाभदायक नठानिने ठाउँलाई पन्छाउँदै जानुपर्छ ।  निगमसँग भएका बोइङ ७५७ लाई अब निरन्तरता दिइरहनु घाटाप्रद हुनसक्छ ।  बढी तेल खपत हुने, मर्मत सम्भारमा बढी खर्च लाग्ने भएकोले त्यसको सट्टा आधुनिक प्रविधिका विमान थप्दै जानु उपयोगी हुनेछ ।
यतिखेर निगमलाई सरकारले सम्भवत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।  निगम सरकारकै सन्तान हो, संरक्षण उसको दायित्व हो ।  त्यसैले बजेट बक्तव्यमार्फत सरकारले दुई वटा वाइडबडी विमान किन्न प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  सरकार सकेसम्म ध्वजाबाहकले टाढासम्म पखेटा फिजाओस् र धेरैभन्दा धेरै यात्रु ओसारेर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याओस् भन्ने चाहन्छ ।  वाइडबडी नभएसम्म लामो गन्तव्य अर्थात पाँच घण्टाभन्दा बढीको उडान गर्न प्राविधिक रूपले लाभदायी हुन सक्दैन ।  पर्यटकहरू बीचबीचमा विमान बदल्दै आउन सहज मान्दैनन्, यदि सीधा उडान पाए त्यसैलाई प्राथमिकतामा राख्छन् ।  वाइडबडीको फाइदा भनेको टाढाका यात्रु आकर्षण गर्न सक्नु हो ।  जापानीहरू खर्च गर्न सक्ने र लुम्बिनी घुम्न चाहना राख्ने खालका छन् ।  ओसाका उडान हुन नसक्नु र अर्को कुनै विमान कम्पनीले जापान–नेपाल सीधा उडान गर्न नसक्दा नेपालले नोक्सान बेहोर्नु परेको छ ।  यस अर्थमा पनि नेपाल वायुसेवा निगमले सक्दो छिटो वाइडबडी ल्याएर जापान (ओसाका, टोकियो) उडान पुनः स्थापित गर्नुपर्छ ।
निगमले केही दिन अघि तीन वर्षे व्यावसायिक योजनालाई सार्वजनीकरण गरेको थियो ।  त्यसमा विमान सङ्ख्या थप्ने, बजार विस्तार गर्ने, बजार अंश बढाउने, प्रशासनिक सुधार प्रक्रिया अगाडि बढाउने जस्ता व्यावहारिक योजना निर्धारण गरेको छ ।  विमानसङ्ख्या अर्थात साधन थपियो भने बढी पर्यटक बोक्ने, बजार अंश बढाउने, गन्तव्य थप्ने जस्ता साध्य प्राप्त गर्न सकिन्छ ।  हालै प्रकाशमा आएको समाचार अनुसार निगमको बजार अंशको ग्राफ विस्तारै उकालो लागेको छ ।  दुईवटा न्यारोबडी विमान थप्दा र प्राविधिक जनशक्ति–(पाइलट र इन्जिनियर) पर्याप्त नहँुदा विमानलाई अधिकतम उपयोग गर्न नसक्दासमेत बजार अंश बढेको छ भने पर्याप्त विमान, त्यसलाई उडाउन आवश्यक जनशक्तिको व्यवस्था गर्न सकेमा अपेक्षानुसार बजार अंश बढाउँदै जान सकिन्छ ।  नेपालको उडान लाभदायक छ, त्यसैले निगम बाहेकका २८ विमान कम्पनीले नियमित सेवा सञ्चालन गरिरहेका छन् त्यो लाभ नेपालले लिन पनि थप सङ्ख्याको विमान, गन्तव्य विस्तार र आधुनिक युग सुहाउँदो व्यवस्थापन अगाडि बढाउनुपर्छ ।  यसतर्फ निगमले कत्तिको सफलता पाउँछ त्यो भविष्यमा निर्भर छ ।
सरकारले पर्यटन व्यवसायलाई स्तरीयता प्रदान गर्ने सोच राखेको छ ।  पर्यटक सङ्ख्या मात्र बढेर राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दैन, त्यसका लािग खर्च गर्न सक्ने पर्यटक भिœयाउनुपर्छ भन्ने उद्देश्यले नेपालको बसाइका बेला न्यूनतम यति रकम खर्च गर्नैपर्छ भन्ने कुरा पर्यटकमा लागू गर्ने सोचाइलाई कार्यरूप दिन प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।  भूटानमा आउने पर्यटकले दैनिक न्यूनतम दुई सय डलर खर्च गर्नैपर्ने प्रावधान छ, त्यसो हुँदा सस्तो विकृति भिœयाउने पर्यटक भित्रिने मौका नै पाउँदैनन् ।  त्यसरी स्तरीय पर्यटक आउँदा सस्तो भाडा खोज्दै खानसमेत नपाइने विमान कम्पनी छान्दैनन् ।  अहिले नेपाल उडान गर्ने कतिपय विमान कम्पनी “बजेट एयरलाइन्स” छन् ।  जहाँ पानीबाहेक केही खान पाइँदैन, लगेजको शुल्क तिर्नुपर्छ त्यसैले त्यस्ता कम्पनीलेभन्दा राम्रो उडान सेवा दिने विमान कम्पनीले बढी पर्यटक पाउने पक्का छ ।  यस सन्दर्भमा राष्ट्रिय ध्वजाबाहकले राम्रा पर्यटक पाउने छ तर कसरी सञ्चालन गर्ने भन्ने कुरा नेपाल वायुसेवामा निर्भर रहने कुरा हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना