यन्त्र बिग्रँदा बाढीको पूर्व सूचना दिन समस्या


badi mapan yentraनेपालगञ्ज समाचारदाता, नेपालगञ्ज, असार १७ गते । राप्ती नदीस्थित कुसुममा राखिएको पानीको सतह मापन गर्ने यन्त्र ‘टेलिमेट्री’ बिग्रिंदा पानीको सतह मापनमा समस्या आएको छ ।
सो यन्त्र बिग्रिएकाले बाढी आएका बेला सतह मापन गर्न नसकिने भएको छ । सो मेसिन बिग्रिएपछि बाढीको जोखिमको पूर्वसूचना दिन नसकिने भएको छ ।
टेलिमेट्री बिग्रिएपछि डिस्प्लेमा हेर्न समस्या भएको गेजरिडर भद्रबहादुर थापाले जानकारी दिनुुभयो ।
‘उपकरण बिग्रिएपछि नदीको सतह हेर्न समस्या भएको छ, त्यसले गर्दा जोखिमको अवस्था पनि थाहा हुन्न,’ थापाले भन्नुभयोे । यसअघिका वर्षामा जिल्ला प्रशासन कार्यालयमा राखिएको टेलिमेट्री डिस्प्लेको सहायतामा राप्ती नदीआसपासका बासिन्दालाई बाढीको पूर्वसूचना दिने गरिन्थ्यो ।
नदीमा राखेको टेलिमेट्री पटक–पटक मर्मत सम्भार भए पनि केही दिन मात्र सञ्चालनमा आउने गरेको थापाले बताउनुभयो । राप्तीको सतह पाँच मिटर नाघेपछि बाढीको जोखिम जनाउँदै सूचना दिने गरिन्छ ।
राप्ती नदीमा पानीको सतह बढ्दै गएकोले अब मर्मत पनि गर्न नसकिने गेजरिडर थापाले जनाउनु भयो । नदीमुनिको जमिनभन्दा ६ इन्चमाथिबाट पाइप राख्नुपर्ने भएकाले सतह बढेको खण्डमा मर्मत गर्न नसकिने थापाको भनाइ छ । ‘राप्ती नदीमा पानीको सतह बढ्यो भने जानै सकिदैन, अनि मर्मत गर्न कसरी सम्भव हुन्छ,’ थापाले भन्नुुभयो ।
वर्षासँगै राप्ती नदीमा पानीको सतह पनि दिनदिनै बढ्दै गएको छ । राप्तीमा पाँच दशमलव ४० मिटर पानीको सतह पुगेमा आसपासका नौ वटा गाउँ डुबानमा पर्छन् ।
राप्ती नदीमा राखिएको टेलिमेट्री अत्याधुनिक छ । सो मेसिनको सहायताले राप्तीको सतह नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयमा राखिएको डिस्प्लेमा समेत हेर्न सकिन्छ । ‘उताको उपकरण बिग्रिएपछि प्रशासनमा समेत हेर्न समस्या भएको छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भन्नुभयो । उहाँले मर्मतको ब्यबस्था गर्न लागिएको बताउनुभयो ।
सो मेसिन पटक–पटक मर्मत गरिए पनि केही समयपछि नै बिग्रिने गरेको उहाँले बताउनुभयो । ‘भर्खरै मात्र मर्मत गरिएको हो, चार–पाँच दिन चल्यो, फेरि बिग्रिएको छ,’ प्रजिअ पन्थले भन्नुभयो, ‘बिग्रिनुको कारण पत्ता लाग्न सकेको छैन ।’ मर्मतका लागि कर्णाली बेसन कार्यालयलाई आग्रह गरिएको र बनाउने आश्वासन दिएको पनि उहाँले जनाउनु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना